१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण १५ आइतबार ११:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गर्मी छल्न बन्दीपुर

Read Time : > 1 मिनेट
२०७९ श्रावण १५ आइतबार ११:३२:००

गर्मी बढेसँगै पछिल्लो समय तनहुँको बन्दीपुर आउने पर्यटक निकै बढेका छन् । बढ्दो गर्मीबाट शीतलता पाउन तनहुँसहित आसपासका जिल्लाबाट समेत पर्यटक रिफ्रेस हुन बन्दीपुर पुग्ने गरेका छन् । 

बन्दीपुरको मौसम गर्मीमा चिसो र जाडोमा तातो हुने हुँदा पर्यटकको रोजाइमा पर्ने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष कृष्ण प्रधानले बताए । ‘अहिले गर्मी बढेको छ । मानिसहरू घरबाहिर हिँड्डुल गर्न पनि अप्ठ्यारो मान्छन् । तर, बन्दीपुरमा भने चहलपहल छ । यहाँ चिसो हावा चल्ने भएकाले दिउँसो शीतल हुन्छ भने रातको समयमा सिरक नै ओढ्नुपर्ने हुन्छ,’ उनले भने । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिसहित ११ वटा हिमाल नजिकै देख्न सकिन्छ । बजार क्षेत्रमा बिछ्याइएका ढुंगा र भक्तपुरे शैलीका घरहरू यहाँका प्रमुख आकर्षण हुन् ।

घरघरमा फुलेका फूल र बजार क्षेत्रमा राखिएका मेटालिक पोलले बन्दीपुरको सौन्दर्य झनै बढाएको छ । यहाँ साना–ठूला गरी ७५ वटा होटेल छन् । सबै होटेल भरिभराउ भएको होटेल व्यवसायी बैस गुरुङले बताए । शुक्रबार र बिदाको दिन पर्यटकको अझै बढी भिड लाग्ने उनको भनाइ छ । 

होटेलमा भन्दा होमस्टेमा भिड
यहाँका होटेलमा मात्रै होइन, होमस्टेमा भिडभाड छ । अग्र्यानिक परिकारको टेस्ट लिन चाहनेको रोजाइ होमस्टे हुने गर्छ । यहाँ १० वटा सामुदायिक होमस्टे छन् । गण्डकी प्रदेश होमस्टेका उपाध्यक्ष राजु बानियाँका अनुसार होमस्टेको आकर्षण अझै गज्जबको छ । ‘विशेषगरी शुक्रबार पर्यटकको ओइरो लाग्छ,’ उनले भने । चन्डेनी, मोहोरिया र बन्दीपुर सामुदायिक होमस्टेमा पाहुनाको बढी भिड बढ्छ ।

रात्रिकालीन पर्यटन 
यहाँका सबै होटेल रातको १० बजेसम्म खुल्छन् । त्यतिवेलासम्म होटेलका पर्यटक बाहिरै बसेर आनन्द लिन्छन् । रात्रिकालीन पर्यटनले यहाँको सौन्दर्य बढाउन थप टेवा पुगेको छ ।

नेवार समुदायको बाहुल्य भए पनि अन्य समुदायका मानिस पनि यहाँ बसोवास गर्छन् । कला, संस्कृति र परम्पराले चिनाएको यो ठाउँको छुट्टै पहिचान रहेको गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् ।

कसरी पुग्ने बन्दीपुर ?
पृथ्वीराजमार्गको डुम्रेदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ । गण्डकी प्रदेशको प्रमुख पर्यटकीय स्थल पोखरापछि सबैभन्दा धेरै पर्यटक आउने ठाउँ पनि बन्दीपुर नै हो । 

‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर काठमाडौंदेखि एक सय ३९, चितवनबाट ६५ र पोखराबाट ६७ किलोमिटरको दूरीमा पर्छ । मनोरम दृश्य मात्र होइन, यहाँको हावापानी निकै लोभलाग्दो छ । गर्मीमा चिसो हावा र जाडोमा तातो हावा चल्ने भएकाले यहाँ आन्तरिक पर्यटकको बाह्रै महिना भिड लाग्छ ।

ग्रेटवालको झल्को दिने मिनी ग्रेटवाल

चीनको ग्रेटवालको झल्को दिने गरी बन्दीपुर गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न मणिमुकुन्दसेन पर्खालको नाम राखेर मिनीग्रेटवाल निर्माण थालिएको हो । पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले भानु माविदेखि थानीमाई मन्दिर हुँदै मुकुन्देश्वरी मन्दिरसम्म चार किलोमिटर बाटोमा पर्खाल निर्माण गर्न लागेको छ ।