१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ २९ आइतबार o७:o९:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारत : भूभागमा ठूलो, नेतृत्वमा सानो देश

छिमेकीसितको स्वार्थपूर्ण चलखेलले दक्षिण एसियामा भारतलाई नेतृत्वमा होइन, भूभागमा मात्रै ठूलो बनाएको छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार o७:o९:oo

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बन्दा छिमेकी देशहरूमा भारतसँगको सम्बन्ध नयाँ दिशातर्फ जान सक्ने आस पलाएको थियो । त्यसको आधार मोदीले सुरुमै छिमेकी देशहरूलाई दिएको प्राथमिकताले तय गरेको थियो । शपथग्रहणमा सार्क मुलुकका प्रधानमन्त्रीहरूलाई निमन्त्रणा दिनेदेखि वर्षौँदेखि भारतबाट नभएको उच्चस्तरीय भ्रमण तत्काल गरेर मोदीले आफ्नो छिमेकको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्थ्यो । त्यसले दक्षिण एसियामा भारतले आफूलाई नेतृत्वको दाबेदारमा बलियो बन्दै गएको सन्देश दिन पनि थालेको थियो । 

तर, त्यो सन्देश मोदीको पपुलर हुने चाहनाको प्रपोगान्डाको अंग मात्रै थियो भन्ने त्यतिवेला पुष्टि भयो, जब उनले नेपालमा आफ्नो रुचिमा संविधान जारी नभएकामा नाकाबन्दी लगाइदिए । पछिल्लो समयमा मोदीको नेतृत्वमा यस क्षेत्रमा भारतको सकारात्मक प्रभाव बढ्नुभन्दा हस्तक्षेप र बेवास्ताको प्रभुत्व बढ्दै गएको छ । नेपाल–भारत सम्बन्ध सुधार गर्न दुवै सरकारले गठन गरेको प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) को प्रतिवेदनलाई भारतले पूरै अस्वीकार गरेर आउन सक्ने परिवर्तनको बाटो बन्द गरिदिएको छ । विश्वमा सबैभन्दा नजिकको सम्बन्ध रहेको भनिएको नेपालप्रतिको सम्बन्धमा गम्भीर नहुनुमा भारतको बदलिन नसकेको विदेश नीति नै मुख्य कारण हो । 

आइके गुजरालअघि र पछिका कुनै पनि शासकहरू आफ्ना छिमेकीहरूसँग किन सम्बन्ध सुधार्न इमानदार प्रयास गर्दैनन् भन्नेमा केही कारण छन् । भारतका लागि राजप्रतिनिधि रहिसकेका बेलायतका पूर्वविदेश सचिव जर्ज कर्जन भारतलाई चुनौतीरहित शक्ति बनाउनुपर्ने वकालत गर्थे । उनीहरूजस्तै बेलायतीहरूको प्रभावमा नेहरूकालमा बनेको भारतको विदेश नीति झनै कठोर बन्दै गइरहेको छ ।

आफ्नो प्रभावलाई मजबुत बनाउन आफ्ना पूर्ववर्ती सरकारहरू जस्तै मोदी प्रशासनले पनि छिमेक नीतिमा म्याकियाभेलीको ‘प्यारो हुनुभन्दा डराउने हुनु बढी सुरक्षित हुन्छ’ भन्ने सिद्धान्तलाई निरन्तरता दिएको छ । शासक मात्र होइन, भारतका नीति–निर्माता र टिप्पणीकार पनि छिमेकीलाई तर्साएर चलाइरहेको भारतको विदेश नीतिमा तात्‍िवक भिन्न मत राख्दैनन् । नेपालमा भारतले गरेको नाकाबन्दी गलत भन्नुभन्दा त्यसले चीन नजिकिएकामा रोक्नुपर्ने उनीहरूको तर्क बढी थियो । भारतीय नीति–निर्माताहरू र टिप्पणीकारहरू दक्षिण एसियाली राष्ट्रहरू भारतसँगको सम्बन्धमा साना राष्ट्र सिन्ड्रोमबाट ग्रसित रहेको तर्क गर्छन् । यी राष्ट्रहरूमा घरेलु उपभोगका लागि भारतलाई खतराका रूपमा प्रस्तुत गरेर राजनीतीकरण गर्ने प्रवृत्ति रहेको उनीहरूको आरोप छ । 

तर, यी आरोप प्रमुख शक्तिका रूपमा छिमेकी राष्ट्रहरूसँग समानता, पारस्परिक विश्वास र सहयोगका आधारमा सम्बन्ध सुदृढ पार्न भारतको असफलतालाई ढाकछोप गर्न अघि सारिएको मात्रै हो । भारतीय विश्लेषकहरूले भनेझैँ आफ्ना साना छिमेकीको राजनीतिमा भारतको महत्‍वपूर्ण स्थान रहँदै आएको छ । तर, यो भारतले साना देशप्रति राख्दै आएको रुखो व्यवहारको प्रतिक्रिया हो । आज पनि आफ्नो स्वार्थ पूरा गर्न भारतले कुनै पनि समयमा आफ्नो सामाजिक, आर्थिक र राजनीतिक मामलामा हस्तक्षेप गर्न सक्छ भन्नेमा यी राष्ट्रहरू सशंकित छन् । अर्कातर्फ भारतीय सत्तासीन दलमा व्याप्त धार्मिक कट्टरता र असहिष्णुताले भारतको क्षेत्रीय प्रभुत्वको खतरालाई उदांगो पारेको छ ।

