मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Wednesday, 18 December, 2024
टेकराज थामी काठमाडाैं
२o७९ श्रावण ३ मंगलबार o८:१६:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सूचना ‘भेरिफाई’ नगरी अनुसन्धान गर्दा निर्दोष १२ दिनदेखि हिरासतमा

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार o८:१६:oo

जग्गा कारोबार, सहकारी सञ्चालन गर्दाको वैमनस्यताले अपराध कर्ममा

घटनास्थलबाट आएको सूचना ‘भेरिफाई’ नगरी अनुसन्धान अघि बढाउँदा निर्दोष व्यक्ति १२ दिनदेखि प्रहरीको हिरासतमा बस्न बाध्य भएका छन् । प्रहरीले गत २३ असारको साँझ चाबहिलको शान्ति गोरेटोस्थित खाजा पसलबाट पाँचथर तुम्बेया गाउँपालिका–५ का ४२ वर्षीय शिव लिम्बूलाई कस्तुरीको बिनासहित पक्राउ गरेको थियो । पक्राउलगत्तै शिवलाई प्रहरीले हिरासतमा लियो । थप अनुसन्धान गर्न प्रहरीले उनलाई जिल्ला वन कार्यालय काठमाडौं पठायो । हिरासत बसेको १२ दिनपछि पाँचथर चिलिडदिड गाउँपालिका–४ का आदम भनिने सुभाष राईले फसाउने उद्देश्यले बिना शिव चढ्ने मोटरसाइकलमा राखेको खुल्यो । प्रयोगशाला परीक्षणपछि फसाउन प्रयोग गरिएको बिनासमेत नक्कली रहेको खुल्यो । 

घटना शंकास्पद लागेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी दिलीप घिमिरेको संयोजकत्वमा छानबिन समिति नै बनाएको थियो । समितिको अनुसन्धानपछि सुभाषले फसाउने उद्देश्यले शिवको मोटरसाइकलमा नक्कली बिना राख्न लगाएको खुलेको थियो । बिना राख्न उनले गुल्मी मदाने गाउँपालिका–३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठलाई प्रयोग गरेका थिए । अनुसन्धानका क्रममा कृष्णले कसुर स्वीकार गरेको कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । 

एसपी सन्तोषसिंह राठौर
कस्तुरीको बिनाजस्तो देखिने वस्तुसहित एकजना पक्राउ परेका थिए । पछि यस विषयमा गुनासो आयो । हामीले छानबिन समिति बनायौँ । फसाउने उद्देश्यले नै कस्तुरीको बिनाजस्तो देखिने वस्तु शिव चढ्ने मोटरसाइकलमा राखेको सिसिक्यामेरा फुटेजमा देखियो ।

‘कस्तुरीको बिनाजस्तो देखिने वस्तुसहित एकजना पक्राउ परेका थिए । पछि यस विषयमा गुनासो आयो । हामीले छानबिन समिति बनायौँ । फसाउने उद्देश्यले नै कस्तुरीको बिनाजस्तो देखिने वस्तु शिव चढ्ने मोटरसाइकलमा राखेको सिसिक्यामेरा फुटेजमा देखियो,’ उनले भने ।

प्रहरीका अनुसार शिव र सुभाषबीच जग्गा कारोबारका सम्बन्धमा विवाद भएको थियो । यही क्रममा शिवले सुभाषलाई कपनमा कुटपिट गरेका थिए । त्यसैको बदला लिन सुभाषले कस्तुरीको बिना खोजे । बिना फेला परेपछि शिव चढ्ने मोटरसाइकलमा राख्ने योजना बनाए । जसका लागि गुल्मीमा कृष्ण श्रेष्ठलाई प्रयोग गर्ने मनस्थितिमा पुगे । कृष्णलाई भने । उनी राजी भए । त्यसपछि शिवलाई निरन्तर पछ्याउन थाले ।

शिव चाबहिलको शान्ति गोरेटोस्थित खाजा पसलअगाडि मोटरसाइकल पार्क गरी खाजा खाँदै गरेको भेटिएपछि सुभाषले कृष्णलाई घटनास्थल बोलाए । योजनाअनुसार कृष्णले रातो झोलामा लुकाइराखेको बिना शिव चढ्ने मोटरसाइकलको सिटमुनि कोचे । कृष्ण आफ्नो बाटो लागे । सुभाषले भने बिनाको सम्बन्धमा प्रहरीलाई फोन गरे । प्रहरी घटनास्थल पुग्यो । सूचनाअनुसार मोटरसाइकलमा छापा हान्यो । नभन्दै सिटमुनि बिनाजस्तो देखिने वस्तु फेला पर्‍यो । प्रहरीले मोटरसाइकल धनी खोज्यो । खाजा पसलभित्रै रहेको खुलेपछि प्रहरीले शिवलाई त्यहीँ पक्राउ गर्‍यो । सोही दिनदेखि उनी हालसम्म प्रहरी हिरासतमा छन् । सुभाष भने फरार रहेको प्रहरीको भनाइ छ । ‘गलत नियतका साथ शिवलाई सुभाषले फसाएको देखिन्छ । घटनामा प्रहरीको संलग्नता देखिँदैन । योजनाकार सुभाष भने फरार छन् । उनको खोजीमा प्रहरी लागेको छ,’ एसपी राठौरले भने ।

