१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युनिभर्सल मेडिकल कलेजले सुरु गर्‍यो विशिष्ट विशेषज्ञ सेवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:२५:oo

भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले बिहीबारदेखि विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । मिर्गौला रोग, मुत्र रोग, न्युरो शल्यचिकित्सा र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रियासम्बन्धी गरी चारवटा सेवाहरूमा विशिष्ट विशेषज्ञ सेवा सुरु गरिएको कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । 

एउटा कक्षभित्र प्रवेश गरेपछि बिरामी उपचारको थप परीक्षण गर्न अन्य कक्षहरूमा जान नपर्ने कलेजका प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकालले बताए । चारवटा सेवा लिने बिरामीहरू प्रवेश गरेपछि उनीहरूको सम्पूर्ण उपचार विशिष्ठ कक्षबाट नै  गरिने ढकालले बताए । रगत जाँच, रिपोर्ट लिन अन्यत्र जान नपर्ने गरी विशिष्ठ विशेषज्ञ सेवा सुरु गरेको उनको भनाइ छ ।   

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कम शुल्कमा विशिष्टीकृत सेवाहरूलाई एकीकृत ढंगबाट प्रदान गर्दा बिरामीहरूको उपचारमा सहजता आउने विश्वास व्यक्त गरे । मेडिकल कलेजको यो प्रयास सराहनीय रहेको बताउँदै यसलाई निरन्तरता दिँदै अन्य बहिरङ सेवाहरूमा पनि लागू गर्नुपर्ने  उनको  सुझाब थियो । 
मिर्गौला रोगसम्बन्धी सेवाहरूको लागि डा. कृष्ण अग्रवाल, मुत्र रोगसम्बन्धी सेवाहरूका लागि डा. सगुन थापा, न्युरो शल्यचिकित्सासम्बन्धी सेवाको लागि डा. राजकुमार केसी र मुटु, फोक्सो तथा रक्तनली शल्यक्रियासम्बन्धी सेवाहरूका लागि डा. सन्तोष शाहजस्ता विशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गर्ने कलेजले जनाएको छ ।

बिरामीहरूका लागि एक स्थानबाट उपचार तथा परामर्शको व्यवस्था, रगत तथा पिसाब संकलन केन्द्र, बिरामी कुरुवा क्षेत्र, औषधि खरिदको व्यवस्थालगायतको सुविधाका साथै  बिरामीको कुरुवाहरूको लागि पनि निःशुल्क वाइफाई तथा टेलिभिजनको व्यवस्थापन गरिएको जनसम्पर्क अधिकृत गुरुङले बताए ।
अस्पतालमा यी सेवा पहिलेदेखि नै रहेको भए पनि बिरामीहरूले एकपछि अर्को डक्टर खोज्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बिरामीहरूको सहजताका लागि एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमारले बताए । 

अस्पतालले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम, निःशुल्क डायलाइसिस सेवा, सामाजिक सुरक्षा कार्यक्रम तथा स्वास्थ्य बिमा कार्यक्रम गर्दै आएको छ । मेडिकल कलेजमा ओपिडीमा दैनिक सरदर आठ सयजना र आकस्मिक सेवासहित आइपिडीमा दैनिक ४ सयजनाले सेवा लिँदै आएका छन् । 
 

ad
ad