लमजुङको दोर्दी गाउँपालिकाका विकास तामाङको जन्मजातै एउटा खुट्टाको पैताला थिएन । उनलाई कृत्रिम खुट्टा हालेर अन्य मानिसजस्तै हिँड्ने, डुल्ने रहर नभएको होइन । आर्थिक अवस्था कमजोर भएकाले रहर मारेर एउटा खुट्टाको सहारामा उनले दैनिकी बिताइरहेका थिए । तर, कृत्रिम खुट्टा हालेपछि उनको जिन्दगी नै फेरिएको छ । अहिले उनी सबलांग व्यक्तिजस्तै हिँड्न, काम गर्न र फुटबल खेल्न सक्ने भएका छन् । विकासलाई पहिले सानो सामान उचाल्नुपर्यो भने पनि अप्ठ्यारो हुन्थ्यो । तर, अहिले भने उनी सहजै २५ किलोसम्मका भारी उचाल्न सक्ने बताउँछन् । खेतीपातीको काममा बाबुआमालाई सघाउन सक्ने भएका छन् ।
६ वर्षअघि नवलपुरको मध्यबिन्दु नगरपालिकाका अजय कुमारको खुट्टामा समस्या आयो । धेरै ठाउँमा उपचारका लागि धाए, तर कतै निको भएन । खुट्टा सुन्निएर भित्रभित्रै पाक्न थालेपछि अन्ततः उनको खुट्टा काट्नुपर्ने भयो । पछि उनले भारतको नयाँदिल्लीमा गएर कृत्रिम खुट्टा हाले । कृत्रिम खुट्टा फेर्न तथा मर्मत गर्न अहिले टाढा जानुपर्दैन । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालको सबल केन्द्रमै उनले अनुकूल सेवा पाइरहेका छन् । ‘घरनजिकै यस्तो सेवा पाउँदा निकै खुसी लागेको छ,’ उनले भने । उनले शुक्रबार खुट्टाको नाप दिएर गएका थिए, आइतबार अस्पताल आइपुगेको डेढ घन्टाभित्रै कृत्रिम खुट्टा राखियो र हिँड्न पनि सिकाइयो । ‘नेपालमा यस्तो सुविधा पाउनु सुखद हो,’ उनले भने ।
सबल केन्द्रमा विकास र अजयजस्ता विभिन्न कारणले हातखुट्टा गुमाएका ६८ जनाभन्दा बढीले निःशुल्क सेवा पाइसकेका छन् । एक–दुईबाहेक धेरै विपन्न परिवारका छन् । अस्पतालमा सेवा सुरु भएको डेढ महिना भयो । यस अवधिमा चुस्तदुरुस्त सेवा दिनु उदाहरणीय कार्य भएको अस्पतालका प्रमुख वीरबहादुर थापाले बताए । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेपछि विपन्न बिरामीले निःशुल्क सेवा पाएका हुन् ।
केन्द्र सञ्चालनका लागि पैसा नभएपछि नबिल बैंकले हरेक वर्ष केन्द्रलाई आर्थिक सहयोग गर्न थालेको हो । यो सहयोग पाएपछि सबल केन्द्रले भारतबाट कृत्रिम अंग बनाउने कच्चा पदार्थ तथा तालिम दिने मान्छे ल्याएर कृत्रिम हातखुट्टा राख्ने काम सुरु गर्न सकेको अस्पताल प्रमुख थापा बताउँछन् । सबल केन्द्रमा अहिले भारतका दुईजना, अस्पतालका पूर्वनिर्देशक दीपकसिंह केसी, प्राविधिक विकास तामाङले कृत्रिम हातखुट्टा बनाउने काम गर्र्दै आएका छन् ।
सबल केन्द्रमा कृत्रिम हातखुट्टा जडानसँगै कृत्रिम हातखुट्टाले कसरी काम गर्ने, कसरी हिँड्ने भनेर प्रशिक्षण पनि दिइन्छ । ‘बैसाखी टेक्दै आएका व्यक्ति आफैँ हिँडेर घर फर्किएको देख्दा मनमा छुट्टै किसिमको सन्तुष्टि हुन्छ । हिँड्न नसक्नेहरू हिँड्न सक्ने भएर जान्छन् । हात नहुनेहरू आफैँले पानी खान सक्ने भएर जान्छन्,’ थापाले भने, ‘यो सफलताका पछाडि नबिल बैंकको ठूलो साथ र सहयोग छ । यो साथ र सहयोगको निरन्तरताको अपेक्षा गरेका छौं ।’