मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १४ शनिबार
  • Thursday, 19 December, 2024
२o७९ श्रावण १४ शनिबार २१:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रथम महानगर मेयर सम्मेलन सम्पन्न, आइतबार ‘पोखरा घोषणा-पत्र’ जारी गरिने 

दोस्रो सम्मेलन भरतपुरमा हुने    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १४ शनिबार २१:४१:oo

‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रथम महानगर मेयर सम्मेलन २०७९ शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा देशभरका महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अघिकृतहरूको सहभागिता रहेको थियो । 
सम्मेलनमा सहभागीहरूबीच अनुभव आदानप्रदान, आफ्नो महानगरका मुख्य योजनाहरू, कार्यान्वयनका चुनाैतीहरूसँगै महानगरका साझा सवाल तथा आगामी कार्यदिशालगायतका विषयमा केन्द्रित रहेर छलफल गरिएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । 

महानगरस्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, थप सशक्त र थप गुणस्तरयुक्त बनाउँदै संघ सरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गरी महानगरका न्यूनतम मापदण्ड पूरा गर्नु/गराउनु आजको आवश्यकता रहेको र त्यसलाई मध्यनजर गर्दै सम्मेलन आयोजना गरिएको उनले बताए । उनले योजनाअनुसार सम्मेलन सफल भएको बताए ।

सम्मेलनमा ‘संघीयता, महानगर र अबको बाटो’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, ‘महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन’ विषयमा पूर्वाधारविज्ञ डा सूर्यराज आचार्य, सिकाइ आदानप्रदान सत्रको अजयचन्द्र लाललगायतले सहजीकरण गरेका थिए । त्यस्तै ऐन, कानुन तथा महानगरका साझा सवाललगायतका विषयमा पनि  विभिन्नविज्ञहरूले सहजीकरण गरेका थिए । 
सम्मेलनले साझा अवधारणा-पत्र तयार पारी आइतबार ‘पोखरा घोषणा-पत्र’ जारी गर्ने मेयर आचार्यले बताए । 

अर्को वर्षको सम्मेलन भरतपुरमा हुने 
पहिलो सम्मेलन पोखरामा सम्पन्न भएपछि अर्को अर्थात् दोस्रो सम्मेलन भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेणु दाहालले अर्को वर्षको सम्मेलन भरतपुरमा गर्न प्रस्ताव गरेकी थिइन् ।

२०८० लाई भरतपुर भ्रमण वर्ष घोषणा गरिएकाले मेयर सम्मेलन भरतपुरमा आयोजना गर्न दाहालले गरेको प्रस्तावमा सहमति जुटेको हो । भरतपुर भ्रमण वर्षलाई सफल पार्न सम्मेलन सहयोगी हुने मेयर दाहालको भनाइ छ ।