१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २ बिहीबार १९:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहोर व्यवस्थापनमा अवरोध नगरिदिन सिसडोल र बन्चरेडाँडावासीलाई गगन थापाको अपिल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २ बिहीबार १९:४६:००

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले फोहोर व्यवस्थापनमा अवरोध नगर्न सिसडोल तथा बन्चरेडाँडाका स्थानीयलाई अपिल गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै सांसद थापाले फोहोर व्यवस्थापनमा अझ केही दिन ढिला भएमा काठमाडौंमा महामारी फैलन सक्ने भन्दै यस्तो अपिल गरेका हुन् । 

‘काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ, यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना छ,’ थापाले भनेका छन्, ‘अतः सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अवरोध गरिरहनुभएकाहरूलाई काठमाडौंकाे सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु– कृपया अवरोध नगरिदिनुहोस्, आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ।’

फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगर प्रमुख बालेन्द्र साह लागिपरिरहेको बताउँदै उनलाई सबैले साथ दिनुपर्ने उनको भनाइ छ । ‘निश्चय नै यस्तो सुन्दा प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ– हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ? केही सम्झौता कामनपाले गरेको छ, महानगर प्रमुख लागिरहनुभएको छ, सिंगाे टिम लागेको छ,’ थापाले भनेका छन्, ‘सबैले साथ दिऊँ, केही समय लाग्ला तर योपटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नुभएको छ, त्यसैले यसपटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ विश्वास गरौँ ।’

 महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरका विषयमा संघीय सरकारको सहरी विकास मन्त्रालयले सम्झौता गरिसकेको उल्लेख गर्दै संघीय सरकारले ल्यान्डफिल्ड साइटका बासिन्दालाई यसपटक निराश नबनाउने उनको भनाइ छ । 

सांसद थापाले फोहोर व्यवस्थापनमा अवरोध नगर्न आफ्नो पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका छन् । ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु, पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्,’ उनले भनेका छन्, ‘अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ– अवरोध होइन यो विषयमा हल खोज्न मदत गर्नुहोस् ।’ 

सम्झौता कार्यान्वयनमा भएका समस्याबारे समीक्षा गरी सबै मिलेर समस्याको समाधान निकाल्नुपर्ने उनको धारणा छ । 

काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ।अझ केही दिन यस्तैरहे महामारी फैलन सक्ने सम्भावना छ।अतःसिसडोल र बन्चरेडांडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपील गर्न चाहन्छु कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सँगै बसौँ,समाधान निकालौँ। pic.twitter.com/LWiccmYArr

— Gagan Thapa (@thapagk) August 17, 2022