१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:o४:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जघन्य अपराधको कारक बन्दै लागुऔषध

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o४:oo

प्रत्येक वर्ष ५ प्रतिशतले नयाँ दुर्व्यसनी थपिँदै, अधिकांश १५ देखि २४ वर्ष उमेर समूहका

- बल्खु सुकुम्बासी टोलका लागुऔषधका दुव्र्यसनी सन्तोष सापकोटा ‘डोज’ नपुग्दा निकै छटपटाउँथे । लागुऔषध किन्न उनले आफ्नो श्रीमती मात्र होइन, उनका आफन्तसमेत लुट्ने गर्थे । जसका लागि उनले भाडाका लुटेरासमेत प्रयोग गर्थे । ३२ वर्षीया श्रीमती सन्तोषी श्रेष्ठको हत्या गर्नुअघि पनि उनले भाडाका लुटेरा प्रयोग गरी आफ्नै जेठीसासू लुट्न लगाएका थिए । गत फागुन अन्तिम साता महानगरीय प्रहरी वृत्त बौद्धले लुटेरालाई पक्राउ गरेपछि मात्र यसको रहस्य खुलेको थियो । प्रहरीले लुटिएको रकम धनीलाई फिर्ता गरिसकेको छ । लुटपाटमा संलग्न अभियुक्त प्रहरी हिरासतमा छन् ।

- गत २९ फागुनमा टोखा नगरपालिका–१ स्थित बाँसको झाङमा शंकास्पद शव भेटियो । सनाखतपछि शव मोरङ बेलबारी नगरपालिका–२ का २२ वर्षीय आशिष लिम्बूको रहेको खुल्यो । हत्या भएको आशंकामा प्रहरीले घटनाको अनुसन्धान थाल्यो । घटनामा संलग्न रहेको आशंकामा टोखा नगरपालिका–३ सूर्य दर्शन हाइटस्थित मोहम्मद कासिम मन्सुरी, शेख अब्दुल आलम र भूपेन्द्रकुमार साह पक्राउ परे । प्रहरीले तीनैजनासँग बयान लिँदा यसको तथ्य खुलेको हो । लिम्बूको हत्या पनि नशाकै सुरमा भएको रहेछ । प्रहरीका अनुसार पक्राउ परेका तीनैजना लागुऔषधका दुव्र्यसनी हुन् । 

- गत फागुनमा दोलखाका सुरज श्रेष्ठले सोलुखुम्बुकी पूजा कार्कीलाई मट्टीतेल खन्याएर आगो लगाए । आगोले कार्कीको शरीर जल्यो । गम्भीर घाइते भएकी उनको तत्काल उद्धार भयो । कीर्तिपुरस्थित वर्निङ अस्पताल आइसियूकक्षमा उपचार गराइरहेकी कार्कीको अवस्था अझै सुधार हुन सकेको छैन । घटनाको अनुसन्धान गर्दै जाँदा कार्की र श्रेष्ठ प्रेमीप्रमिका रहेको प्रहरीले जनाएको छ । लागुऔषधको दुव्र्यसनी श्रेष्ठले नशाकै सुरमा कार्कीमाथि मट्टीतेल खन्याएर आगो लगाएका रहेछन् । 

- फागुनमै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका सुजितकुमार मुखिया, प्याप्या भनिने कृष्णकुमार मुखिया, टिल्का भनिने चन्द्रशेखर मण्डल र सुरज साह स्वर्णकार सँगै बसेर लागुऔषध सेवन गरे । चारजनाबीच चोरी गर्ने योजना बन्यो । उनीहरू सँगै चोरी गर्न हिँडे । यहीक्रममा विवाद उत्पन्न भयो । विवाद बढ्दै गएर कुटपिटमा परिणत भयो । सुजितकुमार, कृष्णकुमार र चन्द्रशेखरले सुरजलाई मरणासन्न हुने गरी कुटे । चोटका कारण सुरज बेहोस भए । नशा उत्रिँदै गएपछि तीन भाइमा होस फिर्दै गयो । पक्राउ परिने डरले उनीहरूले बेहोस सुरजलाई कोसी नदीमा फालिदिए । 

....                    ......                  ......

