मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ असार ६ सोमबार ०६:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गाउँ रित्याउँदै सीमा क्षेत्रका झन्डै तीन सय मानिस अमेरिका

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ असार ६ सोमबार ०६:३६:००

मित्रराष्ट्र चीनको सीमामा पर्ने अधिकांश स्थानीय गाउँ छाडेर अमेरिका गएका छन् । भोटेकोसी गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थानीय अमेरिका गएका हुन् । बोक्चेन, छेताङ, टासीथाङ, यार्मासिङ, नारायणथान, फुल्पिङकट्टी र सेलाङकट्टीका स्थानीय अमेरिका गएको वडा नम्बर ३ का अध्यक्ष निमासोना शेर्पाले बताए । सात वर्षअघिको भूकम्पले घरगोठ भत्किए । व्यापार गरेर जीवन धान्ने तातोपानी नाका बन्द भयो । नाका बन्दको असरले सीमावासी तितरबितर भए । सीमा गाउँमा खेतीयोग्य जमिन छैन ।

उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोलेपोके व्यापार हो । बोक्चेन र छेताङमा एक सय २० घर छन् । घरैपिच्छे मानिस अमेरिका पुगेका छन् । ०७२ को भूकम्पअघि सीमाका केही मानिस मात्रै अमेरिका गएका थिए । उनीहरू धेरैजसो रोजगारी र केही लामा विद्या पढ्न गएका हुन् ।

गोरेटो बाटोसमेत नभएको बोक्चेन र छेताङमा स्थानीय सरकारको पहिलो पाँचवर्षे कार्यकालमा एकजना जनप्रतिनिधि पनि पुगेनन् । बोक्चेननिवासी वडाध्यक्ष शेर्पाले पहिला गाउँघर र चौँरीगोठ पुग्ने राम्रो गोरेटो बाटो तयार पार्न लागेका छन् । नाका बन्द भएयता यहाँका स्थानीयले पशुपालन सुरु गरेका छन् । तर, यतिले जीवन निर्वाह नहुने भएकाले बिदेसिन बाध्य भएको उनीहरू बताउँछन् ।

वडाध्यक्ष शेर्पाका अनुसार सीमा क्षेत्रका झन्डै तीन सय मानिस अमेरिका पुगेका छन् । त्यतिकै संख्यामा खाडी मुलुक पुगेका छन् । अहिले बोक्चेन, छेताङ, यार्मासिङ र टासिथाङ गाउँका घरैपिच्छे एकजना अमेरिकामा बस्छन् । अमेरिका बस्नेले राम्रो आम्दानी गर्ने भएकाले परिवारका धेरैजसो काठमाडौंमा बस्छन् । बोक्चेन गाउँका अधिकांश मानिस अमेरिका गएकाले गाउँ नै सुनसान भएको छ । भूकम्पअघि अमेरिका गएका दाजुभाइ र आफन्तले नाका बन्दपछि धेरैलाई अमेरिकामा डाकेर रोजगारी दिलाएका छन् । 

दाजुभाउजू र भतिजसहित परिवारका चार सदस्य अमेरिकामा रहेको जानकारी दिँदै टासिथाङका ग्याल्साङ शेर्पाले सीमा क्षेत्रका घरलौरी मानिस अमेरिकामा रहेको बताए । ‘नाका बन्द हुनुभन्दा पहिलादेखि नै सीमाका शेर्पा समुदाय धेरैजसो अमेरिकामा छन्,’ उनले भने, ‘भूकम्पपछि अमेरिकामा नभई खाडी मुलुकमा जानेचाहिँ बढेका छन् ।’ व्यापार सुकेको र खेतीकिसानी पनि राम्रो नभएकाले सीमाका बासिन्दा बिदेसिएको उनले सुनाए ।

आफन्त धेरै अमेरिका बस्ने भएकाले सीमाका स्थानीयले चौँरीपालन गरेर उत्पादन गरेको छुर्पी र घिउ पनि अमेरिका पठाउने गरेका छन् । नाकामा निर्यात खुला हुँदा चीनको खासा र न्यालममा बिक्री हुने चौँरीगाईका चिजजन्य सामग्री डिएचएल कार्गोमार्फत अमेरिका पठाउने गरिएको छ ।