पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ।
‘आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ,’ उनले भने, ‘शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ। देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान छ।’
मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरिन्। आइतबारबाट क्रमिक रूपमा मौसममा सुधार आउनेछ। पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ।