उपत्यकाको फोहोरको समस्या फेरि बल्झियो
काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या फेरि बल्झिने भएको छ । एक सातादेखि उपत्यकामा थुप्रिएको फोहोर बोकेका गाडी बन्चरेडाँडा ल्यान्डफिल साइटमा पुगेकै दिन स्थानीयले आफ्ना माग पूरा नभए १ भदौदेखि फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्ती अलग गर्नेलगायतका आवश्यक कार्यको प्रारम्भ साउन मसान्तसम्म सुरु नगरे १ भदौबाट बन्चरेडाँडा फोहोर लैजान नदिने उनीहरूको भनाइ छ ।
‘फोहोरमैला प्रभावित क्षेत्रबाट मानव बस्ती अलग गर्नेलगायतका संवेदनशील विषयमा सहमति यो वा त्यो बहानामा सिंहदरबार, बागदरबारले षड्यन्त्र गरी कार्यान्वयन नगर्ने नियत बुझिएकाले १ भदौबाट उपत्यकाको फोहोरमैला बन्चरेडाँडा ल्यान्डफिल साइट लैजान सधैँका लागि बन्द गर्न बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरहेको जानकारी गराउन चाहन्छु,’ बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगानाले भने, ‘हाम्रा माग पूरा नभए ल्यान्डफिल साइट सदाका लागि बन्द गर्छौं । सरकार, राजनीतिक दलहरू, प्रशासनिक तथा न्यायिक निकाय, काठमाडौं महानगरपालिकासमेत सम्बन्धित सबैलाई अन्तिमपटक अनुरोध गरिएको छ ।’
स्थानीयले काठमाडौं महानगरपालिकाले ल्यान्डफिल साइट प्रभावित क्षेत्रका नागरिकको आमनरसंहार, वातावरण विनाश हुने गरी प्राणघातक फोहोरमैला व्यवस्थापन गर्ने काम गरिरहेकाले स्थानीयले मरेतुल्य अवस्थामा टुलुटुलु हेरेर बस्न नसकिनेसमेत बताएका छन् ।
बन्चरेडाँडातर्फ जाने सडक मर्मत भइरहेका कारण एक सातादेखि रोकिएको उपत्यकाको फोहोर बिहीबारदेखि उठ्न थालेको थियो । उपत्यकाको फोहोर ढुवानी गर्ने सडकखण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै ३ साउनमा सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो । विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो । छलफलपछि बैठकले स्यानिटरी ल्यान्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य सात दिनका लागि रोक्ने निर्णय गरेको थियो ।
विभिन्न समूहसँग भन्दा त्यहाँका स्थानीय तहसँग मिलेर काम गर्छाैँ : नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले भने विभिन्न समूहसँग भन्दा प्रभावित क्षेत्रका स्थानीय तहसँग मिलेर काम गर्ने जनाएको छ । ‘बिहीबार पत्रकार सम्मेलन गर्ने आफ्नै ढंगको गु्रप हो । हामी त्यहाँको नगरपालिका र गाउँपालिकासँग सम्बन्धित भएर काम गर्छाैं,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘उहाँहरूले पत्रकार सम्मेलन गरेर ज्ञापनपत्र कसलाई बुझाउने हो ? महानगरलाई हो कि सहरी विकास मन्त्रालयलाई हो ? वा अरु कसैलाई हो ?’ महानगरले प्रभावित क्षेत्रसँग गरेको सम्झौता १५ साउनपछि कार्यान्वयनमा जाने बताए ।
‘२५ असारदेखि १५ साउनसम्म जिरो आवर हो । यी दिनमा महानगरका खाता बन्द हुन्छ । त्यसैले हामीले सम्झौता गरेअनुसारका काम गर्न सकेका थिएनौँ । अब १५ साउनदेखि हामीले भनेका काम गर्न सुरु गर्छौं,’ उनले भने । बन्चरेडाँडामा महानगरको फोहोर जाने भएका कारण त्यहाँको माग सम्बोधन गर्न तयार रहेको महानगरले जनाएको छ । महानगरपालिकाका अनुसार बिहीबार ५७ ट्रक फोहोर बन्चरेडाँडा पुगेको छ । अब नियमित रूपमा फोहोर बन्चरेडाँडा जाने महानगरले जनाएको छ ।
संघर्ष समितिले लगायो यस्ता आरोप
संघर्ष समितिले महानगरपालिकाले १७ वर्षमा विभिन्न गैरजिम्मेवार काम गरेको आरोप लगाएको छ । समितिका अनुसार ०६२ मा स्थानीय नागरिकसँग गरिएको चारपक्षीय प्राविधिक सम्झौताको उल्लंघन, ल्यान्डफिल साइटमा फोहोरमैलाबाट कम्पोस्ट मल उद्योग स्थापना गर्ने प्रतिबद्धताको पालना नगरेको, सिसडोलको फोहोरमैलाबाट निस्कने विषाक्त लेदो व्यवस्थापन नगरी कोल्पु नदीमा बगाएको आरोप लगाएको छ ।
फोहोरमैला डम्पिङ साइटमा छाडा जंगली जनावर तथा पशुपन्छीको आवतजावतमा रोकथामका उपायहरू नगरेको, वरिपरि वनजंगल, खोलाखोल्साको माटो ढुंगा अनियन्त्रित ढंगले खनेर फोहोरमैला छोप्ने बहानामा वातावरण विनाश गरेको, प्राणघातक फोहोरमैला डम्पिङ क्षेत्रमा अनधिकृत रूपमा मानिस प्रवेश गर्न दिएर उनीहरूको ज्यान खतरा तथा रोग संक्रमण हुन सक्नेृ कार्यमा निरन्तरता दिएको, फोहोरमैला ढुवानी गर्न जीर्ण अवस्थाका सवारीसाधन प्रयोग गरेको, नियमन नियन्त्रण नगरेकोलगायत ३० बुँदे आरोप लगाएको छ ।
समितिले विभिन्न समयमा भएका सम्झौताको कार्यान्वयन हुनुपर्ने भन्दै अस्पतालजन्य फोहोरमैला, विषादीजन्य फोहोरमैला, मृत पशुपन्छीजन्य फोहोरमैला, ब्याट्री, विद्युतीय सामग्रीजन्य फोहोरमैला र औद्योगिक फोहोरमैलालगायतका फोहोरमैला ल्यान्डफिल साइट लैजान प्रतिबन्ध गर्नुपर्नेसमेत जनाएको छ ।