निर्वाचनको मिति घोषणाका लागि प्रधानमन्त्री देउवाद्वारा गठबन्धनसम्बद्ध दल र कांग्रेसका शीर्ष नेतासँग परामर्श
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी साता प्रदेश र संघीय निर्वाचनको घोषणा गर्ने गरी तयारी थालेका छन् । ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्ने प्रधानमन्त्रीको तयारी छ । आयोगले मंसिर पहिलो साता गर्ने गरी एक सय २० दिनअगाडि नै मिति तोक्न गरेको सिफारिसको समयसीमा भने सकिइसकेको छ ।
प्रधानमन्त्री देउवाले मिति घोषणाका लागि गठबन्धनसम्बद्ध दल र कांग्रेसकै शीर्ष नेतासँग परामर्श गरेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत मिति घोषणाको सम्भावना छ ।
‘प्रधानमन्त्रीले सबैसँग परामर्श गर्नुभएको छ । १६ साउनभित्र मन्त्रिपरिषद् बैठक बोलाएर मिति घोषणा गर्ने उहाँको तयारी छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘उहाँ सबै रूपमा ४ मंसिरमै निर्वाचन गर्नु उपयुक्त हुने निष्कर्षमा हुनुहुन्छ ।’
कांग्रेसका कतिपय नेताले मंगलबार नै मन्त्रिपरिषद् बैठकबाट निर्वाचन मिति घोषणा गर्न सुझाव दिएका थिए । तर, प्रधानमन्त्री देउवा नागरिकतालगायतका केही विधेयक टुंगो लागेपछि मात्रै निर्वाचन घोषणाको पक्षमा देखिएपछि यसबारे मन्त्रिपरिषद्मा कुनै छलफल हुन सकेन । यसअघि प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक बिहीबार राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
सत्तागठबन्धन दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बिहीबार एक कार्यक्रममा केही दिनमा नै ४ मंसिरका लागि निर्वाचनको मिति घोषणा हुने सम्भावना रहेको बताएका छन् । प्रेस सेन्टरका नेताहरूसँगको छलफलमा प्रचण्डले भने, ‘प्रधानमन्त्रीले नागरिकता विधेयकअघि नै निर्वाचन मिति घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयक पारित भएपछि चुनावको मिति घोषणा हुन्छ । दुई–तीन दिनमा चुनाव घोषणा हुन्छ । ४ मंसिरका लागि चुनावको मिति घोषणा हुन सक्छ ।’
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नै निर्वाचन आयोगलगायतसँगको परामर्शका आधारमा मिति घोषणा गर्ने जानकारी दिए । ‘संघ र प्रदेशको निर्वाचनको मितिबारे पार्टीमा औपचारिक रूपमा छलफल भएको छैन । तर, निर्वाचन घोषणा गर्ने जिम्मेवारी सरकारको नै हो । संघ र प्रदेशको निर्वाचनको मिति सम्पन्न हुन बाँकी छ । छिट्टै घोषणा हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने । निर्वाचनको मितिबारे प्रधानमन्त्री देउवाले आफ्ना ज्योतिषी सुरेशचन्द्र रिजालसँग समेत परामर्श गरेका थिए । रिजालले २ वा ४ मंसिरमा निर्वाचन गर्न उत्तम हुने परामर्श दिएका थिए । निर्वाचन आयोगले पनि ४ मंसिरका लागि निर्वाचन गर्न परामर्श गरेको थियो ।
एकै चरणमा निर्वाचन गर्न आयोगको सुझाव
आयोगका पदाधिकारीले गत २२ असारमा प्रधानमन्त्री देउवासँग भेट गरी २ मंसिरमा एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्न तथा एक सय २० दिनअगाडि नै मिति तोक्न सुझाव दिएका थिए । भेटमा प्रधानमन्त्री देउवाले त्यसैआसपास सरकारले निर्वाचन घोषणा गर्ने बताएका थिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ४ मंसिरमा निर्वाचनको सम्भावना रहेको संकेत गरेका छन् । ‘आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय हुने कानुनी व्यवस्थाअनुसार आउँदो क्याबिनेटको बैठकबाट ४ मंसिरमा निर्वाचन हुने गरेर मिति तोकियो भने आश्चर्य नमान्दा हुन्छ,’ मंगलबार आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा थपलियाले भनेका थिए ।
प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन १० मंसिर ०७४ मा पहिलो चरण र २१ मंसिरमा दोस्रो चरणमा सम्पन्न भएको थियो । आयोगले पहिलो निर्वाचित भएको दिनका आधारमा अर्थात् २२ मंसिर ०७४ लाई आधार मानी २२ मंसिरमा पदावधि सकिने बताउँदै आएको छ ।