बहुविवाह मुद्दामा साक्षी बसेको इबी साँध्न पेस्तोल प्रयोग

स्कुटरको डिकीमा गोलीसहित पेस्तोल बरामद भएपछि प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–४ का ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गर्‍यो । जब अनुसन्धान अघि बढ्दै गयो, गोलीसहितको पेस्तोल अर्कोले राखेको खुल्यो । 

प्रहरीले घटनामा संलग्न ललितपुर महालक्ष्मी–८ लुभुका ४३ वर्षीय अनिल श्रेष्ठ र ५० वर्षीय अख्खनदास श्रेष्ठलाई पक्राउ गरेको छ भने श्यामकृष्णलाई तारेखमा छाडेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार फसाउने उद्देश्यले श्यामकृष्णको स्कुटरमा अनिल र अख्खनदासले दुई राउन्ड गोली र पेस्तोल राखेका थिए । परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले फसाउने उद्देश्यले स्कुटरमा गोलीसहितको पेस्तोल राखेको अनुसन्धानबाट खुलेको बताए । 

‘स्कुटरमा गोली र पेस्तोल भेटियो । श्यामकृष्ण भन्ने व्यक्ति पक्राउ परे । घटना अनुसन्धान गर्दै जाँदा उनको स्कुटरमा अनिल भन्नेले गोली र पेस्तोल राखेको देखिन्छ । स्कुटर खोलेको देख्ने सुरक्षागार्डले पनि त्यही बयान दिएका छन् । सहकारीको ऋण नतिर्न, अदालतमा साक्षी बसेको इबी साँध्न अनिलले यस्तो गरेको खुलेको छ,’ उनले भने ।

प्रहरीका अनुसार अनिल, अख्खनदास र श्यामकृष्णको ललितपुरमा सहयोगी बहुउद्देश्यीय सहकारी छ । सहकारीका अध्यक्ष अनिल हुन् । अख्खनदास निवर्तमान अध्यक्ष र श्यामकृष्ण सहकारीको व्यवस्थापक हुन् । यही क्रममा अनिलले सर्लाहीका शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाएर दोस्रो विवाह गरे । प्रहरीमा उजुरी पर्‍यो । लगत्तै अनिल पक्राउ परे । शिवजी पीडित थिए । उनको श्यामकृष्णसँग राम्रो सम्बन्ध थियो । सोही कारण पीडित शिवजीको पक्षबाट उनी अदालतमा साक्षी बसे । जुन विषय अनिललाई मन परेको थिएन । 

अनिलले आफ्नो र परिवारका सदस्यको नामबाट सहकारीबाट दुई करोड ९५ लाख ऋण लिएका थिए । उनले सहकारीमा ऋण तिर्न बन्द गरे । रकम अनियमितता भएको सूचनापछि श्यामकृष्णले अनिललाई ऋण चुक्ता गर्न पटक–पटक भने । तर, उनले मानेनन् । दुई पक्षबीच मनमुटाव भयो । अब अनिल श्यामकृष्णलाई फसाउने षड्यन्त्र बुन्न लागे । जसमा उनले अख्खनदासलाई पनि मिसाए । 

सहकारीको नाममा थियो, प्रदेश ३–०२–०१२प ६२४१ नं. को स्कुटर । वर्षदिनदेखि श्यामकृष्ण चढ्दै आएका थिए । सोही स्कुटरको डिकीमा पेस्तोल र गोली राख्ने योजना बन्यो । योजनाअनुसार अनिलले पेस्तोल र गोली खोजे । फेला परेपछि श्यामकृष्णको निगरानीमा जुटे । स्कुटरको दुईवटा चाबी थियो । एउटा श्यामकृष्ण प्रयोग गर्थे, अर्को अख्खनदाससँग थियो । अनिलले चाबी अख्खनदासबाट लिए । सोही चाबी प्रयोग गरी डिकी खोले । र, गोलीसहितको पेस्तोल राखे । लगत्तै लगातार प्रहरीलाई फोन गरे ।

प्रहरी घटनास्थल पुग्यो । नभन्दै स्कुटरको डिकीमा गोलीसहितको पेस्तोल फेला पर्‍यो । प्रहरीले श्यामकृष्णलाई पक्राउ गर्‍यो । तर, अनुसन्धानका क्रममा श्यामकृष्णले पेस्तोलको स्रोत खुलाउन सकेनन् । प्रहरी अब घटनास्थलआसपासको सिसिक्यामेरा फुटेज संकलनमा जुट्यो । फुटेजको मिहिन ढंगले अध्ययन भयो । यही क्रममा अनिल श्यामकृष्ण चढ्ने स्कुटरमा पुगेको, पेस्तोल राखेको, पुनः झिकेको देखियो । घटनाको रहस्य खुलेपछि प्रहरीले अनिल र अख्खनदासलाई पक्राउ गरेको हो ।