केही दिनयता डोल्पाका मस्टा देवताको मन्दिरमा सर्वसाधारणको भिड लागिरहेको छ । हरेक वर्ष साउन पूर्णिमा र विजया दशमीको अवसरमा यहाँका मस्टा मन्दिरहरूमा यसरी नै भिड लाग्छ ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित गल्ली र छलमा रहेको मस्टो मन्दिरमा भने सधैँजसो भक्तजनको घुइँचो लाग्ने गर्छ । यस मन्दिरमा गएर भाकल गरे सबै कामना पूरा हुने विश्वास छ । मन्दिरका पुजारीमा ‘देउता चढेका वेला’ उनले बोलेको भनाइलाई भक्तजनले देउताको बोली मान्ने गरेका छन् । उनै पुजारीमार्फत तीर्थालुहरू आफ्नो माग राख्ने गर्छन् । मन्दिरका पुजारी शनिबार र बिहीबारबाहेक अन्य दिनमा ‘देउता बस्ने’ गर्छन् ।
गल्लीस्थित मस्टा मन्दिरका सहायक पुजारी नन्दसिंह थापाले जिल्लाभित्र र बाहिरबाट दैनिक भक्तजनहरू आफ्नो भूत, भविष्य र वर्तमानबारे जानकारी लिन आउने जानकारी दिए । सन्तान प्राप्तिदेखि जीवनका हरेक सुखदुःख, शिक्षा, आयु, मानसम्मान, पद, सरुवा, बढुवा, स्वास्थ्यलगायत थुप्रै जिज्ञासा लिएर सर्वसाधारण मस्टो भवानी मन्दिरमा आउने उनको भनाइ छ । ‘मस्टा देवको पूजा गर्नाले निःसन्तान दम्पतीलाई सन्तान प्राप्त हुने, धन नहुनेलाई धन, विद्या नहुनेलाई विद्या प्राप्त हुन्छ, रोगव्याधि पनि ठीक हुन्छ,’ पुजारी थापाले भने । मस्टा देवताप्रति डोल्पाली सर्वसाधारण मात्र नभई रुकुम, जाजरकोट, जुम्ला, हुम्ला, मुगुलगायतका सर्वसाधारणको समेत उच्च आस्था र विश्वास छ ।
झगडा मिलाउनसमेत मस्टा पुग्छन् डोल्पाली
धन, मान–सम्मान प्राप्तिका लागि मात्रै होइन, व्यक्ति–व्यक्ति र समुदायबीचको मनमुटाव, झैझगडा, लेनदेन, कारोबारका समस्या सुल्झाउनसमेत डोल्पालीहरू मष्टा मन्दिर पुग्ने गर्छन् । राजाकहाँ गए धनीका कुरा मात्र सुनिन्छ, गरिबले न्याय पाउँदैन, देवताकहाँ गए निष्पक्ष फैसला हुन्छ भन्ने यहाँका सर्वसाधारणमा विश्वास रहेको पुजारीको भनाइ छ ।
गाउँघरमा ‘गरिबका देउता र धनीका राजा’ भन्ने कथन पनि छ । मस्टो भवानी मन्दिर गल्लीमा धामी (मुख्य पुजारी)लाई ‘देउता चढे’पछि मात्र पालैपालो भक्तजनको जिज्ञासा मेटाउने हुँदा भक्तजनको चाप हुने गर्छ । गल्ली मस्टा मन्दिरका धामी ८४ वर्षीय कृष्णराज शाही हुन् । दैवीशक्तिकै कारण उनले वृद्धावस्थामा पनि दैनिक चिसो पानीले नुहाउने, व्रत बस्ने र पूजाआजा गर्न सकेको भक्तजनको विश्वास छ । मस्टोप्रति डोल्पाली मात्र नभई आसपासका जिल्लामा समेत अटुट आस्था छ । मस्टो मन्दिरको दर्शन गर्नाले मागेको कुरा पूरा हुने स्थानीय गोमा उपाध्यायले बताइन् ।
साउन पूर्णिमाको अवसरमा डोल्पावासीमा आ–आफ्ना कुल देवताको दर्शन गर्न जाने चलन छ । यही क्रममा मस्टो देवताको मन्दिरमा गए शुभ हुने, सन्तान प्राप्ति, रोग नाश, धन प्राप्ति, रोजगारीको अवसर प्राप्ति हुने विश्वास छ । मन्दिरका मुख्य पुजारी शाहीले १४ वर्षको उमेरदेखि नै ‘देउता चढेका वेला’ भविष्यवाणी गर्न थालेको यस क्षेत्रका जनतामा विश्वास छ । उनले अहिले पनि हरेक वर्ष सम्भावित घटनाबारे भविष्यवाणी गर्ने स्थानीयको भनाइ छ । साथै, गाउँ, समाजमा हुने विकृति विसंंगतिलाई समेत देव–कानुनमा बाँधेर समाधान गरिने गरिएको छ ।
मस्टो मन्दिरमा विशेषगरी साउन पूर्णिमा र विजया दशमीमा विशेष पूजाआजा हुने गर्छ । मस्टोदेव देवादि देव शिवजीको जटाबाट उत्पत्ति भएको विभिन्न धर्मग्रन्थमा उल्लेख छ । साउन पूर्णिमामा यी मन्दिरमा तीर्थयात्रा गर्दा नांगो खुट्टा जानुपर्ने चलन छ, तीर्थयात्राका क्रममा बाटाघाटामा श्रद्धालु भक्तजनले सम्पूर्ण तीर्थालुलाई फूलमाला, फलफूल र रङ लगाइदिएर विशेष स्वागत गर्छन् ।