भान्सामा सेलेब्रिटी
अस्पतालको ड्युटी र अध्ययनको काम छिटो सकिएको दिन भान्सामा काम गर्न रमाइलो लाग्छ । अर्को रुचि घुमघाम हो ।
मलाई हरेकजसो परिकार पकाउन आउँछ । फुर्सदको समय भान्सामा आमा र श्रीमतीलाई सहयोग गर्छु । अस्पतालको ड्युटी र अध्ययनको काम छिटो सकिएको दिन भान्सामा काम गर्न रमाइलो लाग्छ ।
मलाई सबैभन्दा मन पर्ने काम भनेको भाँडा माझ्ने हो । मलाई सफासुग्घर मन पर्छ । भाँडा माझेर किचन सफा गर्दा छुट्टै आनन्द आउँछ । प्रायजसो अस्पतालका वार्डहरूमा बिरामीसँग र अध्ययनका क्रममा पुस्तक र कम्प्युटरसँग समय बित्ने भएकाले मानसिक रूपमा थकान महसुस हुन्छ । घरको काम गर्दा त्यस्ता थकान बिर्सिएको महसुस गर्छु । महामारीको समयमा कामबाट फुर्सद नपाइने भएकाले मैले परिवारलाई समय दिन सकेको थिइनँ । अहिले बिस्तारै जनजीवन पुरानै लयमा फर्किंदै गएपछि फुर्सदको समय भान्सामा इन्जोय गर्न पाएको छु ।
मेरो भान्सामा प्रायः दाल, भात र तरकारी नै पाक्छ । कहिलेकाहीँ रोटी पनि बनाउने गर्छु । तरकारीमा विशेष गरी काउली मन पर्छ । त्यसपछि रामतोरिया, भ्यान्टा, आलुलगायत पर्छन् । म अध्ययनका सिलसिलामा लामो समय जापान बसेँ । त्यहाँ कोठा सफा गर्ने, पकाउने, भाँडा माझ्नेलगायत काम आफैँ गर्थें र अहिले पनि त्यो बानी छुटेको छैन ।
सन् २००९ मा जापानबाट फर्किएयता मासु खाएको छैन । पहिल्यैदेखि मनमा काटमार गर्न हुँदैन भन्ने भावना थियो, त्यसैले मासु खान मन लागेन र छाडेँ । आक्कलझुक्कल माछा खान्छु, तर घरमा पकाउने गर्दिनँ । मलाई किनमेलमा रुचि छ । सिजनअनुसार हरियो सागपात र फलफूल किन्छु ।
मैले अरूलाई चिल्लो, पिरो, नुन बढी भएको खानेकुरा नखान सुझाव दिने गर्छु । किनकि, यो स्वास्थ्यका लागि राम्रो होइन । आफैँ पनि चिल्लो र नुन बढी हाल्दिनँ । तर, पिरोचाहिँ खान्छु । स्वास्थ्य अवस्था हेरेर सायद भविष्यमा यो बानी कम गर्दै लैजानुपर्ला । तर, अहिलेसम्म पिरो इन्जोय गरेको छु ।
कहिलेकाहीँ नयाँ विषयमा अध्ययन गर्दा रातिको दुई–तीन बजेसम्म काम गर्नुपर्ने हुन्छ । यति हुदाँहुँदै पनि भान्साका लागि समय निकालिरहेको हुन्छु । जे होस्, परिवारसँग समय बिताउन र भान्सामा रहेर खाना बनाउन मन लाग्छ । मेरो अर्को सौख गार्डेनिङ हो । मलाई रूखबिरुवा र फूलहरू मन पर्छ ।
अर्को मज्जा घुमफिरमा
प्रकृतिप्रेमी भएकाले बिदामा घुम्न मन पराउँछु । घुम्दा एक किसिमको ताजापन महसुस हुन्छ । हाइकिङ वा ट्रेकिङ जान मन लाग्छ, वनजंगल र डाँडापाखामा घुम्नुको मज्जा बेग्लै छ । नयाँ ठाउँ घुमेर फर्किएपछि फेरि काम र अध्ययन–अनुसन्धानमा लाग्न नयाँ ऊर्जा मिल्छ । महामारी सुरु हुने समयमा म अन्नपूर्ण सर्किटमा ट्रेकिङ गएको थिएँ । त्यहाँ मैले झन्डै डेढ हप्ताजति बिताएँ । त्यो अनुभव अविस्मरणीय रह्यो, हिउँसँग खेल्नुको मज्जा बेग्लै हुन्छ । नयाँ ठाउँ घुम्न र नयाँ मान्छेसँग कुराकानी गर्न मलाई एकदमै रमाइलो लाग्छ । घुम्ने क्रममा त्यहाँको सामाजिक, सांस्कृतिक र स्वास्थ्य अवस्थाबारे पनि थोरबहुत जानकारी लिने गर्छु ।
मलाई हाम्रै देश सुन्दर लाग्छ । नेपालमा घुम्नुपर्ने ठाउँ धेरै छन् । एकदिने बिदाका लागि काठमाडौंवरपरका स्थानहरू उपयुक्त लाग्छन् । भिडभाडबाट अलिकति पनि पर जान पाए आनन्द महसुस हुन्छ । त्यहाँ चल्ने स्वच्छ हावाले मनमा एक किसिमको शान्ति पैदा गर्छ । खोला सुसाइरहेको, चराचुरुंगी कराइरहेको नजिकबाट सुन्न पाइन्छ । खेतबारी र डाँडापाखा भएका स्थानमा समय बिताउनुको मज्जै बेग्लै छ । काठमाडौंजस्तो सहर, त्यसमाथि अधिकांश समय व्यस्त रहनुपर्ने पेसाकर्मी भएकाले मुड फ्रेस गर्न पनि वेलावेलामा घुम्न जानुको विकल्प छैन ।