१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Sunday, 29 September, 2024
२o७९ असार २० सोमबार १o:३८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

विपन्न परिवारलाई आय आर्जनमा सघाउँदै जैमिनी नगरपालिका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १o:३८:oo

१२ वर्षअघि देवी नेपालीका श्रीमान् रोजगारीका लागि परदेश पसे । टन्न पैसा कमाउने र परिवारमा सुखसयल दिने उद्देश्यले मलेसिया गएका भीमबहादुरले न धन कमाउन सके न परिवारलाई सम्झेर घर नै फर्किएका छन् । जिल्लाको जैमिनी नगरपालिका– ३ की ४६ वर्षीया देवी नेपालीको श्रीमानले कमाउलान् र रमाउँला भन्ने सपना सपनामै सीमित भयो ।

१२ वर्षदेखि न श्रीमानको साथ पाएकी छिन् न उनले परिश्रम गरेर कमाएको परिश्रमको फल नै प्राप्त गरेकी छिन् । आफ्नै परिश्रमले परिवार धान्दै आएकी नेपालीले नौ वर्षदेखि श्रीमानको कुनै कमाइ देखेकी छैनन् । ‘श्रीमान् विदेश गएको धेरै वर्ष भयो, नौ वर्षदेखि त उहाँले सुको पठाउनुभएको छैन । कहिलेकाहीँ के छ खबर भनेर फोन मात्र गर्नुहुन्छ,’ नेपालीले विलौना गर्दै भनिन्, ‘हामी विपन्न परिवारमा जन्मियाैँ । पैसा कमाउन गएका उतै हराए, अहिले परिवार धान्न पनि गाह्रो भएको छ, आफ्नो घर पनि छैन, माइती घरमा बस्दै आएकी छु ।’

‘सानी छोरीले त बाउलाई चिन्दिनँ पनि होला,’ उनले भावुक हुँदै थपिन्, ‘तीन छोरी र एक छोरा छन् । दुई छोरी र छोराको विवाहसमेत गरिदिएँ । बिहे गर्दाको ऋण भारी भएको छ न कमाउन गएकाले घरपरिवार सम्झेर पठाए न आफ्नो कमाइ छ ।’ देवीको मात्र हाेइन, जैमिनीका अन्य विपन्न परिवारका महिलाको पीडा पनि यस्तै छ । वैदेशिक रोजगारीका लागि विदेश गएका परिवारका सदस्य उतै भुलेपछि घरमा परिवार धानिदिने कोही छैन । न कुनै रोजगारी छ न वर्षभरि दुःख गरेर खान नै पुग्छ ।

यस्तै, विपन्न परिवारलाई भने यसपटक जैमिनी नगरपालिकाले आर्यआर्जनमा सघाएको छ । नगरपालिकामा सञ्चालन भएको सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नागरिकको परिवार आर्थिक अवस्थालाई हेरेर आर्यआर्जनका कार्यक्रमसँग जोडिएको हो ।

नगरपालिकाले आर्थिक रूपमा अति विपन्न परिवारका नागरिकलाई लक्षित गरेर आर्यआर्जनका कार्यक्रममा सघाउनुका साथै उनीहरूलाई आत्मनिर्भर गराउन आर्थिक सहयोग गरेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताए । नगरपालिकाबाट प्रदान गरिएको रकमले उनीहरले बाख्रापालन, कुखुरापालन गरेर आफूलाई आर्यआर्जनसँग जोड्नेछन् ।

जैमिनी नगरपालिकाभित्र यस वर्ष आठजना महिलाका लागि उनीहरूको अवस्था, आवश्यकता र गर्न चाहेको व्यवसायअनुसार आर्थिक सहयोग गरिएको शर्माले बताए । वैदेशिक रोजगारीमा रहेका नागरिक र अति विपन्न परिवारलाई आर्यआर्जनसँग जोड्न कुखुरापालन, बाख्रापालनका लागि आर्थिक सहयोग गरिएको हो । नगरपालिकाले यस वर्ष देवी नेपालीसहित अन्य सातजना महिलालाई  कुल एक लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिए । 

नेपालीलाई ११ हजार रुपैयाँ प्रदान गरिएको छ भने जैमिनी– १ का शर्मिला जैसीलाई १५ हजार रुपैयाँ, जैमिनी– ५ का सिर्जना विकलाई १४ हजार रुपैयाँ, जैमिनी– २ का राजकुमारी मल्ललाई १४ हजार रुपैयाँ र कल्पना नेपालीलाई १२ हजार रुपैयाँ प्रदान गरिएको हो । त्यसैगरी, जैमिनी नगरपालिका– ६ की रिमा थापालाई १५ हजार रुपैयाँ, जैमिनी नगरपालिका– १ की रुद्रा देवीलाई २० हजार रुपैयाँ र जैमिनी नगरपालिका– ७ की श्यामकुमारी थापालाई १५ हजार रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए । 

नगरपालिकाले प्रदान गरेको रकममा केही थपथाप गरेर आफूले २२ हजार रुपैयाँमा बाख्राका पाठा ल्याएको देवी नेपाली बताउँछन् । ‘नगरले नै दिएको सबै रकमले हामीले सोचेको काम गर्न त पुग्दैन,’ नेपालीले भनिन्, ‘केही थपथाप भएको छ । अहिले लगानी राम्रो गरियो भने भोलि प्रतिफल पनि राम्रै होला, तब मात्र आर्यआर्जन बलियो बन्दै जाला ।’  खरको छानोमुनि बसेकी नेपालीलाई नगरपालिकाले नै जस्तापाता सहयोग गरेर टिनको छानामुनि बस्ने रहर जागेको बताइन् । नगरपालिकाले  सहयोग गरेको रकमले महिलाहरू कसैले कुखुरापालन गरेका छन् भने कसैले बाख्रापालन गरेका छन् । कुखुरा र बाख्राका पाठा  बेचेर नै परिवार धान्ने उनीहरूको सोच रहेको छ । 

आत्मनिर्भर गराउँदै सामी
वैदेशिक रोजगारीमा गएका र आप्रवासीहरूको पहिचान गरेर उनीहरूको समस्या बुझ्ने र मनोपरामर्श गर्नुका साथै अति विपन्न परिवारलाई आयआर्जनसँग जोड्न सामी परियोजनाले समन्वयकारी भूमिका खेल्दै आएको छ । विदेश गएर फर्किएर भौँतारिँदै हिँडेका र उनका परिवारलाई परियोजनाले आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिँदै आएको छ । उनीहरूलाई स्वदेशमै आत्मनिर्भरको बाटो रोज्नका निम्ति परियोजानाले सहयोग गर्दै आएको सामी परियोजनाका मनोसामाजिक परामर्शकर्ता सुनीतादेवी शर्माले जानकारी दिइन् ।

वैदेशिक रोजगारीमा गएर फर्किका र उनका परिवारलाई आफ्नै ठाउँमा आत्मनिर्भर बन्नका लागि प्रेरित गर्नेे आर्थिक रूपमा सबल बनाउन यस्ता कार्यक्रम नियमित सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । जिल्लाको बाग्लुङ नगरपालिकाले पनि नगरभित्रका गरिब, विपन्न, बेसहारालाई व्यवसायसँग जोड्न आर्थिक सहायता प्रदान गरेको थियो ।