मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष १० बुधबार १५:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जाडोमा भक्का बेचेर खर्च जुटाउँदै महिला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १५:o५:oo

जाडो याम सुरु भएसँगै सुनसरीका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरूको भनाइ छ । धरान उपमहानगर– १० का दिया राजधामी हरेक दिन बिहान र बेलुका भक्का बिक्रीका लागि घरनजिकैको गल्लीमा पुग्छिन् । उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट घरखर्च जुटाउने गरेको उनले सुनाइन् ।

उनले भक्का प्रतिगोटा रु. २० दरले बिक्री गर्छिन् । उनले भनिन्, ‘भक्का बिक्रीबाट दैनिक रु. तीन हजार पाँच सयसम्म आम्दानी हुन्छ, मिहिनेतअनुसारको कमाइ छ, घरखर्चमा सहयोग पुगेको छ ।’ उनले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आएकी छिन् । उनका अनुसार स्थानीयहरू मर्निङ वाकदेखि नै भक्का खान झुम्मिन्छन् ।

धरान उपमहानगर– १७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरैजसो भक्का खाने गरेको सुनाए । ‘भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, बिहानको खाजाका लागि यो निकै राम्रो छ ।’ धरान उपमहानगर– १३ की विनिता राजधामीले पनि विगत आठ वर्षदेखि भक्का बेच्दै आएको बताइन् । उनले भनिन्, ‘जाडो सुरु भएपछि भक्कासँगै आलुचप पनि बिक्री गर्छु, धरान– १३ को जिरोप्वाइन्टदेखि पश्चिमतर्फको गल्लीमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ ।’

चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिले एक भारी दाउराकै रु. दुई सय पर्ने गरेको उनको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा रु. पाँचमा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य रु. २० पुगेको उनले सुनाइन् । उनका अनुसार दैनिक औसतमा रु. चार हजारको भक्का र आलुचप बिक्री भइरहेको छ ।

जाडोमा अन्यत्र काम खोज्दै जानुभन्दा भक्का र आलुचप बिक्री गर्न सजिलो भएको उनको भनाइ छ । धरान उपमहानगर– १५ की सीमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाइन् । उनले भनिन्, ‘जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ ।’ उनका अनुसार दैनिक पाँच केजी चामलको भक्का बिक्री भइरहेको छ । रासस