१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असार २२ बुधबार ०६:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निजी कम्पनीले फोहोर व्यवस्थापनको जिम्मा लिएपछि कामबाट निकालिए १४ सफाइ मजदुर

१७ वर्ष बिर्तामोडको फोहोर उठाए, निजी कम्पनीले लिएपछि मजदुर अयोग्य भए

Read Time : > 1 मिनेट
२०७९ असार २२ बुधबार ०६:२३:००

झापा बिर्तामोड–६ का वीरेन्द्र मल्लिकले बिर्तामोडको फोहोर उठाउन लागेको १७ वर्ष भयो । अनारमनी गाविस हुँदादेखि नै उनले बिर्तामोड सहरको फोहोर उठाएका हुन् । बिर्तामोड नगरपालिकाले एक वर्षअघि निराकार सरसफाइ प्रालिलाई फोहोर व्यवस्थापनको जिम्मा दियो । निराकारले मल्लिकलाई करिब एक वर्ष जसोतसो काममा लगायो । तर, गत जेठमा उनलाई कामबाट निकाल्यो । जबकि, नगरपालिका र निराकारको सम्झौतामा नगरपालिकादेखि नै काम गरेका मजदुरलाई खाइपाई आएको सुविधा दिएर काममा निरन्तरता दिनुपर्ने उल्लेख छ ।

तर, उनलाई काम गर्न नसकेको भन्दै कामबाट निराकारले निकाल्यो । ‘१७ वर्षदेखि बिर्तामोडको फोहोरसँग खेलियो । गाविस हुँदादेखि नै काम गरेँ । जिउभर किरैकिरा हुन्थ्यो । अहिले आएर हामीलाई काम गर्न सक्दैनौ भनेर निकालियो,’ वीरेन्द्र भन्छन्, ‘सकेको काम गरेकै थियौँ । तर, अरू मान्छे राख्न बहाना निकाल्यो ।’ १७ वर्ष काम गर्दा उनको पारिश्रमिक १५ हजार रुपैयाँ पुगेको थियो । यतिका वर्ष काम गर्दा पनि नगरपालिकाबाट नियुक्तिपत्र पाएका थिएनन् । बिर्तामोड नगरपालिकाले सफाइ मजदुरको रूपमा दिएको परिचयपत्र भने उनको हातमा छ । ‘यत्रो वर्ष काम गरेर अब त केही हुन्छ कि भन्ने लागेको थियो । तर, फोहोरसँग जुधेको उपहार त कामबाटै निकाल्यो,’ उनले भने । 

वीरेन्द्र मात्र हैन, वर्षौंदेखि बिर्तामोड नगरपालिकाको फोहोर उठाउँदै आएका १४ जनालाई निराकारले जेठ र असारमा कामबाट निकालेको छ । ‘काम गर्न सक्दैनौ भनेर निकाल्यो । तर, यत्रो वर्ष हामीले नै बिर्तामोड सफाइ गर्दा सकेका थियौँ । अहिले कसरी सकेनौँ ?’ सफाइ मजदुर सुरेन्द्र मल्लिक भन्छन्, ‘यत्रो वर्ष मरीमरी काम ग¥यौँ । अहिले हामी काम नलाग्ने भयौँ ।’ कोरोना महामारीले देश नै लकडाउन हुँदा सबै भित्र थिए । सफाइ मजदुरको रूपमा काम गर्ने उनीहरूले अस्पतालको फोहोरसमेत डर नमानी उठाए । ‘सबै डराएर भित्र बसे । हामीले उनीहरूले प्रयोग गरेको फोहोर पनि उठायौँ । हामीलाई कति डर भयो होला ?’ सुरेन्द्र भन्छन्, ‘आज यसको उपहार कामबाट निकालेर दिए ।’

लामो समयदेखि सफाइ मजदुरको रूपमा काम गर्ने उनीहरूको परिवार यही कामबाट चलेको थियो । तर, विभिन्न समयमा विभिन्न बहानामा कामबाट निकालेपछि भने उनीहरूको बिचल्ली भएको छ । अब परिवार कसरी चलाउने भन्ने चिन्ता भएको बिर्तामोड–५, जात्रुबारीका सुन्दर मल्लिक बताउँछन् । उनीहरूले शुक्रबार बिर्तामोड नगरपालिकामा निवेदन दिएका छन् । तर, निवेदन दिने क्रममा पनि दुव्र्यवहार भोग्नुपरेको वीरेन्द्र बताउँछन् । ‘निवेदन लिएर नगरपालिका गएको हाकिमहरूले निवेदन लिनै मानेनन् । हाम्रो कुरा सुन्न पनि मान्दैनन् । हामी पनि यही देशका नागरिक हौँ । 

मजदुर आफैँले काम छाडेको सरसफाइ कम्पनीको दाबी
निराकार सरसफाइ सेवा प्रालिले भने सफाइ मजदुर आफैँ काम छाडेर निस्किएको दाबी गरेको छ । प्रालिका सुपरभाइजर रविन भट्टराईले उनीहरू खुसीले नै काम छाडेको बताए । ‘उनीहरू आफैँले काम छाडेको हो । हामीबाट सबै हिसाब पनि लगिसकेका छन्,’ उनले भने, ‘यो नगरपालिकाले नै हेर्छ ।’

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंले सफाइ मजदुरको निवेदन आएको बताइन् । निवेदनमाथि केही दिनमा छलफल हुने उनको भनाइ छ । निराकारसँग कुरा गर्दा काम नगरेर निकालेको भन्ने प्रतिक्रिया दिएको बताइन् । ‘पहिलाको सबै कुरा हेरेर पहिचान गर्छौं । क–कसलाई के अन्याय परेको छ, के गर्न सकिन्छ, केही दिनमा छलफल गर्छौं,’ उनले भनिन्, ‘यहाँका (पहिला काम गरेका)लाई हटाएर बाहिरका ल्याउने कुरामा हाम्रो समर्थन रहँदैन । यहाँकालाई प्राथमिकता दिनुपर्छ । काम गरेनन् भने किन गरेनन्, काम गर भन्नुपर्छ ।’