फोहोर संकलनमा महानगरकै लापरबाही, निजी टिपर व्यवसायीको सहयोगमा शुक्रबार २८७ गाडी फोहोर ढुवानी, तर महानगरका कर्मचारी बिदामा
हाल काठमाडौंका सडककिनारमा करिब आठ हजार मेट्रिकटन फोहोर छ । जतिसक्दो छिटो फोहोर व्यवस्थापन गर्नुपर्नेमा महानगरले शुक्रबार कर्मचारीलाई बिदा दिएर थप ढिलाइ गरेको छ । शुक्रबार महानगरले कर्मचारीलाई बिदा दिएपछि निजी टिपर व्यवसायीले फोहोर ढुवानी गर्न सहयोग गरेका छन् ।
फोहोर व्यवस्थापनका लागि महानगरमा कर्मचारी संख्या झन्डै नौ सय छ । त्यसमध्ये मुख्य सडकको फोहोर टिप्ने र कुचो लगाउने कर्मचारीको संख्या पाँच सय छ । सफाइमा काम गर्ने सबैजसो कर्मचारीले काम नगर्दा सहरका मुख्य सडक दुर्गन्धित हुने गरेका छन् ।
सडक सफा गर्ने ‘जम्बो टिम’ भए पनि सडकमा भने फोहोरैफोहोर छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार फोहोर व्यवस्थापनका लागि आठ सय ७८ कर्मचारी छन् । यी कर्मचारीको काम सडकमा फालिएका, हावाहुरी तथा बाढीले बगाएर ल्याएका फोहोर टिप्ने, सडक किनारमा थुप्रिएको फोहोर उठाउने, सडक बढार्ने, सडकमा पानी छ्याप्ने, सडकआसपास र बगैँचामा गोडमेल गर्ने, फूल र बिरुवामा पानी राख्नेलगायत हो ।
नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगर
महानगरका १३ वटा कन्टेनरले अन्य समयमा दैनिक दुई सयदेखि दुई सय ५० ट्रिप फोहोर ढुवानी गर्न सक्छन् । केही कर्मचारी बिदामा बस्नुभयो, अर्को कुरा बिहानभरि फोहोरका गाडी बन्चरेडाँडामा पुगेनन् । निजी टिपर व्यवसायीले साथ दिएकाले शुक्रबार फोहोर ढुवानी भयो ।
यीमध्ये केही कर्मचारी मात्रै परिचालित भएको प्रवक्ता मानन्धरको भनाइ छ । ‘हामीकहाँ फोहोर व्यवस्थापनका लागि पुग्दो कर्मचारी छन्, तर केही कर्मचारी बिदामा बस्ने र केहीले मात्रै काम गर्दा फोहोर तथा सफाइमा समस्या हुने गरेको छ,’ महानगरका प्रवक्ता मानन्धरले भने, ‘हरेक कर्मचारीलाई क्षेत्र तोकेर नै सडक सफाइ गर्ने जिम्मेवारी दिइन्छ ।’
महानगरका अनुसार कुचो लगाउने र फोहोर उठाउने कर्मचारी संख्या पाँच सय छ । फूल हेरचाह गर्ने र पानी हाल्ने कर्मचारी २०–२५ जनाभन्दा धेरै, फोहोरजन्य सवारीसाधन चलाउने चालक, अन्य हेल्पर, फोहोर संकलन–विसर्जन गर्ने, धुलो उठाउनेलगायत जिम्मा पाएका कर्मचारीको संख्या झन्डै साढे दुई सय छ ।
सहर सरसफाइमा काम गर्ने कर्मचारीले सर्वसाधारणले चाल नपाउने गरी बिहानै सडक र सहर सफा पार्नुपर्ने हो । बिहान ५ बजे वा सोभन्दा अघिदेखि नै उनीहरूको काम सुरु हुन्छ । तर, काठमाडौं महानगरपालिकामा फोहोर व्यवस्थापन तथा सफाइमा काम गर्ने कर्मचारी बिहान छिप्पिएपछि मात्रै सडकमा आइपुग्छन् ।
