
नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने बताएकी छिन् । शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने बताइन् । उनले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताइन् ।
‘मलाई लाग्छ, निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरू थपिएको छ, दायित्वहरू थपिएको छ । संविधानको कार्यान्वयनको लागि, समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरूलाई व्यवस्थापन गर्नको लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्वपूर्ण ढंगबाट यो विषयवस्तुलाई उठाउनको लागि, मुलुकको आर्थिक समृद्धिको लागि’, उपसभामुख भुसालले भनिन्, ‘र मलाई के लाग्छ भने सदनमा एउटा तटस्थताको भूमिकालाई निर्वाह गर्नको लागि जुन जिम्मेवारी थपिएको छ । त्यसलाई इमानदारीपूर्वक निर्वाह गर्नेछु भन्ने कुरामा म दृढ छु ।’
उनले आफूसम्बद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरू स्थगित गरेको पनि घोषणा गरिन् ।