१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असार २० सोमबार ०८:३९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रीमतीमाथि दुर्व्यवहार गरेपछि ‘सुपारी’ दिएर हत्या

घटनामा संलग्न भएको आरोपमा तीनजना पक्राउ

Read Time : > 1 मिनेट
२०७९ असार २० सोमबार ०८:३९:००

श्रीमतीमाथि दुर्व्यवहार गरेको निहुँमा झापामा एक भारतीय नागरिकको हत्या भएको खुलेको छ । श्रीमान्को अगाडि श्रीमतीलाई दुर्व्यवहार गरेपछि भारतीय नागरिक ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको खुलेको हो । उनी भारत गुजरातका हुन् ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–७, डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा, उनका ४९ वर्षीय श्रीमान् विनय भनिने बृखबहादुर थापा र सुनसरी बराहाक्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार रहेको प्रहरीले जनाएको छ । एकजना अझै फरार छन् । फरार व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन । आरोपितलाई प्रहरीले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । 

भारतीय नागरिक नरेशकुमारको शव १२ असारमा साँझ ६ बजे अर्जुनधारा–४ स्थित ह्युमपाइपभित्र बोरामा भेटिएको थियो । घटना शंकास्पद भएपछि अनुसन्धानका क्रममा हत्या भएको पाइएको प्रहरीले जनाएको छ । जानुकालाई भारतीय नागरिक नरेशकुमारले दुर्व्यवहार गरेपछि उनका श्रीमान् बृखबहादुर र जानुकाले हत्याको योजना बनाएका थिए । उनको हत्या गरेबापत परियार र पहिचान नखुलाइएका एक व्यक्तिलाई पाँच लाखको ‘सुपारी’ दिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । ‘जानुका, बृखबहादुर थापा र सुरेश तथा फरार एक व्यक्तिबीच हत्या गरेबापत पाँच लाख सुपारी दिने सहमति भएको पाइन्छ,’ उनले भने, ‘हत्यापछि परियारलाई दुई लाख र फरार व्यक्तिलाई एक लाखसमेत दिएको पाइयो ।’ 

सुपारी लिएपछि ९ असारमा उनको हत्या भएको प्रहरीले जनाएको छ । राति जानुका र बृखकै घरमा हत्या गरेर बोरामा पोको पारेर बाइकमा राखी ह्युमपाइपभित्र फ्याँकेको भेटिएको प्रहरीले जनाएको छ । मृतक नरेशकुमार र जानुकाबीच तीन वर्ष लामो चिनजान रहेको प्रहरीले जनाएको छ । ०७६ मंसिरमा कामका लागि दिल्ली गएकी जानुका र उनीबीच भेटघाट र चिनजान रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनले जानुकालाई पानीट्यांकीसम्म पुर्‍याउन आएको प्रहरीले जनाएको छ । त्यसयता पनि उनीहरूबीच निरन्तर सम्पर्क रहेको प्रहरीले जनाएको छ । ०७६ चैतमा जानुकाका छोराछोरीलाई खेलाउन पठाएको पाइएको एसपी पोखरेलले जानकारी दिए । मृतकले जानुकाको घर बनाउन भनेर पाँच लाख रुपैयाँ पनि लिएको प्रहरीले जनाएको छ । 

मृतक नरेशकुमारलाई प्रहरीले ४ वैशाख ०७९ मा अवैध ५९ हजार भारुसहित पक्राउ गरी राजस्व कार्यालयमा बुझाएको पाइएको छ । उनलाई कार्यालयले धरौटीमा छाडेको थियो । तारेख धाउनुपर्ने भएपछि उनी जेठमा जानुकाको घरमा आएर तीन दिन बसेको प्रहरीले जनाएको छ । त्यही समयमा श्रीमान्कै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको प्रहरीले जनाएको छ । उनी ७ असारमा पुनः जानुकाको घरमा आएर बसेको प्रहरीले जनाएको छ ।

९ असारमा इटहरीमा तारेख गएर आएका उनको साँझ हत्या भएको प्रहरीले जनाएको छ । ‘लामो समयदेखि सम्बन्ध देखिन्छ । श्रीमान्को अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले भने । आरोपितलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । आरोपितलाई जिल्ला अदालत झापाबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।