१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २२ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २२ आइतबार o८:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालसँग ऊर्जा सहकार्य गर्न इच्छुक : हसिना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २२ आइतबार o८:o४:oo

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विद्युत् खरिदसहित ऊर्जा व्यापारमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताएकी छन् । यसका लागि नेपाल, भारत र बंगलादेशबीच सम्बन्धित तहमा छलफल गर्नेसमेत उनको आश्वासन छ । बंगलादेश भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिसम्बद्ध सांसदसँग शुक्रबार गणभवनस्थित निवासमा भएको भेटवार्तामा हसिनाले ऊर्जा क्षेत्रमा नेपाल, भारत र बंगलादेशबीच सहकार्य गर्नुपर्ने बताएकी हुन् । विशेष गरी ऊर्जा सहकार्यका लागि भारतसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ । 

नेपालमा ऊर्जा उत्पादन बढी भएको र बंगलादेशमा ऊर्जाको माग बढिरहेको भन्दै प्रधानमन्त्री हसिनाले सहकार्यमा जोड दिएकी हुन् । ‘नेपालको विद्युत् भारत हुँदै बंगलादेश लैजानुपर्ने अवस्थामा बंगलादेशका प्रधानन्त्रीले भारतसँग कुराकानी गरेर यसमा त्रिपक्षीय सहकार्य गर्नुपर्ने ढंगको कुरा गर्नुभयो,’ भेटमा सहभागी अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सांसद डा. दीपकप्रकाश भट्टले नयाँ पत्रिकासँग भने, ‘नेपालमा बिजुली सरप्लसमा जाने अवस्था रहेको, बंगलादेशमा पूर्वाधारलगायतका क्षेत्रमा भएको विकाससँगै विद्युत् वा ऊर्जाको माग बढिरहेको अवस्थामा नेपालसँग सहकार्य गर्ने इच्छा उहाँले स्पष्ट रूपमा व्यक्त गर्नुभएको छ ।’ 

नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि भारतले पनि समर्थन गर्दै आएको छ । जानकारको भनाइमा भारतले प्रसारण लाइन निर्माण गरिदिएर वा प्रसारण लाइन बनाउन सहजीकरण गरिदिएर सहयोग गर्न सक्छ । ढाकास्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री हसिनाले व्यापार, ऊर्जा, पर्यटन, शिक्षा र जनस्तरीय सम्पर्कमा जोड दिनुपर्ने बताएकी थिइन् । उनले बिबिआइएन (बंगलादेश, भुटान, भारत, नेपाल) उपक्षेत्रीय ढाँचामा कनेक्टिभिटी विस्तारमा जोड दिएकी थिइन् ।

बंगलादेशको प्रधानमन्त्री कार्यालयअन्तर्गतको प्रेस विङ्सद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री हसिनाले चटगाउँ र मोङ्ग्ला बन्दरगाह उपयोग गरेर फाइदा लिन भनेकी थिइन् । बंगलादेशले सइदपुर विमानस्थल निर्माण गरिरहेको उल्लेख गर्दै नेपाललगायत छिमेकी मुलुकले पनि विमानस्थल प्रयोग गर्न सक्ने बताइन् । बंगलादेशका प्रधानमन्त्री हसिनाले ऊर्जाबाहेक पर्यटन, यातायात कनेक्टिभिटीमा सहकार्य गर्नुपर्नेमा जोड दिएको भट्टले बताए । उनले नेपालजस्तो सुन्दर देशमा बंगलादेशबाट पर्यटकको संख्या वृद्धि हुने विश्वास जनाएकी थिइन् । संसदीय टोली १८ साउनमा बंगलादेश गएर शनिबार साँझ फर्केको छ । भ्रमण टोलीमा सांसदहरू पवित्रा निरौला खरेल, डा. दीपकप्रकाश भट्ट, चाँदतारा कुमारी, देवप्रसाद तिमल्सिना, लीलादेवी सिटौला, नारदमुनी राना, सरलाकुमारी यादव थिए । 

भट्टका अनुसार बंगलादेशको स्वतन्त्रतामा नेपाल सरकार, नेपाली नेताहरूले दिएको योगदान भुल्न नसकिने हसिनाको भनाइ थियो । उनले पछिल्लोपटक दुई देशका राष्ट्रपतिहरूको भ्रमण भएको उल्लेख गर्दै राजनीतिक भ्रमणको आदानप्रदान हुनुपर्नेमा जोड दिएकी थिइन् । बंगलादेशबाट परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा कुराकानी भइरहेको कूटनीतिक अधिकारीहरूको भनाइ छ ।