मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ असार २७ सोमबार ११:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज महानगरमा घुम्ती शौचालय प्रयोगविहीन, बजारमा शौचालयको अभाव

Read Time : > 1 मिनेट
२०७९ असार २७ सोमबार ११:१०:००

वीरगन्ज महानगरपालिकाले खुला दिसामुक्त कार्यक्रमअन्तर्गत खरिद गरेको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा पुगेको पाएको छ । आर्थिक वर्ष ०७५/७६ मा खुला दिसामुक्त कार्यक्रमअन्तर्गत खरिद भएको घुम्ती शौचालय प्रयोगविहीन अवस्थामा पुगेको हो । 

वीरगन्ज महानगरपालिका कार्यालय लेखा शाखाका अनुसार आर्थिक वर्ष ०७५/७६ मा २७ लाख ९५ हजार तीन सय ३७ रुपैयाँमा २५ थान घुम्ती शौचालय खरिद गरिएको थियो ।  
महानगरपालिकालाई खुला दिसामुक्त बनाउने अभियानमा घुम्ती शौचालय खरिद भएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । 

कार्यालयका अनुसार घुम्ती शौचालय खरिद भएको केही समयमा महानगरपालिकाको विभिन्न स्थानमा थन्किएको वीरगन्ज महानगरपालिकाले जारी गरेको श्वेतपत्रमा उल्लेख छ । गत असार १९ मा महानगरपालिका कार्यालयको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रका साथै सञ्चालनमा रहेका विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गरेको थियो । 

श्वेतपत्रमार्फत महानगरवासीलाई महानगरको विगतको नेतृत्वको काम, महानगरको वर्तमान आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको अवस्था, सञ्चालन र निर्माणाधीन योजनाको अवस्थाबारे जानकारी गराइएको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताए । 

उनका अनुसार महानगरले जारी गरेको श्वेतपत्रमा विगतको नेतृत्वले गरेका काम र महानगरकोे वर्तमान अवस्थाबारे महानगरवासीलाई जानकारी गराइएको छ ।

प्रयोगविहीन घुम्ती शौचालय कहाँ छ ?
वीरगन्ज महानगरपालिकाका अनुसार महानगरपालिकाको घुम्ती शौचालय प्रयोगविहीन भएर महानगरपालिकाको विभिन्न स्थानमा थन्किएको छ । खुला दिसामुक्त कार्यक्रमअन्तर्गत घुम्ती शौचालय नारायणी अस्पताल, पुरानो बसपार्क, नयाँबसपार्क, आदर्शनगर खेलमैदान र जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको भए पनि प्रयोगविहीन अवस्थामा पुगेको छ । 

घुम्ती शौचालय प्रगोगविहीन भएर सबैभन्दा बढी महानगरपालिका कार्यालयको बारुण यन्त्र स्टोर कक्षतिर राखिएको श्वेतपत्रमा उल्लेख छ । महानगरपालिका कार्यालयका अनुसार वीरगन्जको विभिन्न स्थानमा सार्वजनिक शौचालयको अभाव भए पनि महानगरपालिकाले प्रयोगमा ल्याउन नसकेको अवस्था छ । वीरगन्ज महानगरपालिकाको बजार क्षेत्रमै अहिले पनि सार्वजनिक शौचालय खोज्नुपर्ने अवस्था भएको वीरगन्जवासी बताउँछन् । 

बजारमा सार्वजनिक शौचालयको अभाव
वीरगन्ज महानगरपालिकाको व्यस्त मानिने बजार क्षेत्रमा सार्वजनिक शौचालयको अभाव देखिएको वीरगन्जवासीले बताएका छन् । वीरगन्ज महानगरपालिकाको मुटु भनिने माईस्थान, आदर्शनगर, महावीर स्थान र घडिअर्वा पोखरीलगायतको क्षेत्रमा सार्वजनिक शौचालयको अभाव रहेको वीरगन्ज– ६ गहवाका अशोक ठाकुरले गुनासो गरे । ‘मुख्य चोकहरूमा सार्वजनिक शौचालय छैनन्, यहाँका मुख्यचोकहरूमा सवारीसाधन र पैदलयात्रुको भिडभाड नै हुन्छ,’ उनले भने ।

वीरगन्ज महानगरपालिकाका स्थानीयलाई महानगरपालिकाको व्यस्त बजार क्षेत्रमा शौच लागेको वेला शौचालय खोज्नुपर्ने अवस्था रहेको उनले बताए । ठाकुरका अनुसार बाहिरबाट आएका पर्यटकलाई शौच लाग्दा बैंक, होटेल, रेस्टुरेन्ट तथा व्यापारिक मलका शौचालय प्रयोग गर्नुपर्ने अवस्था छ । 

शौचालय नहुँदा वीरगन्ज आउने अधिकांश यात्रुले दिनहुँ सास्ती खेप्नुपरेको बारा कलैयाबाट आएका सन्दीप यादवले बताए । सार्वजनिक शौचालय अभावमा सबैभन्दा धेरै महिलाले हैरानी व्यहोर्नुपरेको उनको भनाइ छ । वीरगन्ज महानगरपालिकाले सर्वसाधारणका लागि निःशुल्क सार्वजनिक शौचालय खोल्ने वा निजी क्षेत्रसँग निजी शौचालय खुला गर्नुपर्ने उनले बताए ।