मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २४ मंगलबार o८:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिपक्षीय प्रतिबद्धतापछि काठमाडौंको फोहोर उठाउन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार o८:o४:oo

जनप्रतिनिधिको रोहवर, प्रमुख प्रशासकीयस्तरीय प्रतिबद्धता 

आजबाट काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । स्थानीयहरूले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र साामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य रोकेका थिए । सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, महानगरका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोलको रोहवरमा त्रिपक्षीय प्रतिबद्धतामा हस्ताक्षर भएको थियो । हस्ताक्षरमा बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका तर्फबाट निर्देशक रवीन्द्र बाेहरा, काठमाडौं महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र धुनिबेँसी नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलकाे सहभागिता रहेकाे थियाे । 

त्रिपक्षीय प्रतिबद्धताअनुसार सहरी विकास मन्त्रालयले प्रभावित क्षेत्रका पाँचवटा क्षेत्रका लागि आ. व. ०७९/८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि एक करोड ७० लाख विनियोजन गरेको छ । 

जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी हुनेछ । यही प्रतिवेदनका आधारमा स्थानीयका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिनेछ । प्रतिवेदनकै आधारमा ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु हुनेछ । 

काठमाडौं महानगरले एक हप्ताभित्र धुनिबेँसी नगरको वडा १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयवासीको स्वास्थ्य बिमा गर्नेछ । यसमा नेपाल स्वास्थ्य बिमा बोर्डको विधि र दोहोरो नपर्ने गरी बिमा हुनेछ । यी वडाहरूलाई यसअघि उपलब्ध गराइँदै आएको पूर्वाधार विकास अनुदानलाई निरन्तरता दिइनेछ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रतिवेदनका आधारमा ल्यान्डफिल साइटको दुर्गन्ध हटाउन १० दिनभित्रमा रासायनिक वा जैविक उपचार विधि अवलम्बन गरिनेछ । 

अहिले घरबाहिर निकालिएको फोहोर वर्गीकरण सम्भव नभएकाले सडकमा थुप्रिएको फोहोर यथास्थितिमा उठाइनेछ । यो क्रम बढीमा असार मसान्तसम्म चल्नेछ । यसलाई क्रमशः वर्गीकरणको विधि अवलम्बन गरिनेछ । साइटमा पुर्‍याइएको फोहोरलाई माटोले छोपेर व्यवस्थापन गरिनेछ । 

साउन १ गतेबाट स्रोतमा वर्गीकरण गरिएको फोहोर संकलन तथा ढुवानी कार्य हुनेछ । प्रतिबद्धताअनुसार आजबाट उपयुक्त विधिबाट साइटमा फोहोर व्यवस्थापनका लागि धुनिबेँसी नगर र ककनी गाउँपालिकाले सहयोग र सहजीकरण गर्नेछन् । 

प्रतिबद्धता हस्ताक्षर अवसरमा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, धुनिबेँसी नगरका प्रमुख बालकृष्ण आचार्य, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष श्री सुमन तामाङ, उपाध्यक्ष मिठुमाया तामाङ सहभागी थिए । यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी, ककनी गाउँपालिका वडा ३ का अध्यक्ष घननाथ बजगाईंलगायत जनप्रतिनिधि तथा पदाधिकारीकाे पनि सहभागिता थियाे ।  उनीहरूको रोहवरमा हस्ताक्षर भएको हो । 

साइटमा फोहोर लैजान नसकेपछि टेकुका स्थानीयले ट्रान्सफर स्टेसन बन्द गराएका थिए । नियमित फोहोर ढुवानी हुने भएपछि मात्र खोल्ने उनीहरूले भन्दै आएका थिए । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार आजैबाट फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य थालनी भएकाे छ ।