नोकरीबाट हटाइएकामा तीन इन्स्पेक्टर, एक वरिष्ठ सइ, आठ सइ, सात असइ, १२ हवल्दार, ६ सहायक हवल्दार, दुई सय ३६ जवान र १४ कार्यालय सहयोगी छन्
एक वर्षको अवधिमा दुई सय ८७ प्रहरीले जागिर गुमाएका छन् । दुई सय ८० जनालाई नोकरीबाट हटाइएको तथा सातजनालाई बर्खास्तीको निर्णय भएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका, लामो समय गैरहाजिर भएका र गम्भीर किसिमको गल्ती गर्ने प्रहरी नोकरीबाट हटेका हुन् । नोकरीबाट हटाइएकामा तीन इन्स्पेक्टर, एक वरिष्ठ सइ, आठ सइ, सात असइ, १२ हवल्दार, ६ सहायक हवल्दार, दुई सय ३६ जवान र १४ कार्यालय सहयोगी छन् ।
एक वर्षमा एक सय ८४ जनालाई निलम्बन, ८५ जनालाई तल्लो टाइममा घटुवा, पाँचजनाको पद घटुवा, ८१ जनाको पदोन्नति रोक्का, दुई सय ३७ को ग्रेड घटुवा, १६ जनाको प्रतिकूल राय, ५६ जनाको ग्रेड रोक्का र नौ सय नौजनालाई नसिहत दिइएको छ । रेकर्डमा जनिने कारबाहीमा नसिहत सबैभन्दा नरम कारबाही मानिन्छ ।
कारबाहीमा पर्नेमा तीन एसपी, तीन डिएसपी, १७ इन्स्पेक्टर, १३ वरिष्ठ सइ, ५७ सइ, एक सय ३२ असइ, ५९ वरिष्ठ हवल्दार, तीन सय ४२ हवल्दार, दुई सय ४४ सहायक हवल्दार, नौ सय २० जवान र २६ जना कार्यालय सहयोगी छन् । कारबाहीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष ०७७/७८ मा एक हजार नौ सय ८२ प्रहरी कारबाहीमा परेका थिए ।
राजीनामा दिने घटे
प्रहरीमा राजीनामा दिनेको संख्या भने कम भएको छ । आर्थिक वर्ष ०७८/७९ मा चार सय ९८ जनाले राजीनामा दिएका छन् । दुई–तीन वर्षअघि वार्षिक दुई हजारभन्दा धेरै प्रहरीले राजीनामा दिने गरेका थिए । आर्थिक वर्ष ०७७/७८ मा सात सय तीन तथा ०७६/७७ मा दुई हजार ७७ प्रहरीले राजीनामा दिएका थिए ।
तल्लो तहमा तीनवटा नयाँ दरबन्दी थपेर छिटो बढुवा गर्न थालिएको तथा नियमित बिदालगायत समस्या हल गरिएकाले पनि राजीनामा घटेको प्रहरी अधिकारी बताउँछन् । धेरैजसो प्रहरी राजीनामा दिएर विदेश जाने गरेका छन् । कोरोना महामारीको समयमा विदेश जाने अवसर कम भएकाले पनि कतिपयले राजीनामा नदिएको बताइन्छ ।
प्रहरीमा पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिने प्रवृत्ति छ । हाल २० वर्षमा पेन्सन अवधि पुग्छ । त्यसलाई १६ वर्ष बनाउन तल्लो तहका प्रहरीले आग्रह गर्दै आएका छन् । प्रहरी प्रधान कार्यालयले यससम्बन्धी प्रस्ताव अघि बढाए पनि त्यो पारित हुन सकेको छैन ।