१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १८ बुधबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १८ बुधबार o८:५७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जायजेथा बेचेर बचतकर्ताको रकम तिर्ने गौतमश्रीका सञ्चालकको आश्वासन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १८ बुधबार o८:५७:oo

फरार रहेका गौतमश्री बहुद्देश्यीय सहकारीका सञ्चालक रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेरै भए पनि बचकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार दुई पाना लामो विज्ञप्ति जारी गर्दै उनले बचतकर्ताको रकम कुनै पनि हालतमा डुब्न नदिने आश्वासन दिएका हुन् । ‘संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भए पनि म तपाईंहरूको बचत रकम कुनै पनि हालतमा डुब्न दिनेछैन । मेरो जायजेथा र सम्पत्ति बेचेरै भए पनि केही महिनाभित्र रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

काठमाडौंकै ठूलो सहकारीमध्येमा चिनिएको कुलेश्वरको गौतमश्री सहकारीका सञ्चालक, म्यानेजरसहित सम्पूर्ण कर्मचारी सम्पर्कविहीन भएपछि आफ्नो पैसा उठाइदिन आग्रहसहित ठूलो संख्यामा निक्षेपकर्ताहरू यतिवेला सहकारी बोर्ड धाइरहेका छन् । अनुमानित २५ हजार सदस्य आबद्ध भनिएको यो सहकारीबाट आफू पीडित भएको भन्दै मंगलबारसम्म करिब १२ सयले उजुरी दर्ता गराइसकेको सहकारी बोर्डका सूचना अधिकार उपरजिस्ट्रार टोलराज उपाध्यायले जानकारी दिए । ‘उजुरी आउने क्रम जारी छ । अहिलेसम्म आएका पीडितको बचत रकम जोड्दा डेढ अर्बभन्दा बढी देखिएको छ ।’

तर, धेरैजसो सदस्यहरू अझै बोर्डसम्म पुगेका छैनन् । सञ्चालक फरार रहँदा सहकारीमा रहेको करिब सात अर्ब रकम जोखिममा रहेको अनुमान छ । सहकारी विभागका उपरजिस्ट्रार उपाध्यायका अनुसार उजुरी लिएर आउने पीडितहरूमा चटपटे पसल चलाउनेदेखि चर्चित व्यापारी र कलाकारसम्म छन् । 

सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्याय सञ्चालक गौतमले लुकेर सार्वजनिक गरेको विज्ञप्तिले बोर्डको कारबाही प्रक्रिया नरोकिने बताए । ‘बाहिर के भन्दै छन्, थाहा भएन, तर हामीसँग आधिकारिक सम्पर्कमा आएका छैनन्,’ उनले भने, ‘बरु पीडितहरू दिनदिनै उजुरी लिएर आइरहेका छन् । सञ्चालकहरू फरार छन् । त्यसैले हाम्रो आग्रह, हाम्रो सम्पर्कमा आउनुप¥यो । नत्र प्रहरीलाई हामीले खोज्न भनेका छौँ, उनीहरू खोजिरहेका छन् । पक्कै पक्राउ पर्लान् ।’

सञ्चालक गौतम भन्छन्, म भागेको छैन, नेपालमै छु
सहकारी विभागमा उजुरीको क्रम बढिरहे पनि सहकारी सञ्चालक गौतमले भने आफू नभागेको स्पष्टीकरण दिएका छन् । आफू कामविशेषले नेपालबाहिर गएको र त्यहीकारण मोबाइल सम्पर्क हुन नसक्दा आफूलाई भागेको आरोप लगाइएको उनको दाबी छ । ‘म बचतकर्ताको रकम खाएर नभाग्ने र नभागेको स्पष्ट पार्न चाहन्छु । म नेपाल आएर सहकारीको समस्या समाधानमा लागिसकेको जानकारी गराउँदछु,’ विज्ञप्तिमा उनले भनेका छन् ।

दुई वर्ष लामो कोरोना महामारी र लकडाउनका कारण सहकारीले प्रवाह गरेको कतिपय कर्जा समयमा असुल हुन नसक्दा समस्या परेको उनले स्विकारेका छन् । आफू बचतकर्ताको समस्या समाधान गर्न प्रतिबद्ध भएको, तर निरन्तर धम्की आइरहेका असुरक्षित महसुस गरेको समेत उनले उल्लेख गरेका छन् ।