मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १८ शनिबार १४:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छुट्टै राजनीतिक दल घोषणाको तयारीमा स्वतन्त्र उम्मेदवारहरू !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १८ शनिबार १४:२६:००

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरूले छुट्टै राजनीतिक दल घोषणा गर्ने विषयमा छलफल सुरु गरेका छन्। शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेला आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर उनीहरूले छलफल सुरु गरेका हुन्।

दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका सुमन सायमीले बताए। उनले जनतामा दल ठीक छैन भन्ने भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन दल गठन गर्ने विषयमा छलफल सुरु गरिएको बताए।

संसद्मा कानुन निर्माणका लागि समेत बहुमत आवश्यक पर्ने भएकाले छुट्टै दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरूबीच छलफल सुरु गरिएको उनले बताए । सायमीले भने, ‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो । त्यहाँ बहुमतको कदर हुन्छ। एक व्यक्तिले कानुन बनाउन सक्दैन। त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हो। र, त्यसको आवश्यक्ता छ । दल ठीक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ। दलको विकल्प दल नै हो।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रहरूको पनि एउटा दलको आवश्यक्ता छ भन्ने निष्कर्षका साथ आफू सो विशेष भेलामा सहभागी भएको स्वतन्त्र उम्मेदवार रवीन्द्रकुमार श्रेष्ठले बताए । उनले प्रदेश र संघको निर्वाचनमा अनिवार्य दल आवश्यक पर्ने भएकाले भेलाले सो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने उनले स्पष्ट पारे ।

श्रेष्ठले भने, ‘प्रदेश र संघको निर्वाचनमा एउटा दलको आवश्यकता छ, नयाँ विचारसहितको। देशको समस्या यो हो। यसरी निकास दिन सकिन्छ भन्ने विचारसहितका नयाँ दल चाहिन्छ भन्ने मेरो विचार छ। प्रदेश र संघको निर्वाचनमा दल अनिवार्य छ।’ देशभरका स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरू सो विशेष भेलामा सहभागी भएका छन् ।