१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २९ आइतबार
  • Monday, 01 July, 2024
कोटेश्वरको मुख्य सडकमा फालिएको फोहोर । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o७९ जेठ २९ आइतबार o५:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंमा थुप्रिएको सबै फोहोर उठाउन अझै १५ दिन लाग्ने

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २९ आइतबार o५:५१:oo

शनिबार २६३ कन्टेनर फोहोर बन्चरेडाँडा पुर्‍याइयो, पूर्वाधार नबनेसम्म रातिमा फोहोर नफालिने 

बन्चरेडाँडाका स्थानीय र सरोकारवाला निकायबीच सहमतिलगत्तै शुक्रबारदेखि उपत्यकाको फोहोर उठाउन सुरु भए पनि थुप्रिएको सबै फोहोर सफा गर्न अझै १५ अझै दिन लाग्ने भएको छ । महानगरका अनुसार काठमाडौंका सडकमा अहिले झन्डै १५ हजार मेट्रिकटन फोहोर छ । 

शुक्रबारदेखि अवरोध हटेको र पानी नपरेकाले फोहोर व्यवस्थापन सहज भएको महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । १४ जेठदेखि स्थानीयले फोहोरमा अवरोध पुर्‍याएपछि उपत्यकाको फोहोर सडक किनार र चोक–चोकमा थुप्रिएको छ । 

फोहोर फाल्न कम्तीमा १५ दिन लाग्ने अनुमान छ । ‘फोहोर उठाउन कठिन छ, यहाँबाट गएका कन्टेनरले सीधै फोहोर खन्याएर आउन मिल्दैन, त्यहाँ व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ वातावरण विभाग प्रमुख राईले भनिन्, ‘त्यहाँ फोहोर फाल्दा केमिकलसहित माटो क्यापिङ पनि गर्नुपर्छ ।’ उनले नयाँ ल्यान्डफिल साइडमा नयाँ तरिकाले फोहोर व्यवस्थापन गरिएकाले केही ढिलो हुने बताइन् । 

शनिबार दुई सय ६३ कन्टेनर फोहोर बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ । १८ बुँदे सहमतिपछि शुक्रबार बिहानदेखि उपत्यकाको फोहोर उठाउन सुरु गरिएको थियो । शुक्रबार एक सय ५४ कन्टेनर फोहोर विसर्जन गरिएको थियो ।

तत्काल रातीमा फोहोर नफालिने
तीन दिनअघि स्थानीयसँग रातिमा फोहोर फाल्ने सहमति भए पनि तत्काल कार्यान्वयन नहुने भएको छ । रातिमा फोहोर फाल्न चाहिने पूर्वाधार बनिनसकेकाले तत्काल रातिमा फोहोर बञ्चरेडाँडामा नपुर्‍याइने महानगरले जनाएको छ । 

‘रातिमा फोहोर फाल्न दुई लेनको सडक बन्नुपर्छ, सडकमा बत्ती जडान गर्नुपर्छ, त्यस्तै फोहोर व्यवस्थापन गर्ने पर्याप्त मेसिन चाहिन्छ,’ वातावरण विभाग प्रमुख राईले भनिन्, ‘यी सबै संरचना बनेपछि मात्रै रातिमा फोहोर व्यवस्थापन गर्न सम्भव हुन्छ ।’

चालकले दिएनन् ठूला गाडी प्रयोग गर्न 
उपत्यकामा फोहोर धेरै थुप्रिपछि यसको व्यवस्थापन चाँडो गर्न महानगरले ठूलो क्षमताको गाडी प्रयोग गर्ने योजना बनाएको थियो । तर, पहिलेदेखि नै फोहोर फाल्दै आएका चालकले विरोध गरेपछि महानगर पछि हटेको छ ।

महानगरले फोहोरको छिटो व्यवस्थापन गर्न दशचक्के गाडी प्रयोेग गर्न खोजेको, तर चालकले नै विरोध गरेपछि प्रयोग गर्न नसकिएको विभाग प्रमुख राईले बताइन् । उनका अनुसार फोहोर बोक्ने गाडीले ट्रिपका आधारमा पैसा पाउँछन् । उनीहरूले प्रतिट्रिप आठ हजार लिन्छन् । महानगरसँग अहिले १६ वटा कन्टेनर छन् । यसबाहेक केही कन्टेनर भाडाका छन् । ठूला ट्रकले फोहोर बोक्दा आफूहरूको ट्रिप घट्ने भन्दै चालकले विरोध गरेका हुन् ।

मेयर साहले फोहोर व्यवस्थापनबारे वडाध्यक्षसँग मागे सहयोग 

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले फोहोर व्यवस्थापनबारे वडाध्यक्षसँग शनिबार छलफल गरेका छन् । उनले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालसँग फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रहसमेत गरेका छन् । वडाध्यक्ष रिजालले मेयरका एजेन्डामा साथ दिने बताउँदै सहकार्य गर्ने बताएको महानगरका प्रवक्ता महेश काफ्लेले बताए । 

‘फोहोर व्यवस्थापनका लागि मेयर र वडाध्यक्षबीच छलफल भएको हो,’ उनले भने, ‘वडाध्यक्षहरूको पनि साथ रहेकाले अब समस्या दोहोरिन्न भन्ने अनुमान गर्न सकिन्छ ।’ 

त्यस्तै, शनिबार मेयर साहले क्षेत्रपाटी अस्पतालको अवलोकनसमेत गरेका छन् । उनले विपन्नलाई सहुलियतमा उपचार गर्न अस्पताल प्रशासनलाई आग्रह गरे । महानगरका तर्फबाट अस्पताल सुधारका लागि आवश्यक सहयोग हुने प्रतिबद्धतासमेत उनले जनाएका छन् । 

अब पुरानो कथा दोहोरिन्न : रामकुमारी झाँक्री, सहरी विकासमन्त्री 
हिजो फोहोरमा ज्यादती भयो । कसैले ठूलै राजनीति गरे । त्यो अध्याय अब समाप्त पार्न चाहन्छौँ । सरोकारवाला सबै निकायबीच बन्चरेडाँडाको अवरोध हटाउने गरी सम्झौता भएको छ । स्थानीयसँग कागजी रूपमा प्रतिबद्धता गरिएको छ । अब कार्र्यान्वयन गर्ने विषय नै प्रमुख हो । अब एउटै गाइडलाइनभित्र बसेर फोहोर व्यवस्थापन गर्नुपर्छ । अब पुरानो कथा दोहोरिन्न । 

१५ दिनमा फोहोर उठिसक्छ : सरिता राई, वातावरण  विभाग प्रमुख, काठमाडौं महानगर 
जेनतेन फोहोर उठ्न थालेको छ । यो नै सबैभन्दा खुसीको विषय हो । यसैगरी नियमित फोहोर उठेमा १५ दिनमा काठमाडौं सफा हुन्छ । तर, ठेकेदारले सडक कालोपत्रे नगरेको निहुँमा फेरि पासाङ–ल्हामु क्षेत्रका स्थानीयले गाडी रोक्लान् भन्ने डर छ ।

ad
ad
ad
ad