![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/jibanram-shrestha2022-07-18-03-37-45.jpeg)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन्। शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘फोहोरमैलाका कुरा अहिले लामै कथा भइसकेको छ। सामान्य कुरा हो, तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ। फोहोरमैलाभित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन। फोहोरमैला समाधान गर्नका लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाएको छ त्यहाँभित्रको गिरोहले,’ मन्त्री श्रेष्ठले भने।
फोहोरमैलालाई स्राेतबाट व्यवस्थापन गर्न अब स्थानीय तह नै लाग्नुपर्ने भन्दै उनले त्यसका लागि सहयोग गर्न संघीय सरकार तयार रहेको उल्लेख गरे। उनले भने, ‘यो समस्या स्थानीय तहले फोहोरमैलालाई स्राेतबाट नै व्यवस्थापन गर्नेतर्फ जानुपर्छ । हामी सबै त्यसका लागि सहयोग गर्न तयार छौँ।’ सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिएका छन्।