१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१९५० को सन्धिदेखि सीमा समस्यासम्म छलफल

माओवादी–भाजपा सम्बन्ध स्थापित

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:१२:oo

माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीनदिने भारत भ्रमणका क्रममा १९५० को सन्धि, सीमा समस्या र इपिजी प्रतिवेदनका विषय सम्बोधन गर्नुपर्नेलगायतका मुद्दा उठाएर आइतबार स्वदेश फर्केका छन् । भ्रमणका क्रममा वार्ता उत्साहजनक रहेको र चाँडै नै त्यसको परिणाम देखिने उनले बताए ।

‘भारतीय पक्षसँग सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको छ । मेरो भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक परिणाम आउने विश्वास छ । विदेशमन्त्री र विदेशसचिवसँगको छलफल पनि फलदायी रह्यो । भारतमा रहँदा नेपाल–भारतबीच भएको १९५० सन्धि पुनरावलोकन, नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने, सीमा समस्या समाधान, डुबानसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान, व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा भारतीय राजनीतिक नेतृत्वसँग कुराकानी गरेको छु,’ प्रचण्डले भने, ‘नेपालको विकासका सम्भावना, अवसर र चुनौतीबारे खुलेर कुराकानी भयो । रुसबाट कच्चा तेल सस्तोमा आउँछ, तपाईंहरूले त्यसबाट नेपाललाई दिने ढंगबाट सोच्नुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने विषयलाई मैले राखेँ । म धेरै नै आशावादी र विश्वस्त भएर आएको छु, हामीले समस्याका रूपमा चित्रित गर्दै आएका विषय सकारात्मक रूपमा समाधान हुनेछन् ।’
औपचारिक भ्रमणको अन्तिम दिन आइतबार भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा भएको वार्तामा पनि प्रचण्डले समस्यारहित सम्बन्धका लागि इतिहासले छाडेका विषय सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । ‘विद्यमान विषयहरूलाई पारस्परिक विश्वास र मित्रताको भावमा समाधान गर्नुपर्छ भन्नेमा प्रचण्डले जोड दिनुभयो,’ भेटवार्तापछि भाजपाले जारी गरेको विज्ञप्तिमा छ ।

भाजपा अध्यक्ष नड्डाले कूटनीतिक र राजनीतिक तहमा छलफल गरेर सबै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष प्रचण्डलाई भाजपा अध्यक्ष नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भाजपा मुख्यालयमा आइतबार बिहान स्वागत गरेका थिए ।

कार्यालय भ्रमणपछि भएको वार्तामा प्रचण्डले दुई देशबीचका समस्या समाधानमा जोड दिएको वार्तामा सहभागी प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रचण्डले शुक्रबार भारतीय विदेशसचिव विनयमोहन क्वात्रा, शनिबार विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार डा. अजित डोभाल र आइतबार भाजपा अध्यक्ष नड्डासँग भेटवार्ता गरेका थिए ।

‘अध्यक्षज्यूले सबैसँगका वार्तामा समस्यारहित सम्बन्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ,’ मल्लले नयाँ पत्रिकासँग भने । प्रचण्डले शनिबार आयोजित एक कार्यक्रममा पनि समस्यारहित सम्बन्ध बनाउन सकिनेमा जोड दिएको थियो । सबै भेटवार्तामा प्रचण्डले यो विषय प्रस्तुत गरेको मल्लले बताए ।

प्रचण्डले भाजपा अध्यक्षदेखि सबै उच्च अधिकारीहरूसँगको वार्ता उत्साहजनक भएको बताए । राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग दुई घन्टाभन्दा बढी भएको कुराकानीमा धेरै विषय स्पष्ट भएको र चाँडै नै परिणाम हासिल हुने पनि प्रचण्डको भनाइ थियो । ‘सम्मान र सुरक्षाका हिसाबले प्रधानमन्त्री भएर जाँदाभन्दा अहिले फरक लागेन । उस्तै–उस्तै गरेको पाइयो,’ प्रचण्डले भने ।

‘भाजपा जानौँ’ पहलकदमीअन्तर्गत प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिएको भाजपाद्वारा भेटपछि जारी विज्ञप्तिमा उल्लेख छ । संसारका मुख्य राजनीतिक दलहरूसँग सम्बन्ध सुदृढ गर्ने भाजपाको नीतिअनुसार प्रचण्डको भ्रमण भएको हो ।

