मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ असार १४ मंगलबार ०७:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादी  केन्द्रीय परिषद् बैठक गठबन्धनमै केन्द्रित

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ असार १४ मंगलबार ०७:१६:००

कांग्रेस र माओवादीको अधीनमा बस्न नहुने, गठबन्धन सम्मानजनक रूपमा हुनुपर्नेमा अधिकांश नेताको जोड

सत्तारूढ दल एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सोमबार सुरु परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा ११ वटा समूह बनाएर छलफल जारी रहेको प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

प्रतिवेदनमाथि प्रदेशगत सात समूह, मोर्चा जनसंगठन र विभाग, उपत्यका सम्पर्क, विदेश सम्पर्क र प्रवास सम्पर्क, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गरी ११ समूह बनाइएको छ । मंगलबार बिहान १० बजेसम्म समूहगत छलफल हुने र त्यसपछि समूह नेताले निष्कर्ष पेस गर्ने तय गरिएको छ । समूह छलफलका क्रममा अधिकांश नेताले गठबन्धन सम्मानजक रूपमा हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको अधीनमा रहनुपरेको गुनासो गर्दै सदस्यहरूले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो गल्ती नदोहोरिने गरी अगाडि बढ्नुपर्ने सुझाव सदस्यहरूको छ ।

‘अब केपी प्रवृत्ति मात्र भनेर पुग्दैन, हामी यसो गर्छौं, हाम्रो बाटो यो हो भन्ने स्पष्ट पार्नुपर्छ,’ सम्पर्क समन्वय समूहमा भएको समूहगत छलफलबारे जानकारी दिँदै नेता केदार सञ्जेलले भने । तत्काल एकीकरण सम्भव नभएको, तर पार्टीहितलाई ध्यानमा राखेर सहकार्य गर्न सकिने विकल्प खुला गर्नुपर्ने विषय सम्पर्क समन्वय समितिको समूहगत छलफलमा उठेको छ । ‘संगठनलाई कसरी नयाँ ढंगले निर्माण गर्ने भन्ने सन्दर्भमै बढी छलफल भयो,’ सञ्जेलले भने, ‘सबै ठाउँमा उम्मेदवार तय गरेर जानुपर्छ । तत्काल एकीकरण कसैसँग पनि सम्भावना देखिँदैन । सहकार्य गरेर जान सक्नुपर्छ ।’

गठबन्धनको अनुभूति नै राम्रोसँग गर्न नपाएको गुनासो
मधेस प्रदेशमा एकीकृत समाजवादीले गठबन्धनको अनुभूति नै राम्रोसँग गर्न नपाएको समूहगत छलफलमा उठेको छ । आगामी दिनमा सम्मानजनक गठबन्धन हुनुपर्ने र त्यसका लागि सबै विकल्प खुला राख्नुपर्ने विषय मधेस प्रदेशको समूहगत छलफलमा उठेको छ । ‘गठबन्धनको विकल्प छैन, तर गठबन्धन चित्तबुझ्दो हुनुपर्छ । स्थानीय तहमा मधेस प्रदेशमा प्रभावकारी गठबन्धन हुन सकेन,’ मधेस प्रदेशको समूह छलफलमा नेतृ विभा कार्कीले भनिन्, ‘अब कार्यगत एकताको विकल्प खुला राखेर अगाडि बढ्नुपर्छ । वाम–लोकतान्त्रिक वा वामगठबन्धन जुन भए पनि सम्मानजनक हुनुपर्छ ।’

बागमती प्रदेशको समूहगत छलफलमा पनि गठबन्धनकै विषय प्रमुखताका साथ उठेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले हेपेको र खुला रूपमा गठबन्धन गर्न नपाएको गुनासो बागमतीको समूहगत छलफलमा प्रतिनिधिहरूले गरेका थिए । छलफलको विषयबारे जानकारी दिँदै नेता गोपाल बस्नेतले भने, ‘अर्काको अधीनमा रहेर निर्वाचनमा जानुहुँदैन । माओवादी र कांग्रेसले हेपेका कारण कतिपय ठाउँमा खुला रूपमा उम्मेदवारी चयन गर्न पनि पाएनौँ । अबको निर्वाचनमा कसैको अधीनमा बसेर जान हुँदैन । एमालेसँग पनि धेरै टाढा हुन हुँदैन भन्ने कुरा पनि आएको छ ।’

मोर्चा संगठनको समूहगत छलफलमा पनि गठबन्धनको विकल्प खुला राख्नुपर्ने विषय उठेको छ । पार्टीलाई सम्मानजक अवस्था हुने गरी गठबन्धन गर्नुपर्ने र अहिले नै गठबन्धन गर्ने भनेर किटानीका साथ अगाडि बढ्न हतार हुने धारणा पनि प्रतिनिधिहरूले राखेका छन् । ‘समाजवादी पार्टीले विद्रोहको पुष्टि गर्दै नवीन विचार अगाडि बढाउनुपर्छ । त्यसको जगमा उभिएर मात्रै हामीले लिएका लक्ष्य, उद्देश्य पूरा हुनेछन् । प्रतिवेदनलाई परिमार्जन गरेर समृद्ध बनाउने विषय समूहगत छलफलमा उठेको छ,’ नेता नरेश शाहीले भने । कर्णाली प्रदेशको समूहगत छलफलमा केही प्रतिनिधिले शासकीय स्वरूप नै परिवर्तन गर्ने गरी अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्छ । स्पष्ट कार्यक्रम, कार्यनीति र रणनीति बनाएर समाजवादको आधार निर्माण गर्ने काममा अगाडि बढ्नुपर्छ,’ कर्णाली प्रदेशको समूहगत छलफलमा उठेका विषयबारे जानकारी दिँदै नेता हस्तबहादुर शाहीले भने । 

‘२० लाख मत ल्याउने गरी जुटौँ’
उद्घाटन सत्रमा अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताए । उनले स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवारी दिएको र नौ लाख मत प्राप्त गरेको बताए । आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्ने गरी सबै ठाउँमा उम्मेदवार उठाउने गरी लाग्न नेपालले निर्देशन दिए ।

‘हामीले स्थानीय निर्वाचनमा करिब २८ प्रतिशत ठाउँमा मात्रै उम्मेदवारी दिएका थियौँ । झन्डै नौ लाख मत प्राप्त गरेका छौँ । २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख मत प्राप्त गर्‍यौँ भने सबै ठाउँमा उम्मेदवारी दिएको भए यसको दोब्बर, तेब्बर मत प्राप्त गर्न सक्थ्यौँ । कम्तीमा २० लाखको सेरोफेरोमा हामीले मत प्राप्त गर्न सक्ने थियौँ,’ उनले भने । समानुपातिक मत बढाउन प्रतिनिधिसभा र प्रदेश सभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा नेपालले जोड दिए ।