१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार ०६:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा युएई पुर्‍याएर अलपत्र पार्ने मुख्य अभियुक्तहरू पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १७ मंगलबार ०६:१९:००

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई युएई पुर्‍याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी कुवेर कडायतले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगको भेटमा भिजिट भिसामा युएई पुर्‍याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरिएको जानकारी दिएका हुन् । 

कडायतका अनुसार मुख्य अभियुक्त त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायलाई युएई प्रहरीले दुबईमा पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । उपाध्यायकी श्रीमती रञ्जना ढकाललाई पनि आइतबार सर्लाहीबाट पक्राउ गरिएको छ । ताल्चा लगाएको घरभित्र लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको कडायतले बताए । साथै रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा युएई पुर्‍याउने कार्यमा संलग्न मधुविलास सापकोटा, खुमबहादुर खड्का र सन्तोष प्याकुरेल पनि पक्राउ परेका छन् । उनीहरूले भिजिट भिसाको नाममा करिब दुई करोड ५० लाख ठगी गरेको भन्दै ७६ जना पीडितले उजुरी दिएका थिए । 

एसएसपी कडायतले ठगीमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरूबारे जानकारी गराई सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्युरोले अपिल गरेको बताए । आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा युएईसहित विभिन्न मुलुक पुर्‍याएर अलपत्र पार्ने काममा संलग्न म्यानपावर कम्पनी, कन्सल्ट्यान्सीहरू, ट्राभल्स सञ्चालकहरू, दलाल तथा बिचौलियालाई कारबाहीको दायरामा ल्याउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।