१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ जेठ २१ शनिबार ०६:२९:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देशभर सवा लाख लागुऔषध दुर्व्यसनी : २० देखि २९ वर्ष उमेरका ७० प्रतिशत 

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ जेठ २१ शनिबार ०६:२९:००

२१% कैदीबन्दी लागुऔषध मुद्दाका

देशभरका ७४ कारागार र आठ बाल सुधारगृहमा गरी २५ हजार ३५१ कैदीबन्दीमध्ये पाँच हजार ३२४ लागुऔषध मुद्दासँग सम्बन्धित

गत ३ पुसमा कैलालीको जानकी गाउँपालिका– ९ का २५ वर्षीय अर्जुन दासको टाउको काटिएको शव अमरावती सामुदायिक वनमा भेटियो । घटनास्थल निरीक्षण गर्ने क्रममा प्रहरीले अर्जुनको टाउको घटनास्थलभन्दा दुई सय मिटर टाढा झाडीमा फेला पार्‍यो । प्रहरी अनुसन्धानमै रहेका वेला घटनामा संलग्नमध्येका अभियुक्त मनोज भण्डारीले पक्राउ गरेर देखाउन प्रहरीलाई नै चुनौती दिएको भिडियो सार्वजनिक भयो ।

त्यसपछि कैलालीमा झन् आतंक छायो । तीन महिनापछि प्रहरीले घटनामा संलग्न मनोजसहित १९ वर्षकै जानकी– ९ का सुमित साउद, बमे भनिने बमबहादुर बोहरा र रोनी परियार भनिने दिलीप दासलाई पक्राउ गर्‍यो । अनुसन्धानपछि खुल्यो– अर्जुन हत्याको खास कारण लागुऔषध रहेछ । घटनामा सुशील मयाल, बादल विक र करण दर्नाल पनि सहभागी रहेको भेटियो । 

त्यस्तै, लागुऔषध मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले जेलभित्रैबाट लागुऔषध कारोबारको ‘र्‍याकेड’ चलाएको भेटियो । उनले लागुऔषध सीमापारिबाट नेपाल भित्र्याउँथे र ‘र्‍याकेड’मार्फत काठमाडौंका बजारमा फिँजाउँथे । धन्दाका लागि उनले ‘कोड’ भाषासमेत बनाएका थिए । करिब २३ दिनको अप्रेसनपछि गत १९ पुसमा प्रहरीले सिन्धुली कारागारबाट उनलाई नियन्त्रणमा लियो । कारागारकी कार्यालय सहयोगी ३९ वर्षीया रिता सारुमगरसहित २३ वर्षीय संग्राम मोक्तान, २८ वर्षीय पञ्च स्याङ्तान, सुरजसिंह ठकुरी र दीपक महर्जनलाई पनि पक्राउ गर्‍यो । 

त्यसअघि २४ माघमा प्रहरीले म्याग्दीको मंगला गाउँपालिका– ५ का २५ वर्षीय लालबहादुर बुढाथोकीलाई बुढानीलकण्ठबाट सय ग्राम खैरो हेरोइनसहित पक्राउ गर्‍यो । प्रहरीले उनैलाई आधार मानेर ‘र्‍याकेड’को खोजी गर्‍यो । अनुसन्धान गर्दै जाँदा प्रहरीले ‘र्‍याकेड’मा संलग्न अन्य १० जनालाई पनि पक्राउ गर्‍यो । पक्राउ परेकामध्ये एक थिए– मोरङ दुलारीका ३९ वर्षीय खगेन्द्र भुजेल । खगेन्द्र सशस्त्र प्रहरीका हवल्दार हुन् । उनी झापामा कार्यरत थिए । भारतीय बजारबाट खरिद गरिएको लागुऔषध उनकै सहयोगमा तस्करले नेपाल भित्र्याएर विभिन्न बजारमा निस्फिक्री बिक्री गर्थ्यो ।

खगेन्द्र र लालबहादुरसहित ‘र्‍याकेड’का सदस्य थिए– दोलखा भीमेश्वर नगरपालिका– १३ का २५ वर्षीय कौशल बस्नेत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका– २ का ३३ वर्षीय समीर घले, झापा हल्दीबारी गाउँपालिका– १ का २४ वर्षीय अन्जान राई र झापा बुद्धशान्ति गाउँपालिका– ४ का २३ वर्षीय सञ्जय लक्सम्बा लिम्बू । यसमा झापा बिर्तामोड नगरपालिका– ५ का २९ वर्षीय कर्मा भनिने अजय तामाङ, झापा बिर्तामोड नगरपालिका– १ का २८ वर्षीय पुकार गुरुङ र ३० वर्षीय प्रवीण भण्डारी, झापा दमक नगरपालिका– ८ का २८ वर्षीय सुनील ताजपुरिया र भारत दार्जिलिङ खोरीबारीका ३१ वर्षीय श्यामल सिंह पनि संलग्न थिए ।

