१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुपदार्थ दुर्व्यसनी बढ्दै, जुम्लामा तीन वर्षमा ५६ जनालाई कारबाही

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:१३:oo

जुम्लामा पछिल्लो समय लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएको पाइएको छ। आर्थिक वर्ष ०७९/८० मा मात्र जिल्ला प्रहरी कार्यालयले २७ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार चालू आर्थिक वर्षमा १२ वटा मुद्दामा २७ जनाविरुद्ध लागुऔषध दुर्व्यसनको मुद्दा चलाइएको हो। यसअघि आर्थिक वर्ष ०७७/७८ मा ५ वटा मुद्दामा १६ जना र आर्थिक वर्ष ०७८/७९ मा ७ वटा मुद्दामा १३ जनाविरुद्ध मुद्दा चलाइएको थियो।

तथ्यांकअनुसार कर्णाली प्रदेशमा सुर्खेत पहिलो र जुम्ला दोस्रो धेरै लागुऔषध प्रयोग गर्ने जिल्लाको रूपमा देखिएका छन्। प्रहरी निरीक्षक धर्मराज जोशीले गृह मन्त्रालयको तथ्यांकअनुसार नेपालमा एक लाख ३६ हजार ४२५ नागरिक लागुऔषध प्रयोगकर्ता रहेको बताए। उनले भने, ‘नेपालमा ३३ हजार ५३ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबार गर्ने व्यक्तिविरुद्ध मुद्दा अगाडि बढाइएको छ।’

लागुऔषध नियन्त्रण गर्न अभियान सुरु
सरोकारवाला निकायले लागुऔषध नियन्त्रण विशेष अभियान सुरु गरेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले कर्णाली प्रदेश प्रहरीको सुरक्षित कर्णाली अभियानअन्तर्गत सो अभियान सुरु गरेको हो।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले लागुऔषध तथा दुर्व्यसनीले समाजमा अहिले भुसको आगो सल्केसरह भएको र भित्रभित्रै समाज नै भत्किने भएकाले अभियान दिगो र निरन्तर रूपमा लाग्नुपर्ने बताए। उनले भने, ‘सामाजिक जागरण अभियानमा समन्वय सहकार्यको आवश्यकता छ।’

लागुऔषधि नियन्त्रण गर्न प्रहरी तदारुकताका साथ लागिपरेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताए। उनले भने, ‘यसमा नागरिक तथा अभिभावकको सहयोगको आवश्यकता रहेको छ। सूचनाको आवश्यकता छ। अभिभावकले पनि आफ्ना बालबच्चाको निगरानी बढाउनुपर्ने देखिन्छ।’
 
यता चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत धन, पैसा, घर, मात्रै महत्वपूर्ण नभई सामाजिक विषय महत्वपूर्ण रहेको बताउँछन्। ‘लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना कार्यक्रम गर्न नगरपालिकाले नीति कार्यक्रम ल्याएको छ। यसका लागि १० लाख बजेट पनि विनियोजन गरेको छ। यसलाई कार्यान्वयनमा लैजानेछौँ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले लागुऔषधले परिवार र समाजमा नै असर पुर्‍याउने भएकाले सचेतनाको खाँचो रहेको औँल्याए। उनले भने, ‘कानुनबमोजिम कारबाही भएकै छ। तर, पनि यो प्रयोग तथा कारोबारो घटेको छैन।’
अभियानमा लागुऔषध दुर्व्यसनविरुद्ध ऐक्यबद्धता जनाउँदै सामूहिक हस्ताक्षर अभियान थालिएको छ। लागुऔषध नियन्त्रणसम्बन्धी विशेष अभियान २०८० को अवसरमा ‘लागुऔषध दुर्व्यसन ओसारपसार कारोबारमा लाग्नेछैन, लागुऔषध ओसारपसार कारोबार गर्ने गराउनेलाई कानुनबमोजिम कारबाही गर्न आफ्नो दायित्व भरपुर पूरा गर्नेछु’ भनेर हस्ताक्षर गरिएको हो।

ad
ad