१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सोनी राई सोलुखुम्बु
२०७९ असार ३१ शुक्रबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुम्बु जोड्ने पुल बन्दै

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
२०७९ असार ३१ शुक्रबार १०:४०:००

सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र खुम्बु जोड्ने मोटरेबल पुलको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । खुम्बु जाने स्थलमार्गमा पर्ने सोलु–दूधकुण्ड नगरपालिका– १ टाक्सिन्दु र माप्य दूधकोसी गाउँपालिका– १ जुभिङ जोड्ने मोटरेबल पुल निर्माणले तीव्रता पाएको हो । 

महादेव खिम्ती हिराचन जेभीले निर्माणको जिम्मा पाएको पुलको गएको जेठ अन्तिममा शिलान्यास गरिएको थियो । सात करोड ६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण हुने पुल ५० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल फ्री स्ट्रेच प्रविधिबाट बन्ने जनाइएको छ ।

हाल पुलको एकापट्टिको पिलर तयार भइसकेको निर्माण कम्पनीका प्रतिनिधि बुद्धिबहादुर मगरले बताए । रातमा समेत काम गरेर तीव्र गतिमा निर्माण भइरहेको र गुणस्तरीय काम गरी पुल समयमै निर्माण सम्पन्न गर्ने उनको भनाइ छ । 

निर्माणस्थलसम्म पुग्ने सडकमा यातायातका साधन चल्न नसकेका कारण सामान ढुवानी गर्न नपाउँदा निर्माण सुरु गर्न केही ढिला भएको भए पनि अब द्रुत गतिमा काम हुने उनले बताए । 

माप्य हुँदै खुम्बु जोड्ने सडकखण्ड भएकाले दूधकोसी नदीमाथि बन्ने यो मोटरेबल पुलले माथिल्लो सोलुको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने सोलु–दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताए । खुम्बु जोड्ने छोटो मार्गको रूपमा यो सडक रहेकाले तोकिएको समयमा मात्र नभई गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई मेयर शेर्पाले निर्देशन दिए । 

पुल निर्माण भएपछि खुम्बु क्षेत्रमा सहज ढुवानी हुने भएकाले दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत सस्तिने स्थानीयले आशा लिएका छन् । पुल निर्माणपश्चात् सदरमुकाम आवतजावत गर्न तथा पर्यटकलाई खुम्बु जान स्थलमार्गबाट धेरै सहज हुने भन्दै खरिखोलाका भलाकाजी मगरले खुसी व्यक्त गरेका छन् ।