दुवै पार्टी अध्यक्षबीच विभिन्न विषयमा लामो छलफल भएको थियो । ‘नेपाल सधैँ भारतको छिमेक नीतिको केन्द्रमा रहेको छ । पछिल्लोपटक प्रधानमन्त्री देउवाको दिल्ली भ्रमण र मोदीको लुम्बिनी भ्रमणले दुई छिमेकीबीच सम्बन्ध सुदृढ भएको छ । प्रचण्डको भाजपा मुख्यालय भ्रमण दुई मुख्य राजनीतिक दलबीच बढ्दो सम्बन्धको मुख्य कोसेढुंगा हो । प्रचण्डजीको भ्रमणले दुई देश र समाजबीच सम्पर्क–सम्बन्ध थप सुधार हुनेछ,’ नड्डाले भने ।

उनले माओवादीसँग विभिन्न तहमा सम्पर्क र सम्बन्ध आदान–प्रदानका लागि भाजपा इच्छुक रहेको बताए । उनले माओवादी केन्द्रका युवा नेताहरूको एउटा प्रतिनिधिमण्डललाई चाँडै स्वागत गर्न पाए आफूहरू खुसी हुने पनि बताए । 
प्रचण्डले न्यानो स्वागतका लागि भाजपा अध्यक्षलाई धन्यवाद दिँदै फरक विचारधारा भए पनि समाजका गरिब वर्गको उत्थान दुवै राजनीतिक दलको साझा उद्देश्य रहेको बताए ।

नेपाली अर्थतन्त्रको मुख्य आधारस्तम्भ जलविद्युत् र पर्यटन भएको भन्दै प्रचण्डले यसमा सहकार्यका लागि भारतको सरकारी र गैरसरकारी क्षेत्रलाई अपिल गरे । उनले नेपालबाट विद्युत् खरिदका लागि भारतलाई धन्यवाद पनि दिए । उनले भारतसँग बढ्दो व्यापार घाटामा चासो राख्दै यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रचण्डका स्वकीय सचिव मल्लले पनि सबै भेटवार्तामा प्रचण्डले डुबानदेखि व्यापार घाटालगायत दुई देशबीचका सबै विषय उठान गरेको बताए । ‘सन्धि, सीमा र इपिजी प्रतिवेदनका विषयमा भारतीय पक्षले पनि सकारात्मक रूपमा लिएको भनेको छ । विश्व राजनीति, क्षेत्रीय राजनीति र दुई देशको सम्बन्धका सबै पक्षमा सबै भेटहरूमा कुराकानी भएका छन्,’ मल्लले नयाँ पत्रिकासँग भने ।

स्वदेश फर्कनुअघि प्रचण्डलाई भारतीय विदेश मन्त्रालयको नेपाल–भुटान डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीलगायतले बिदाइ गरेका थिए । स्वागतका लागि पुगेका भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले पार्टी कार्यालयबाटै प्रचण्डलाई बिदाइ गरेका थिए ।

मोदीसँग भेट भएन 
प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भएको भेटवार्ता भने अन्तिम समयमा रोकिएको छ । तर, भेटवार्ता रोकिनुबारे स्पष्ट जानकारी नपाएको प्रचण्डले बताए ।

‘१ बजे (आइतबार) प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भनिएको थियो । मोदीजीलाई भेटेर एयरपोर्ट जानुपर्छ भनेर हामी भाजपा कार्यालयबाट निस्कियौँ । होटेल जाने क्रममा अहिले भेट सम्भव भएन भन्ने सन्देश आयो,’ काठमाडौं विमानस्थलमा प्रचण्डले भने, ‘किन सम्भव भएन भन्ने तपाईंहरूले जस्तै मैले थापा पाइनँ । भाजपा अध्यक्षले बोलाएको हुनाले उहाँसँग भेटेपछि सायद क्लाइमेक्स त्यही हो कि भन्ने चर्चा पनि अधिकारीहरूले गरेको सुनेँ ।’

भारतीय प्रधानमन्त्री मोदीस“ग भेट नभए पनि आफूले यसलाई कुनै अन्यथा नलिएको प्रचण्डको भनाइ थियो । ‘बाढीले पूरै भारतभरि क्षति भएको छ, डुबान डरलाग्दो छ । मोदीजी उता जानुभएको थियो । एकदमै रस आवर भएर हो कि भन्ने पनि अधिकारीहरूले भनेका थिए । के कारणले लास्ट आवरमा भेट भएन, मैले पनि थाहा पाएको छैन,’ प्रचण्डले भने, ‘तर, मलाई त्यसले केही टेन्सन भएको छैन । किनभने मैले भन्नुपर्ने र गर्नुपर्ने कुरा भाजपा नेतृत्वलाई भनेकै छु । सबैसँग पर्याप्त छलफल भएको थियो । मोदीजीसँग भेट्ने र फोटो खिच्ने कुरा त हुन्थ्यो होला, त्यसभन्दा बढी त हुने समय पनि थिएन ।’

ad
ad