गण्डकी प्रदेशस्तरीय छात्र र छात्रा रनिङ सिल्ड प्रतियोगिता बिहीबार पोखरामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन स्याङ्जाकी जानकी खरालले दुई स्वर्ण हात पारिन् । खरालले छात्रातर्फको आठ सय मिटर र १५ सय मिटर दौडमा पहिलो स्थान रक्षा गरेकी हुन् । उनले आठ सय मिटर दौड पूरा गर्न दुई मिनेट ४१.२ सेकेन्ड तथा १५ मिटर दौडमा पाँच मिनेट २६.४ सेकेन्ड लगाइन् ।
यसैगरी पुरुषतर्फको आठ सय मिटर दौडमा बादल कार्की पहिलो भए । उनले दुई मिनेट ०५.०९ सेकेन्डमा दौड पूरा गरी स्वर्ण जिते । छात्रतर्फको १५ सय मिटर दौडमा पर्वतका कृष्ण परियारले चार मिनेट २२.९ सेकेन्डमा स्वर्ण जिते । एक सय मिटर छात्र दौडमा नवलपुरका ताराप्रसाद थनेतले स्वर्ण हात पारे । उनले १२.२ सेकेन्डमा स्वर्ण जिते ।
छात्रतर्फ सम्पन्न सय मिटर दौडमा तनहुँका प्रेमबहादुर थापा १२.०३ सेकेन्डका साथ पहिलो भए । छात्रा एक सय मिटर दौड स्याङ्जाकी समीक्षा गैरेले १४.६६ सेकेन्डमा पूरा गरी पहिलो स्थान हात पारिन् ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए । पोखरा पर्यटकीयसँगै खेलकुदको समेत अपार सम्भावना रहेको अधिकारीले बताए । ‘राष्ट्रियताको जगेर्ना गर्ने विषय भन्नु नै खेलकुद हो, त्यसैले खेलकुद विकाससँगै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेतर्फ सबैको ध्यान जान आवश्यक छ,’ सभामुख अधिकारीले भने ।
प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका पाँच सय ७४ खेलाडीको सहभागिता छ । खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।