मुलुकका फरक–फरक ठाउँमा भएका माथिका चारघटना विश्लेषण गर्दा तीनवटामा व्यक्तिको ज्यान गएको छ । कानुनी दृष्टिबाट हेर्दा चारवटै घटना जघन्य छन् । तर, संयोग के भने चारवटै जघन्य अपराधमा कारण एउटै देखिन्छ, त्यो हो लागुऔषध दुर्व्यसन। जसमा फस्न पुगेका अधिकांश १५ देखि २४ वर्ष समूहका किशोरकिशोरी र युवायुवती छन् । नेपाल प्रहरीको तथ्यांकले पनि यही बताउँछ ।

तथ्यांकअनुसार अहिले देशभर एक लाख ३० हजार ४२४ लागुऔषधका दुर्व्यसनी छन् । जसमध्ये ४१.५ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरी र युवायुवती छन् । जसमा १५ देखि १९ वर्ष उमेर समूहको सख्या ७.२ प्रतिशत छ । बाँकी ३४.३ प्रतिशत भने २० देखि २४ वर्ष उमेर समूहका युवायुवती छन् । प्रहरीका अनुसार उनीहरूमध्ये अधिकांश कुनै न कुनै अपराधमा संलग्न रहेका छन् ।

नेपाल प्रहरीअन्तर्गतको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी ऋषिराम कँडेलले अधिकांश लागुऔषधका दुव्र्यसनी १५ देखि २४ वर्ष उमेर समूहका रहेको र उनीहरू कुनै न कुनै अपराधमा संलग्न रहेको बताए । ‘लागुऔषध दुर्व्यसनीको उमेर समूहका आधारमा अनुसन्धान भएको छ । यसले अधिकांश प्रयोगकर्ता १५ देखि २४ वर्ष उमेर समूहको व्यक्ति धेरै भएको देखाउँछ । ३० वर्ष उमेर समूहसम्म लिने हो भने त यसको दर अझ फराकिलो देखिन्छ । यी प्रयोगकर्तामध्ये अधिकांश कुनै न कनै अपराधमा संलग्न भएको देखिन्छ,’ उनले भने ।

प्रहरीका अनुसार यस्ता दुर्व्यसनी विशेष गरी चोरी, डकैत, लुटपाट, कुटपिट तथा अन्य जघन्य अपराधमा संलग्न भएका हुन्छन् । लागुऔषध सेवन गर्नकै लागि उनीहरू यस्ता अपराधमा संलग्न हुने एसपी कँडेलले बताए । ‘लागुऔषध सब्स्क्राइब गर्नुपर्ने हुन्छ । यो सहजै उपलब्ध नहुन सक्छ । विशेष गरी पैसाका कारण । पैसा जम्मा गर्न यिनीहरूले चोरी, डकैत, लुटपाट, कुटपिटजस्ता अपराध गर्छ । त्यसबाहेक घरायसी कलह र त्यसबाट निम्तिने अपराध पनि यसैका कारण हुन्,’ उनले भने ।

प्रहरीका अनुसार लागुऔषध दुर्व्यसनी बढ्नुको खास कारण लागुऔषधको सहज पहुँच पहिलो हो । त्यसबाहेक सहरीकरण, एकल पारिवारिक संरचना, पैसाको सहज उपलब्धता, एक्लोपन, पारिवारिक बेमेल, खुला सीमानाका मुख्य कारण हुन् ।

प्रत्येक वर्ष ६ हजार ६ सय नयाँ दुर्व्यसनी थपिन्छन्
गृह मन्त्रालयको तथ्यांकअनुसार देशमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषधका नयाँ दुर्व्यसनी थपिन्छन् । अर्थात् प्रत्येक वर्ष ६ हजार पाँच सय ९९ सयको दरले नयाँ दुर्व्यसनी थपिने गर्छन् । यो दर विगतको भन्दा केही कम हो । मन्त्रालयले नै ०६९ मा गरेको सर्वेक्षणअनुसार त्यसवेला प्रत्येक वर्ष ११.३६ प्रतिशतले नयाँ दुर्व्यसनी थपिन्थे । त्यसवेला प्रत्येक वर्ष १० हजार तीन सय ९८ नयाँ दुर्व्यसनी थप हुने गर्थे । सोही तथ्यांकलाई आधार मान्दा पछिल्ला वर्ष यो दरमा केही सुधार आएको देखिन्छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार प्रत्येक वर्ष लागुऔषधका दुर्व्यसनी बढ्ने गरेका छन् । ‘लागुऔषधका दुर्व्यसनी प्रत्येक वर्ष बढिरहेका छन् । गृहका तथ्यांकले पनि यही बताउँछ । हाम्रो अनुभवबाट पनि त्यही देखिन्छ । लागुऔषधको उपलब्धता बढेका कारण यस्तो भएको हुन सक्छ,’ एसपी कँडेलले भने ।