अर्को घटना, गत ७ पुसमा भक्तपुर नगरपालिका– ७ दिव्यश्वरी खेलमैदानबाट प्रहरीले अवैध लागुऔषध डाइजपामसहित भक्तपुर– ५ का ३३ वर्षीय कृष्णराम छुकुछू, ३३ वर्षीय विष्णुकुमार देउला र रामेछाप सुनपाती गाउँपालिका– ४ का २६ वर्षीय भूषण लामालाई पक्राउ गर्‍यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरूलाई लागुऔषध उपलब्ध गराउने धादिङ गजुरी गाउँपालिका– ६ की ५० वर्षीया नानीमैया लामा मिजार पनि पक्राउ परिन् । नानीमैयालाई भने सप्तरीको बोदेबरसाइन नगरपालिका– ८ की ३० वर्षीया रम्भादेवी दासले उपलब्ध गराएको भेटियो, उनी पनि पक्राउ परिन् । उनीहरूले लागुऔषध भारतबाट ल्याउने गरेकोसमेत खुल्यो । प्रहरीले धन्दामा संलग्न सप्तरी बोदेबरसाइना– ८ का २४ वर्षीय पप्पु यादव र ३१ वर्षीय मोहम्मद रफिक रैन रदिनलाई पनि पक्राउ गर्‍यो । 

करिब दुई महिनाको अवधिका यी घटना लागुऔषध दुर्व्यसनसँग जोडिएका केही प्रतिनिधि मात्र हुन् । चारवटै घटनामा लागुऔषध दुर्व्यसनी र कारोबारीको संगठित संलग्नता भेटिएको छ । यसले देश लागुऔषध कारोबारीको ‘र्‍याकेड’ले ग्रस्त बनाएको स्पष्ट संकेत गर्छ । सहर मात्र होइन, गाउँका युवा–युवतीसमेत ‘र्‍याकेड’मा संलग्न छन् । मुलुकको युवाशक्तिको अपराधमा संलग्नता बढ्दै छ । 

नेपाल प्रहरीको करिब पाँच वर्ष (५७ महिना)को तथ्यांक हेर्दा लागुऔषधसँग सम्बन्धित अपराधले मुलुकको कुल अपराधको करिब आठ प्रतिशत हिस्सा ओगटेको देखाउँछ । ५७ महिनायता देशभर एक लाख ९८ हजार एक सय २८ मुद्दा दर्ता भएकामा १५ हजार पाँच सय ३१ मुद्दा लागुऔषधसँग सम्बन्धित थिए । यो भनेको कुल मुद्दाको ७.६३ प्रतिशत हो । 

लागुऔषध मुद्दासँग सम्बन्धित अभियुक्त पक्राउ दरले पनि यसका दुर्व्यसनी र कारोबारी बढेको देखाउँछ । यही अवधिमा एक लाख ८४ हजार आठ सय ११ अभियुक्त पक्राउ परेकामा लागुऔषध मुद्दासँग सम्बन्धित पक्राउ अभियुक्त २३ हजार सात सय १७ थिए । यो कुल पक्राउ अभियुक्तको १२.८३ प्रतिशत हिस्सा हो ।

त्यस्तै, कारागार व्यवस्थापन विभागको फागुन मसान्तसम्मको तथ्यांक हेर्दा मुलुकभर रहेका ७४ कारागार र आठ बाल सुधारगृहमा २५ हजार तीन सय ५१ कैदीबन्दी छन् । जसमध्ये लागुऔषध मुद्दासँग सम्बन्धित कैन्दीबैन्दीको हिस्सा २१ प्रतिशत छ । अर्थात् मुलुकभरका कारागारमा हाल पाँच हजार तीन सय २४ कैदीबन्दी लागुऔषध मुद्दासँग सम्बन्धित छन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसी लागुऔषध दुर्व्यसनी र यसका कारोबारी बढ्दो क्रममा रहेकाले मुलुककै लागि चुनौती बनेको बताउँछन् । ‘दिनप्रतिदिन लागुऔषध दुर्व्यसनी बढेका छन् । यसका कारोबारी पनि बढेको देखिन्छ । यसले ठूलो युवाशक्तिलाई तहसनहस पार्दै छ, जुन मुलुककै लागि चुनौती बनेको छ । रोकथाममा प्रहरी मात्रै लगेर हुन्न, समाजका अन्य पक्षसमेत यसमा लाग्नु जरुरी छ,’ उनले भने । 

