१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०६:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरी प्रधान कार्यालयबाट ‘अनावश्यक’ जनशक्ति हटाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३ शुक्रबार ०६:१०:००

सुरुमा डेढ सय कर्मचारीलाई फिल्डमा खटाइयो 

प्रहरी प्रधान कार्यालयबाट ‘अनावश्यक’ जनशक्ति हटाउन थालिएको छ । हालै एक सय ४६ जनलाई फिल्डका कार्यालयमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयलाई ‘स्मार्ट’ बनाउने योजनाअनुसार केही कर्मचारीलाई फिल्डमा खटाउन थालिएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । ‘प्रधान कार्यालयमा काजमा कार्यरतलाई उनीहरूकै दरबन्दीमा खटाइएको छ,’ उनले भने, ‘यहाँ काम नभएका अन्य प्रहरीलाई पनि फिल्डमा पठाइएको छ । प्रधान कार्यालयमा जनशक्ति कम गरी स्मार्ट शैलीमा चलाउन थप गृहकार्य भइरहेको छ ।’ 

कामको अत्यधिक चाप भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा उपत्यकाका विभिन्न जिल्लामा प्रधान कार्यालयका जनशक्ति खटाइएको हो । पहिलो चरणमा कार्यालय सहयोगीदेखि वरिष्ठ प्रहरी नायब निरीक्षकसम्मलाई खटाइएको छ । 

प्रहरी मुख्यालयमा जनशक्ति व्यवस्थापनबारे हालै एक अध्ययन भएको थियो । जसमा दुई सयभन्दा धेरै जनशक्ति अनावश्यक रहेको प्रतिवेदन बनेको छ । सोही प्रतिवेदनका आधारमा जनशक्ति कटौती सुरु भएको हो । प्रधान कार्यालयमा धेरै प्रहरी काज मिलाएरसमेत बसेका छन् । प्रधान कार्यालयमा काम सजिलो हुने भएकाले पनि धेरैले रोज्ने गरेका छन् । ‘कतिपयले पारिवारिक समस्या देखाएर त कतिले पढाइको कारण देखाएर सोर्सफोर्सका आधारमा सजिलो ड्युटी हुने कार्यालय रोज्ने गरेका छन्,’ प्रधान कार्यालयका एक अधिकारीले भने, ‘यसले आवश्यक ठाउँमा प्रहरी नहुने, तर काम कम हुने कार्यालयमा धेरै हुने भएकाले यसमा सुधार थालिएको हो ।’ 

प्रधान कार्यालयको दरबन्दी कटौतीका लागि १० वर्षदेखि प्रयास हुँदै आएको छ । उपेन्द्रकान्त अर्याल आइजिपी हुँदा उनले तत्कालीन डिआइजी प्रकाश अर्यालको संयोजकत्वमा एक कार्यदल बनाएर यसबारे अध्ययन गराएका थिए । जसले एक सय ९२ दरबन्दी कटौती गरेर तराईका जिल्लामा मिलान गर्न सिफारिस भएको थियो । प्रकाश अर्याल पछि आफैँ आइजिपी भए, तर त्यो प्रतिवेदन कार्यान्वयन हुन सकेन । अहिले बल्ल प्रधान कार्यालयको जनशक्ति फिल्डमा खटाउन थालिएको छ ।