
कमल थापा नेतृत्वको राप्रपा नेपालले समान विचारधारा भएका राजनीतिक दल, समूह र व्यक्तिसँग एकता र सहकार्यका लागि पहल गर्ने निर्णय गरेको छ । राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौलाका अनुसार विभिन्न दल, व्यक्ति र समूहसँग वार्ताका लागि उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा प्रवक्ताद्वय सुरेश आचार्य, विक्रम बम र सहमहामन्त्री प्रा. नरप्रसाद थापा सम्मिलित वार्ता समिति गठन भएको छ । उनीहरूलाई कार्य प्रारम्भ गर्न पार्टी सचिवालय बैठकले निर्देशन दिएको बर्तौलाले बताए ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा असन्तुष्ट नेता, दुवै समूहमा नभएका तथा भूमिका खोजिरहेका नेतालाई समेट्न राप्रपाले संस्थागत निर्णय गरेको छ । गणतन्त्रसहितको हिन्दू राष्ट्रको एजेन्डामा सहमत सबै पक्षलाई समेट्ने राप्रपा नेपालको निर्णय छ ।
राप्रपा नेपालका अध्यक्ष थापाले पूर्वमन्त्री दिलनाथ गिरी, राप्रपामा निष्क्रिय देखिएका नेताहरू दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, दमन बस्नेतलगायतसँग यसबीचमा अनौपचारिक छलफल गरेका छन् । थापाले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रसँग पनि छलफल गरेको एक नेताले जानकारी दिए । ‘हामी विचार मिल्ने सबै पक्षसँग संवाद गर्छौँ । सबैलाई समेटेर एउटा शक्ति निर्माण गर्छौँ’ महामन्त्री बर्तौलाले भने । राप्रपा नेपालले यसबीचमा सातै प्रदेशमा अन्तत्र्रिmया सम्पन्न गरेको बर्तौलाले बताए ।
उनका अनुसार ‘जनताको माझमा राप्रपा नेपाल’ अभियानअन्तर्गत ‘वर्तमानका चूनौती र विकल्प’ विषयमा साउनभित्रै महानगर तथा उपमहानगरपालिकास्तरमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेसा र समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने निर्णय भएको छ । आगामी निर्वाचनलाई दृष्टिगत गर्दै काठमाडाैं उपत्यकासहित तराईका जिल्ला, गाउँ तथा नगरपालिकाका वडा गठन, पुनर्गठनका लागि जिम्मेवारी तोकेर स्वयंसेवी प्रतिनिधि खटाउने पनि राप्रपा नेपालको निर्णय छ ।
प्रवक्ता सुरेश आचार्यका अनुसार असार २६ र २७ गते राष्ट्रिय सनातन धर्म महासंघको आयोजनामा हुने दुईदिने “राष्ट्रिय सनातन धर्म संस्कृति सम्मेलन”लाई राप्रपा नेपालले सम्पूर्ण सहयोग गर्ने निर्णय भएको छ । ‘कृषि मलको आपूर्तिमा अवरोध, सिभिल बचत तथा ऋण सहकारी लिमिटेडलगायतका सहकारी ठगीकाण्डबाट हजारौँ निक्षेपकर्ता पीडित भइसक्दासमेत सरकारबाटै पीडकहरूलाई संरक्षण गरिएको र सर्वत्र बढ्दो भ्रष्टाचारबारे आमजनगुनासो बढिरहेकाले सरकारलाई सचेत गराउन राप्रपा नेपाल सम्बद्ध संयोजित संगठनलाई साउन महिनामा काठमाडौंमा विरोध प्रदर्शन गर्न निर्देशन दिने निर्णय गरिएको छ’ आचार्यले भने ।