सर्वसाधारण ननिस्किँदै सडक सफाइ र फोहोर उठाउन सहज हुने भए पनि कर्मचारीकै लापरबाहीले उक्त नियम लागू हुन सकेको छैन । अर्कोतिर, सरसफाइ र ओहोरदोहोर एकैपटक हुँदा सवारीसाधनका कारण सरसफाइमा अवरोध हुने गरेको छ । प्रवक्ता मानन्धरले सफाइमा काम गर्ने कर्मचारीले बिहानी समयमा मात्रै काम गर्ने भएकाले आ–आफ्नो क्षेत्रमा तोकिएको समयमा सरसफाइ गर्नुपर्ने बताए ।
ढुवानीमा निजी टिपर व्यवसायीको साथ
महानगरपालिकाभित्र थुप्रिएको फोहोर ढुवानीमा निजी टिपर व्यवसायीले साथ दिएका छन् । फोहोर थुप्रिएर सडक दुर्गन्धित बनेको वेला निजी क्षेत्रका करिब ५० वटा टिपरले शुक्रबार महानगरको फोहोर ढुवानीमा साथ दिएका हुन् ।
उनीहरूकै सहायतामा शुक्रबार दुई सय ८७ गाडी फोहोर बन्चरेडाँडामा पुर्याइएको छ । यसमध्ये महानगरका १३ वटा कन्टेनरले जम्मा २४ ट्रिप मात्रै फोहोर ढुवानी गरे । अन्य दुई सय ६३ ट्रिप फोहोर निजी गाडीको सहायतामा ढुवानी भएको हो ।
पछिल्लो समय उपत्यकाको फोहोर ढुवानीमा अवरोध पुर्याउँदै आएका बन्चरेडाँडावासीले दुई दिनयता ढुंगामुढा र गुलेली प्रहार गर्न छाडेका छन् । सामान्य अवरोध गरे पनि शुक्रबार महानगर तथा निजी टिपर व्यवसायीले प्रहरी सुरक्षाकै बीच फोहोर ढुवानी गरेका थिए ।
प्रहरीले सुरक्षा दिइरहेको भए तापनि महानगरले कर्मचारी बिदामा बसेका कारण शुक्रबार निकै कम फोहोर ढुवानी गरेको छ । स्थानीयले अवरोध नगरेको वेला महानगरले सक्दो फोहोर ढुवानी गर्नुपर्ने भए पनि कर्मचारी बिदामा बसेको कारण केही ट्रिप मात्रै फोहोर ढुवानी गर्न सकिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
महानगरका १३ वटा कन्टेनरले अन्य समयमा दैनिक दुई सयदेखि दुई सय ५० ट्रिप फोहोर ढुवानी गर्न सक्छन् । शुक्रबार केही उठाउने कर्मचारी तथा ढुवानीचालक बिदामा समेत बसेका थिए । ‘केही कर्मचारी बिदामा बस्नुभयो, अर्को कुरा बिहानभरि फोहोरका गाडी बन्चरेडाँडामा पुगेनन्,’ उनले भने, ‘निजी टिपर व्यवसायीले साथ दिएकाले शुक्रबार फोहोर ढुवानी भयो ।’
उनका अनुसार निजी टिपर व्यवसायीले सडककिनार र मुख्य–मुख्य चोकमा थुप्रिएको फोहोर बोकेका छन् । शनिबार पनि उनीहरूले फोहोर विसर्जनमा थप सहयोग गर्ने बताएका छन् । निजी र महानगरका गाडीले फोहोर बोक्दा कम्तीमा चार दिनमा उपत्यकामा होल्ड भएको सबै फोहोर उठिसक्ने प्रवक्ता मानन्धरले जानकारी दिए ।