रेस्लर भगवती खड्का (युनिका)को नेतृत्वमा सात सदस्यीय भक्तपुर जिल्ला स्पोर्टस् युनियन गठन भएको छ । जी फन्टका अध्यक्षसमेत रहेको मदन भण्डारी स्पोर्टस् एकेडेमीका पूर्वअध्यक्ष विनोद श्रेष्ठ, स्पोर्टस् युनियन नेपालका केन्द्रीय अध्यक्ष प्रदेश सांसद सीता लामा, केन्द्रीय महासचिव सुदीप शर्मालगायतको उपस्थितिमा बालकोटस्थित रेडक्रसको भवनमा भएको भेलाले भगवतीको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
युनियनको उपाध्यक्ष क्रिकेटका सुशन श्रेष्ठ, सचिवमा क्रिकेटका पवन पौडेल र कोषाध्यक्षमा क्रिकेटका सञ्जय बस्नेत छन् । सदस्यमा करातेका श्रीकिसुन साह, क्रिकेटका सुरजरत्न शाक्य र करातेका हीरा तामाङ चयन भए । विभिन्न ६ जिल्लामा युनियन गठन भइसकेको अध्यक्ष लामाले जानकारी दिइन् । यसअघि मकवानपुर, उदयपुर, ललितपुर, काठमाडौं र रुपन्देहीमा कार्यसमिति गठन भइसकेको बताइएको छ ।
ऋत र ग्रिनल्यान्ड सेमिफाइनलमा
काठमाडौं÷ ऋत एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड ‘बी’ प्रथम एन्जल्स एसइई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्ट मावि र कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ऋत ‘ए’ले महामञ्जुश्रीलाई १०–८ ले पराजित गर्यो । ग्रिनल्यान्ड ‘बी’ ले न्यु जेनिथ ‘ए’लाई ८–७ ले हरायो ।
मनमैजुस्थित आयोजकको कोर्टमा भइरहेको प्रतियोगितामा नवज्योति र न्यु जेनिथ ‘बी’ले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । नवज्योतिले ऋत ‘बी’लाई ७–४ तथा न्यु जेनिथ ‘बी’ले लालीगुराँसलाई ८–७ ले पाखा लगाए । सेमिफाइनलमा नवज्योतिको भेट न्यु जेनिथ ‘बी’सँग हुनेछ भने ऋत ‘ए’ले ग्रिनल्यान्ड ‘बी’को सामना गर्नेछ । आइतबार सम्पन्न हुने नकआउट प्रतियोगितामा ६६ टिम सहभागी छन् ।