१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरमा युरिया मलको अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o३:oo

बर्सेनिझैँ यस वर्ष पनि मकवानपुरमा युरिया मलको अभावले किसान मारमा परेका छन् । मकवानपुरका ५० हजारभन्दा बढी किसान गत फागुनदेखि युरिया मल अभावको मारमा परेका हुन् ।

डिएपी र पोटास मल सहजै पाए पनि बाली उत्पादन बढाउन प्रयोग गरिने अत्यावश्यक युरिया मल नपाउँदा बाली बढाउन किसानलाई समस्या परेको छ । अघिल्ला वर्षमा पनि युरिया मलकै अभावका कारण मकै उत्पादन निकै कम हुँदा घाटा व्यहोर्नुपरेको मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका– १ का किसान शम्भुराम विष्टले बताए । मनहरी– १ चकरीमा आफ्नो १० कट्ठा बारीमा मकै उत्पादन गरिरहेका विष्टले यस वर्ष युरिया मलको अभाव अझ बढी झेल्नुपरेको समस्या सुनाए । 

‘अघिल्ला वर्षहरूमा थोरै मात्रामा भए पनि मल पाइएको थियो,’ उनले भने, ‘यसपटक त थोरै मात्रामा पनि पाइएन, बाली उत्पादन बढाउन सकिएलाजस्तो छैन । घाटामै कृषि गर्नुपर्ने भयो ।’ 

मनहरी– १ का वडाध्यक्ष शिव खनालको समस्या पनि उस्तै छ । खनालले मल नहुँदा आफ्नो ५ कट्ठा बारीमा लगाएको मकै नसप्रिने निश्चित भइसकेको बताए । उनले आफू जनप्रतिनिधि भएकोले जनतालाई सहज मल दिलाउन नसक्दा जवाफविहीन भएको प्रतिक्रिया दिए । ‘म आफैँ जनताको काम गर्न भर्खर दोस्रोपटक वडाध्यक्ष जितेको छु । तर, मल उपलब्ध गराउने पहुँच मेरो पनि छैन । आफ्नो गुनासो सुनाउन पनि अप्ठ्यारो लाग्छ,’ उनले भने । 

मनहरि मात्र होइन, मकवानपुरको उब्जनी क्षेत्र हेटौँडा उपमहानगरपालिकाको हटिया, हर्नामाडी, चौघडा भीमफेदी गाउँपालिकाको इपा, कोगटे, मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ, थाहा नगरपालिकाका किसानको अवस्था पनि उस्तै छ । उनीहरू पनि मल अभावका कारण मकै, चैतेधान यस वर्ष पनि उत्पादनमा निकै कमी आउने चिन्तामा छन् ।

युरिया एक हजार टन आवश्यक

मकवानपुरमा चालू आर्थिक वर्ष ०७८–७९ को लागि युरिया मल एक हजार टन आवश्यक छ । कृषि सामग्री कम्पनी लिमिटेड हेटौँडा कार्यालयका अनुसार चालू आवको फागुन मसान्तसम्म एक हजार एक सय ५१ टन वितरण गरिएको युरिया किसानका लागि न्यूनतम माग पूरा गर्नका लागि पनि अझै एक हजार टन आवश्यक परेको हो । कार्यालयका प्रमुख बोलबहादुर पन्तले युरियाको अभावमा किसानले डिएपी र पोटास प्रयोग गरिरहेको बताए ।

उनले चालू आवको फागुन मसान्तसम्म मकवानपुरमा डिएपी चार सय २१ र पोटास १४ टन खपत भइसकेको जानकारी दिए । ‘डिएपी र पोटास पनि युरियाको अभावमा प्रयोग गरिन्छ, तर यो युरियाजति प्रभावकारी नहुने भएकाले किसानले बढी खपत गर्दैनन्,’ उनले भने । कार्यालयमा हाल ५० टन डिएपी र पोटास १० टन मौज्दात छ ।

मकवानपुरमा कम्पनीको कार्यालय, सहकारीहरू र कम्पनीको बिक्रेतामार्फत मल वितरण गरिँदै आएको छ । कार्यालय प्रमुख पन्तले असार मसान्तभित्र मकवानपुरमा अभावलाई तत्काल टार्न सकिने गरी युरिया आउने दाबी गरे ।
 

ad
ad