१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २८ शनिबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

उद्योगीका समस्या समाधान गर्न अर्थमन्त्री सहमत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार o८:५६:oo

अर्थमन्त्री जनार्दन शर्मा स्यानिटरी प्याड, घिउ–तेल र एमएस वायरमा आधारित उद्योगीहरूको समस्या समाधान गर्न सहमत भएका छन् । शुक्रबार अर्थ मन्त्रालय पुगेका उद्योगीहरूसँगको भेटमा उनले संसद्बाट बजेट पारित भएको अर्को दिनदेखि नै उद्योगका समस्या समाधान गर्न गृहकार्य गर्ने आश्वासन दिएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा गरिएको परिवर्तित कर संरचनाले देशभित्र सञ्चालित वायर, घिउतेल र स्यानिटरी प्याड उद्योग पूर्ण रूपमा बन्द हुने अवस्था आएको भन्दै पूर्वका व्यवसायी आन्दोलनमै उत्रिएका थिए । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले स्वदेशी उद्योग बचाउन आग्रह गर्दै अर्थमन्त्री शर्मालाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । भेटमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, हुलास वायरकी सञ्चालिका युक्ति गोल्छालगायत उद्योगीहरूले बजेटको नयाँ कर संरचनाले तीन थरी उद्योग संकटमा पुगेको बताउँदै देशभित्रका उद्योग बचाउन अर्थमन्त्री शर्मालाई आग्रह गरे । 

अर्थमन्त्री शर्माले बजेट पारित भएको भोलिपल्टबाटै उद्योगीका समस्या सम्बोधन गर्न अगाडि बढ्ने आश्वासन दिएको वार्तामा सहभागी उद्योग संगठन मोरङका अध्यक्ष प्याकुरेलले बताए । ‘अर्थमन्त्रीले हामीले उठाएका मागहरू जायज रहेको बताउँदै तीन प्रकारकै उद्योगको समस्या समाधान गर्ने भन्नुभएको छ,’ उनले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘बजेट बनाउने वेलामा आवश्यक ध्यान र अध्ययन नपुग्दा यस्तो भएको हो, हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्ने होइन ।’

अर्थमन्त्री शर्माले बजेटमार्फत स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर देशभित्रै औद्योगिकीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको दाबी गरे । उनले स्यानिटरी प्याडमा दिएको ९० प्रतिशत छुटले स्वदेशी उद्योगलाई समस्या भएको पाए समाधान निकाल्न तयार रहेको बताए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सिर्जना गर्नेलाई बजेटले सम्बोधन गरेको उनको भनाइ थियो । 

भेटमा उद्योग संगठन मोरङका अध्यक्ष नवीन रिजालले वायर, घिउतेल तथा स्यानिटरी उद्योगमा बजेटले पारेको प्रभावका विषयमा जानकारी गराएका थिए । उनले सरकारी नीति आउँदा आत्मसात् गर्ने वातावरण बनाइदिन अर्थमन्त्रीसँग आग्रह गरे ।

गलत नीतिहरू सच्याऊ : महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वदेशी उद्योगविपरीतका नीतिहरू तत्काल सच्याउन सरकारसँग आग्रह गरेको छ । महासंघले आगामी बजेटमा भन्सार महसुल, अन्तःशुल्कलगायत राजस्वका दरमा गरिएको प्रावधानले स्वदेशी उद्योग धराशायी हुने अवस्था आउन नदिन अर्थमन्त्रीलाई सेचत बनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विनापरामर्श र उद्यमी–व्यवसायीको राय–सुझावविपरीत एकतर्फी रूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले एमएस वायरमा आधारित उद्योग, वनस्पति घिउतेल उद्योग र स्यानिटरी प्याड उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । 

समस्या सम्बोधन गर : परिसंघ
नेपाल उद्योग परिसंघले पनि आगमी बजेटमा गरिएको राजस्व संरचनाले वायर रड, घिउतेल, स्यानिटरी प्याड उद्योगमा परेको असर तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । परिसंघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको राजस्व नीतिका कारण तीन प्रकारका स्वदेशी उद्योगहरू प्रत्यक्ष मारमा परेको बताएको छ । स्वदेशी उद्योगहरूलाई धराशायी हुनबाट तत्काल जोगाउन वायर रडको आयातमा कायम गरिएको भन्सारमा ९० प्रतिशत छुट गर्न परिसंघले आग्रह गरेको छ । यस्तै, तयारी सामान र कच्चा पदार्थको भन्सार एक तह कम गर्न र कच्चा खानेतेलको आयातमा भन्सार महसुल शून्य प्रतिशत र भ्याटमा ५० प्रतिशत छुट दिन परिसंघको माग छ । स्यानिटरी प्याड देशभित्रै न्यूनतम मूल्यमा उत्पादन हुने वातावरण मिलाउन पनि आग्रह गरिएको छ । 

ad
ad
ad
ad