सबैभन्दा धेरै बागमती प्रदेशमा
गृह मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै लागुऔषधका दुर्व्यसनी बागमती प्रदेशमा छन् । बागमतीमा मात्रै ४६ हजार चार सय ८० (३६ प्रतिशत) दुव्र्यसनी छन् । त्यसपछि प्रदेश नम्बर १ मा छन् । यो प्रदेशमा दुर्व्यसनीको संख्या २७ हजार ६ सय पाँच (२१ प्रतिशत) छ । लुम्बिनी प्रदेशमा २५ हजार नौ सय ३० (२० प्रतिशत), प्रदेश २ मा १५ हजार आठ सय ३४ (१२ प्रतिशत), गण्डकीमा आठ हजार नौ सय ५६ (७ प्रतिशत), सुदूरपश्चिममा तीन हजार आठ सय आठ (३ प्रतिशत) र कर्णाली प्रदेशमा एक हजार आठ सय ११ (१ प्रतिशत) दुव्र्यसनी छन् । 

मुलुकभर आठ हजार महिला दुर्व्यसनी
प्रहरीका अनुसार लागुऔषध दुर्व्यसनी बढ्नुको खास कारण लागुऔषधको सहज पहुँच पहिलो हो । त्यसबाहेक सहरीकरण, एकल परिवारिक संरचना, पैसाको सहज उपलब्धता, एक्लोपन, पारिवारिक बेमेल, खुला सीमानाका मुख्य कारण हुन् । ‘लागुऔषधका दुर्व्यसनी बढेका छन् । यसका केही खास कारण छन् । त्यसमध्ये पहिलो सहज उपलब्धता हो । त्यसबाहेक सहरीकरण, एकल पारिवारिक संरचना, पैसाको सहज उपलब्धता, एक्लोपन, पारिवारिक बेमेल मुख्य कारण रहेको अनुसन्धानबाट देखिन्छ,’ एसपी कँडेलले भने ।

गृह मन्त्रालयको तथ्यांकअनुसार महिला दुर्व्यसनीको संख्या पनि प्रत्येक वर्ष बढ्दै गएको छ । मन्त्रालयले ०७६ मा गरेको सर्भेअनुसार मुलुकभर हाल आठ हजार सात सय ३२ महिला दुर्व्यसनी छन् । यो संख्या प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको छ । पाँच वर्षअघि अर्थात् ०६९ मा गरिएको सर्भेअनुसार महिला दुव्र्यसनी ६ हजार तीन सय ३० थिए । त्यस आधारमा पाँच वर्षपछि गरिएको सर्वेक्षणले महिला दुर्व्यसनीको संख्या बढेको देखिन्छ ।

लागुऔषध प्रयोगकर्तामध्ये अधिकांश कुनै न कुनै अपराधमा संलग्न : एसपी ऋषिराम कँडेल प्रवक्ता, लागुऔषध नियन्त्रण ब्युरो

लागुऔषध दुर्व्यसनीको उमेर समूहका आधारमा अनुसन्धान भएको छ ।

यसले अधिकांश प्रयोगकर्ता १५ देखि २४ वर्ष उमेर समूहको व्यक्ति धेरै भएको देखाउँछ ।

३० वर्ष उमेर समूहसम्म लिने हो भने त यसको दर अझ फराकिलो देखिन्छ ।

यी प्रयोगकर्तामध्ये अधिकांश कुनै न कुनै अपराधमा संलग्न भएको देखिन्छ ।

ad
ad