मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण १७ मंगलबार ११:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धरानका नगरप्रमुख हर्कराज साम्पाङले दिए दुई जना विरुद्ध प्रहरीमा जाहेरी 

Read Time : < 1 मिनेट
२०७९ श्रावण १७ मंगलबार ११:५२:००

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलाविरुद्ध जाहेरी

धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । 

आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित संघर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले 'मलाई सोधेर रकम राखेको हो ?' भनेपछि आक्रोसित पीडितहरुले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ । 

साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको जानकारी दिए । 

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बाँस्तोलाविरुद्ध जाहेरी दिएको बताइएको छ ।  उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट  पूर्जी लिने तयारी भइरहेको प्रहरीले जनाएको छ । हुलहुज्जत र अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । 

आइतबार छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरुले नगरप्रमुख  विरुद्ध नाराबाजी गर्दै उनको कार्यकक्षको सिसासमेत फुटाई दिएका थिए । 

यता नगरप्रमुख साम्पाङले भने 'यो राजनीतिक षड्यन्त्र भएकाले प्रहरीमा उजुरी दिएको छु, याे व्यक्तिमाथिको आक्रमण नभई नगर र स्थानीय सरकार माथिकै आक्रमण हो ।'