मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १० मंगलबार o७:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

माल्दिभ्समाथि नेपालको सानदार जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार o७:३७:oo

नेपाली राष्ट्रिय यू–२० टोलीले साफ यू–२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको छ । भारतको भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मीले एक–एक गोल गरे । 

सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका आयुष घलानको कप्तानीमा नेपाली टोलीले बुधबार श्रीलंकाको सामना गर्नेछ । मुख्य प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा नेपाली टोलीले लगातार दुई महिना अभ्यास गर्दै साफ यू–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको हो । 

खेलको ४१औँ मिनेटसम्म माल्दिभ्सले नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको ४२औँ मिनेटमा दीपेशले गोल गर्दै नेपाललाई अग्रता दिलाए । यसपछि नेपाली टोलीलाई माल्दिभ्सले रोक्न सकेन । माल्दिभ्सको पोस्टमा नेपालले एकपक्षीय आक्रमण गरेको थियो । दीपेशले रिवाउन्ड बलमा गोल गरेका हुन् । 

कप्तान आयुषले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक माल्दिभ्सका गोलरक्षक सैहन अलीले पन्च गरेका थिए । तर, डिबक्समै रहेका दीपेशले सहजै १–० का लागि गोल गरे । खेलको ५८औँ मिनेटमा सुगमले २–० का लागि गोल गरे । माल्दिभ्सको डिफेन्स कटाएर सुगमले दोस्रो बारको कुना च्यापेर गोल गरेका थिए । 

खेलको ६२औँ मिनेटमा नेपालले पेनाल्टीमार्फत ३–० को अग्रता लियो । कप्तान आयुषलाई डिबक्सभित्र विपक्षी खेलाडीले फल गरेपछि नेपालले पेनाल्टी प्रहार गर्ने मौका पायो । क्रितिशरत्नले पेनाल्टी गोल गरे । खेलको अन्तिम इन्जुरी समयमा मनग्यले गोल गरेपछि नेपाल ४–० ले विजयी भयो । 

ईश्वर गुरुङको उत्कृष्ट प्रदर्शन
प्रतिस्पर्धामा नेपालका गोलरक्षक ईश्वर गुरुङले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले माल्दिभ्सका दुई राम्रो गोल प्रयासलाई विफल पारे । खेलको ३१औँ मिनेटमा नेपालले सहज गोल अवसर खेर फाल्यो । सुगम सुवालले डिबक्सभित्रबाट प्रहार गरेको बल पोस्टनजिक हुँदै बाहिरिएको थियो । नेपालले १५ साउनमा आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सहभागी पाँच टोलीको राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।