मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १०:२७:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

मानव अंग प्रत्यारोपण केन्द्रलाई विशाल ग्रुपको हेमोडायलाइसिस मेसिन सहयोग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १०:२७:००

मिर्गौलाका बिरामीले समयमै डायलाइसिस गराउन पाऊन् भन्ने सोचसहित विशाल ग्रुपले भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई हेमोडायलाइसिस मेसिन सहयोगस्वरूप प्रदान गरेको छ । विशाल ग्रुपकै सामाजिक संस्था भिजी फाउन्डेसनका निर्देशक अर्पित अग्रवालले बिहीबार अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरेका हुन् ।

अहिले डायलाइसिस गराउन चार सयभन्दा बढी बिरामी कुरेर बसेको अस्पतालले जनाएको छ । मिर्गौलाका गम्भीर बिरामीले डायलाइसिस गराउन पालो कुर्नुपर्ने बाध्यता कम गर्न हेमोडायलाइसिस मेसिन प्रदान गरेको विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक अग्रवालले बताए । उनले आश्चर्य व्यक्त गरे, ‘डायलाइसिस गराउने बिरामीले ४५ मिनेट कुर्न कठिन हुन्छ, यहाँ ४५ दिनसम्म कुर्नुपर्ने बाध्यता रहेछ ।’

नयाँ पत्रिका दैनिकमा मिर्गौलाका गम्भीर बिरामीले डायलाइसिस गराउन पालो कुर्दै भन्ने समाचार देखेपछि अग्रवालले डायलाइसिस मेसिन उपलब्ध गराउने अठोट गरेका थिए । उनी आफैँ भक्तपुरस्थित अस्पतालमा गएर हेरे । त्यहाँ बिरामीहरूले दुःख पाइरहेको देखेपछि उनले तत्कालै सहयोगी हात अगाडि बढाएका हुन् । डायलाइसिस गराउन पर्खिरहेका बिरामीले राम्रोसँग खान नपाएको देखेपछि उनले तत्कालै क्यान्टिनमा निःशुल्क खान खुवाउने व्यवस्था पनि गरे । अस्पतालका डाक्टरले कुपनमा हस्ताक्षर गरेर बिरामीलाई दिएपछि क्यान्टिनमा गएर निःशुल्क खान पाइन्छ । ‘हामीले एक वर्षसम्म निःशुल्क खाना खुवाउने प्रतिबद्धता गरिसकेका छौँ,’ उनले भने, ‘अस्पताललाई डेढ सय थान कम्बल पनि प्रदान गरिसक्यौँ ।’

भिजी फाउन्डेसनले अस्पतालमा दुईवटा डायलाइसिस मेसिन प्रदान गर्ने योजना बनाएको छ । ‘एउटा मेसिन हस्तान्तरण गरिसक्यौँ, अर्को पनि ल्याउनेछौँ,’ अग्रवालले भने, ‘अहिलेको मेसिनको प्रभावकारिता हेरेर थप सहयोग गर्दै अगाडि बढ्ने सोच छ ।’ अस्पतालमा केही डायलाइसिस मेसिन बिग्रिएको अवस्थामा छन् । ती मेसिनहरू मर्मत गरेर पुनः प्रयोगमा ल्याउन पनि अध्ययन गरिरहेको उनको भनाइ छ ।पछिल्लो समय अस्पतालमा डायलाइसिस गराउने बिरामीको चाप बढ्दै गइरहेको केन्द्रको नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठले बताइन् ।

स्वास्थ्य क्षेत्रमा सहयोग बढाउँदै लैजानेछौँ

अर्पित अग्रवाल
निर्देशक, भिजी फाउन्डेसन 

मानव अंग्र प्रत्यारोपण केन्द्रलाई के–के सहयोग गर्नुभयो ?
हामीले एउटा हेमोडायलाइसिस मेसिन दिएका छौँ । डेढ सय ब्लाङ्केट पनि प्रदान गर्‍यौँ । तीन महिनादेखि अस्पतालमा भर्ना हुने बिरामीलाई एक वर्षसम्मका लागि निःशुल्क खाना खुवाउन सुरु गरेका छौँ । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सहयोग बढाउँदै लैजानेछौँ ।

बिरामीले डायलाइसिस गर्न महिनौँ कुरेको कहाँबाट थाहा पाउनुभयो ? 
मेरो बुबा अशोक अग्रवाल सामाजिक कार्यमा विश्वास गर्नुहुन्छ । उहाँले समाचार पढेर डायलाइसिस गराउन महिनौँ कुर्नुपर्ने थाहा पाउनुभएछ । उहाँ आफैँ अस्पताल आएर सहयोग गर्न कस्सिनुभएको हो । हामीले डायलाइसिस मेसिन र निःशुल्क खाना खुवाउन सकेमा बिरामीलाई राहत पुग्ने महसुस गर्‍यौँ ।सहयोगका नाममा पैसा मात्र दिनु ठूलो कुरा थिएन । यो अस्पतालले सामान्य आयस्रोत हुने बिरामीको उपचार गरिरहेको छ । यहाँ सहयोग गर्दा वास्तविक मान्छेले लाभ लिन सक्ने महसुस भयो । हामीले दिएको मेसिनबाट बिरामीले सहजै डायलाइसिस गराउन पाऊन् भन्ने हो । अस्पतालमा सयौँ बिरामी डायलाइसिस गर्न पालो कुरेर बसेको सुनियो । भिजी फाउन्डेसनले सुरुवात गरेको छ, आगामी दिनमा पनि पक्कै सहयोगले निरन्तरता पाउनेछ ।

भिजीको सिएसआर कार्यक्रम कहाँ बढी  केन्द्रित छ ?
यो सामाजिक संस्था सुरु भएको ११ वर्ष भयो । हामीले सुरुवातदेखि नै शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका छौँ ।  हाम्रो पहिलो तार्गेट शिक्षा क्षेत्र नै रह्यो । किनभने, देश, समाज र जनताको उत्थानका लागि शिक्षा सबैभन्दा जरुरी छ । हरेक बच्चालाई शिक्षाको पहुँच पु¥याउने अभियानमा हामीले नजिकबाट सहकार्य गरेर काम गरिरहेका छौँ । यस्तै, फिमेल सेनेटरी हाइजिन र महिलालाई राजनीतिक साक्षरताका कार्यक्रम पनि निःशुल्क प्रदान गरिरहेका छौँ । ब्लाङ्केट वितरण र निःशुल्क खाना खुवाउने काम पनि जारी छ । अब हाम्रो सिएसआर कार्यक्रम स्वास्थ्य क्षेत्रमा पनि केन्द्रित हुनेछ ।