ललितपुरको महालक्ष्मी नगरपालिकाका किसानले मल उपलब्ध गराउन माग गर्दै नगरप्रमुखलाई मागपत्र बुझाएका छन् । यथाशीघ्र मल उपलब्ध गराउन माग गर्दै समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विक, अखिल नेपाल किसान महासंघकका केन्द्रीय कोषाध्यक्ष पिएन अधिकारी तथा कृषक समूह मूल समितिकी अध्यक्ष रिता मानुषीले संयुक्त रूपमा नगरप्रमुख हरिगोविन्द श्रेष्ठलाई लाई मागपत्र बुझाएका हुन् ।
किसानहरू ‘पोखरी, तलाउ, राजकुलो संरक्षण गर’, ‘विचौलिया हिँड्छ कारमा, किसान सधैँ मारमा’, किसान परिचयपत्र लागू गर’ लगायतका प्लेकार्डसहित नगरपालिकाको कार्यालय प्रवेश गरेका थिए ।
मलखादको सहज आपूर्तिको यथाशीघ्र व्यवस्था गर्नुपर्ने, राजकुलो संरक्षण गर्नुपर्ने, कृषि भूमिको खण्डीकरण तत्काल रोक्नुपर्ने, जलाशय क्षेत्रलाई सिँचाइ पोखरी बनाउनुपर्ने, किसानको वर्गीकरण गरी परिचयपत्रको व्यवस्था गर्नुपर्ने, किसान पेन्सनको व्यवस्था गर्नुपर्नेलगायतका माग किसानले राखेका छन् ।