देशभर सवा लाख  लागुऔषध दुर्व्यसनी, २० देखि २९ वर्ष उमेरका ७० प्रतिशत
देशभरका ७४ कारागार र आठ बाल सुधारगृहमा गरी २५ हजार तीन सय ५१ कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागको फागुन मसान्तसम्मको तथ्यांक छ । यीमध्ये लागुऔषध मुद्दासँग सम्बन्धित कैदीबन्दी पाँच हजार तीन सय २४ अर्थात् २१ प्रतिशत छन् । 

गृह मन्त्रालयका अनुसार हाल देशभर लागुऔषध दुर्व्यसनी एक लाख ३० हजार चार सय २४ छन् । जसमध्ये महिला आठ हजार तीन सय ७२ जना छन् । कुल दुर्व्यसनीमा २० देखि २९ वर्ष उमेर समूहका मात्रै ६९.५ प्रतिशत छन् । जसमा २० देखि २४ वर्षका ३४.३ प्रतिशत, २५ देखि २९ वर्षका ३५.२ प्रतिशत छन् । त्यस्तै, १५ वर्षभन्दा कम उमेरका ०.२ प्रतिशत र १५ देखि १९ वर्षका दुर्व्यसनीको हिस्सा ७.२ प्रतिशत छ । ३० देखि ३४ वर्षका १२.६ प्रतिशत हिस्सा छ । त्यस्तै, ३५ देखि ३९ वर्षका ६.५ प्रतिशत, ४० देखि ४४ वर्षका २.७ प्रतिशत, ४५ देखि ४९ वर्ष तथा ५० देखि माथिका एक–एक प्रतिशत छन् । 

देशभरका कारागारमा रहेका दुर्व्यसनीकै आधारमा अनुसन्धान गरेर गृह मन्त्रालयले कुल दुर्व्यसनीको आँकडा तयार गरेको हो । यस्तो अनुसन्धान प्रत्येक पाँच–पाँच वर्षमा गर्ने गरेको छ । मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका उपसचिव गोकर्ण उपाध्याय लागुऔषध समस्या विकराल बन्दै गएको बताउँछन् । ‘मुलुकभरका कारागारमा गरिएको रिसर्चले कुल कैदीबन्दीको २१ प्रतिशत लागुऔषध मुद्दासँग सम्बन्धित कैदीबन्दी छन् । यो दर प्रत्येक वर्ष बढ्दो छ । यसले मुलुकको युवा जनशक्तिलाई तहसनहस पारेको देखाउँछ । यो मुलुकका लागि डरलाग्दो संकेत हो,’ उनले भने । 

सबैभन्दा धेरै दुर्व्यसनी  बागमती प्रदेशमा 
गृह मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै लागुऔषध दुर्व्यसनबाट बागमती प्रदेश ग्रस्त छ । जसमा काठमाडौं सहर बढी प्रभावित छ । काठबाडौंबाहिर रुपन्देही, कास्की, कैलाली र पर्सामा दुव्र्यसनी र कारोबार बढी भएको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार बागमती प्रदेशमा मात्रै ४६ हजार चार सय ८० दुव्र्यसनी छन्, जुन कुल संख्याको ३६ प्रतिशत हो ।

दोस्रो नम्बरमा प्रदेश १ छ, जहाँ २७ हजार ६ सय पाँच अर्थात् कुल दुर्व्यसनीको २१ प्रतिशत छ । लुम्बिनीमा २५ हजार नौ सय ३० अर्थात् २० प्रतिशत, मधेस प्रदेशमा १५ हजार आठ सय ३४ अर्थात् १२ प्रतिशत, गण्डकीमा आठ हजार नौ सय ५६ अर्थात् सात प्रतिशत, सुदूरपश्चिममा तीन हजार आठ सय आठ अर्थात् तीन प्रतिशत र कर्णालीमा एक हजार आठ सय ११ अर्थात् एक प्रतिशत दुर्व्यसनी छन् ।