पक्कै पनि दक्षिण एसियामा भारतको असमानान्तर सैन्य शक्ति र भूरणनीतिक अवस्थितिले यसलाई क्षेत्रीय शक्ति बनाएको छ । तर, शक्ति स्वतः नेतृत्वमा रूपान्तरित हुने होइन । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक ह्याप्पिमोन ज्याकब सधैँ आफ्नै स्वार्थमा तल्लीन भारतले छिमेकसँग मिलेर जान र सहकार्य गर्न कहिल्यै रुचि नदेखाएकोे बताउँछन् । हुनत सबै दक्षिण एसियाली राष्ट्रहरूलाई जोड्ने एक मात्र क्षेत्रीय सहयोग संगठन सार्क भारतको प्राथमिकतामा कहिल्यै परेन । पाकिस्तानलाई क्षेत्रीय सहयोगमा बाधक रहेको आरोप लगाउँदै आएको भारतले सार्कभित्रै स्थापना गरिएकोे उपक्षेत्रीय सहयोग संयन्त्रलाई पनि वास्ता नगर्नुले भारतको सार्कप्रतिको उदासीनता स्पष्ट हुन्छ ।

छिमेकीमाझ आफ्नो प्रभावलाई मजबुत बनाउन पूर्ववर्ती सरकारजस्तै मोदी प्रशासनले पनि छिमेक नीतिमा म्याकियाभेलीको ‘प्यारो हुनुभन्दा डराउने हुनु बढी सुरक्षित हुन्छ’ भन्ने सिद्धान्तलाई निरन्तरता दिएको छ

४० वर्षदेखि समय, स्रोत र साधन लगानी भएको सार्कलाई बेवास्ता गर्दै मोदी प्रशासनले पाकिस्तानरहित बिमस्टेक परियोजनालाई अघि सारेको छ । तर, यसलाई क्षेत्रीय आर्थिक र सामाजिक विकासका लागि केन्द्रित गर्नुको साटो निहित स्वार्थपूर्तिका लागि यसको ब्यानरमा संयुक्त सैन्य अभ्यासका लागि भारतको बढी चासो रहेको देखिन्छ । आर्थिक रूपान्तरणका लागि क्षेत्रीय कनेक्टिभिटीको महत्‍वबारे घन्टौँ प्रवचन दिने मोदी न त नेपाललाई हवाई मार्ग उपलब्ध गराउन तयार हुन्छन्, न त छिमेकी राष्ट्रहरूमा समुद्री बन्दरगाह अथवा अन्य पूर्वाधार निर्माण गर्न सहयोग गर्न चाहन्छन् । दक्षिण एसियाको अन्तरक्षेत्रीय व्यापार पाँच प्रतिशतभन्दा कम छ, जुन विश्वकै सबैभन्दा कममध्ये एक हो । छिमेकी राष्ट्रहरूको भारत अथवा भारतीय बजारमाथि निर्भरता घट्ने चिन्ताले ग्रसित छ भारतीय प्रशासन । दक्षिण एसियामा सबैभन्दा ठूलो बजार भारतमा अन्य छिमेकी देशलाई पहुँच नदिने, तर अर्काे छिमेकी देश चीनले लिएको प्रयासमा ईष्र्या गर्ने भारतीय स्वभाव छ । साना र कमजोर देशहरू आफ्नो हितमा काम गर्न नचाहने शक्ति देशलाई नेतृत्व मान्न बाध्य हुँदैनन् । 

भारतीय सुरक्षा विश्लेषक प्रवीण स्वामीका अनुसार विदेशमन्त्री जयशंकरको भुटान भ्रमणका क्रममा भुटानी राजाले उनलाई चीनसँगको भारतको द्वन्द्वमा भुटानलाई अलग राख्न नयाँ पुस्ताबाट बढ्दो दबाब रहेको बताएका थिए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले केही समयअघि चीनलाई बंगलादेशको सबैभन्दा भरपर्दो मित्र भनेर वर्णन गर्दै भारतलाई चीनसँगको बंगलादेशको सम्बन्धलाई लिएर चिन्तित हुन आवश्यक नरहेको बताएकी थिइन् । श्रीलंका र नेपालको राजनीतिमा पनि भारतले जस्तोसुकै चलखेल गरे पनि यहाँका सरकारले चीन र भारतसँग समान दूरीको सम्बन्ध स्थापित गर्न बढ़दो जनदबाब खेप्नुपर्ने निश्चित छ । अधिक लाभ उठाउन सक्ने र आफ्नो प्रभाव बढाउन सक्ने अन्तर्राष्ट्रिय प्रणाली हाम्रो जस्तो राष्ट्रका लागि सबैभन्दा उत्तम हुन्छ । यद्यपि, एकध्रुवीय क्षेत्रीय प्रणाली जहाँ केवल एउटा शक्तिराष्ट्रले पूरै क्षेत्रलाई आफ्नो अधीनमा राखेको हुन्छ, त्यहाँ साना राष्ट्रहरू ध्रुव शक्तिको प्रभावमा रहने भूराजनीतिक बाध्यता रहन्छ ।

दुई ध्रुवीय वा बहुध्रुवीय क्षेत्रीय प्रणालीले साना राष्ट्रलाई अधिक प्रभाव र स्वतन्त्रताको प्रयोग गर्न र अनुकूलताअनुसार प्रतिरोधात्मक अथवा तटस्थताको रणनीति अख्तियार गर्न अवसर प्रदान गर्छ । यसलाई भारतले नबुझ्दा मोदीको छिमेक नीति साउथ ब्लकको करिडोरमा घुम्ने जर्ज कर्जनको आत्माको सिकार बनेको छ । जसले साउथ एसियामा भारतलाई नेतृत्वमा होइन, भूभागमा मात्रै ठूलो बनाएको छ ।