१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २२ बुधबार २o:o२:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

उपत्यकाको पानी परम्पराबारे लेखिएको ‘हिटी प्रणाली’ सार्वजनिक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार २o:o२:oo

सहरी विकासका योजनाकार तथा काठमाडौं उपत्यकाको पानी प्रणालीका अनुसन्धानकर्ता पद्मसुन्दर जोशीद्वारा लिखित ‘हिटी प्रणाली’ नामक किताब सार्वजनिक गरिएको छ। बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उपत्यकाको परिचायक र सभ्यताकै रूपमा रहेको हिटी (ढुंगेधारा) परम्पराबारे लेखिएको किताब सार्वजनिक गरिएको हो।

उक्त पुस्तकको विमोचन ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले गरे। प्राचीन हिटी परम्परा र त्यसको संरक्षणका सम्बन्धमा लेखिएको उक्त किताबले उपत्यकाभित्र रहेका हिटी पहिचान र संरक्षणमा भूमिका खेल्नेछ। लेखक जोशीका अनुसार उक्त किताबमा उपत्यकाभित्र जीवन्त रहेका र लोप भइसकेका हिटी र राजकुलोबारे लेखिएको छ। हाल जीर्ण अवस्थामा रहेका हिटी संरक्षण गर्न र लोप भइसकेका हिटीलाई जीवन्तता दिन यो पुस्तकको महत्व रहेको लेखक जोशीको भनाइ छ।

‘हिटी प्रणाली उपत्यकाको सम्पन्न जल व्यवस्थापन प्रणाली हो, यो किराँत र लिच्छवीकालदेखि नै प्रचलनमा रहेको लिखित प्रमाण (झन्डै १७०० वर्ष पहिले) भेटिएको छ,’ उनले भने, ‘२०४६ को परिवर्तन र खुलापनपछि मौलिक कला कौशल र सभ्यता उपेक्षामा परे, यो किताबले हिटीप्रतिको उपक्षालाई उजागर गरेको छ।’ उनले यो पुस्तक ढुंगेधारा र उपत्यकाको पानी प्रणाली संरक्षणको दस्ताबेजका रूपमा मात्रै नरहेर लोप भएका सम्पदा पहिचान गर्ने स्रोतसमेत भएको बताए। 
उनका अनुसार उपत्यकाभित्र पानी प्रणालीका तीनवटा मार्ग छन्। जसमध्ये ललितपुरको टीकाभैरव, भक्तपुरको वागेश्वरी र काठमाडौंको बुढानीलकण्ठ क्षेत्र पर्छ। यी क्षेत्र हुँदै कुनै ताका काठमाडौंको वसन्तपुर, ललितपुरको पाटन र भक्तपुरको दरबार स्क्वायरसम्म राजकुलाे बगेर आउँथ्यो। राजकुलाको छुट्टै नक्सा थियो। त्यस्तै, सबैजसो हिटीहरूमा पानी आउँथ्यो। पोखरीहरू कलकल पानीले भरिभराउ हुन्थे। जसका कारण उपत्यकामा पानीको सहज अवस्था थियो। तर, पानीको मुख्य स्रोत राजकुलो, ढुंगेधारा र पोखरी मासिएपछि उपत्यकामा खानेपानीको समस्या देखिएको पाइन्छ। यो पुस्तकले खानेपानीको निकास खोज्न र इतिहास संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने लेखक जोशीको भनाइ छ।

उनले लेखेको किताबअनुसार उपत्यकाभित्र ५७३ वटा हिटी रहेको भेटिएको छ। हिटी प्रणालीले उपत्यकाकाभित्र पानीको प्रसार र व्यवस्थापनमा समेत सहयोग गर्ने भए पनि सहरी विकास र जनसंख्या वृद्धिसँगै यो उपेक्षामा परेको पाइन्छ। हाल उपत्यकामा २८० वटा हिटीमा पानी आउँदैन। ४२ वटा हिटी लोप भइसकेका छन् भने ९४ वटाको नाम नै मेटिएको छ। त्यस्तै, करिब २७० वटा हिटी भने जीवित अवस्थामा रहेका छन्। त्यसमध्ये केहीमा मात्रै नियमित पानी आउँछ। 

नगरपालिकाहरूले हिटी संरक्षण गरे पनि पानीको व्यवस्थापन गर्न निकै कठिन भइरहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनले जानकारी दिए। उनका अनुसार ललितपुर महानगरले प्राचीन हिटी र राजकुलो व्युँताउनको लागि बजेट छुट्याए पनि उक्त कार्य निकै चुनौतीपूर्ण देखिएको छ।

धेरैजसो पानीको स्रोत सुकिसकेको र राजकुलाको नक्सासमेत मेटिएकोले त्यसलाई फर्काउन कठिन हुने मेयर महर्जनको भनाइ छ। ‘हामीले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ, हिटी र राजकुलो उपत्यकाको सभ्यता हो, यसलाई संरक्षण गर्नको लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘ललितपुरका ढुंगेधारा र राजकुला व्युँताएरै छाड्छौँ।’