मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जिल्ला ब्युरो काठमाडाैं
२०७९ जेठ ८ आइतबार ०९:३८:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय निर्वाचनका रोचक भिडन्त

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
२०७९ जेठ ८ आइतबार ०९:३८:००
  • एकाघरका दाजुभाइ, काका–भतिज मात्र होइन श्रीमान्–श्रीमती एउटै पदमा फरक–फरक पार्टीबाट भिडे
  • पहिले जोसँग पराजित भएका थिए उसैलाई हराएर पनि जनप्रतिनिधि चुनिए

नरसिंह व्यञ्जनकारको ११औँ पटक अध्यक्ष बन्ने प्रयासमा भतिज बाधक

ललितपुर महानगरपालिका–१० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकारको ११औँ पटक अध्यक्ष बन्ने प्रयासमा उनकै भतिज बाधक बनेका छन् । १० पटक वडाध्यक्ष निर्वाचित भइसकेका उनी आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग पराजित भएका हुन् । कांग्रेसबाट उम्मेदवारी दिएका रविनमान व्यञ्जनकारले ८२५ र नरसिंहले ५४३ मात्रै ल्याए । आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलोपटक चुनावी हार व्यहोरेका हुन् । 

यस्तै, रौतहटको कटहरिया नगरपालिका–३ मा श्यामाकान्त यादवले काका उमेश यादवलाई वडाध्यक्षमा पराजित गरेका छन् । उमेश कांग्रेस र श्यामाकान्त एमालेबाट उम्मेदवार बनेका थिए । श्यामाकान्तले सात सय २७ र उमेशले पाँच सय ८७ मत प्राप्त गरेका थिए । ०७४ को निर्वाचनमा उमेश कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए । 

दुई दाजुभाइ गाउँपालिका अध्यक्ष,एक वडाध्यक्ष, भाइ उपाध्यक्षमा हारे 
ओखलढुंगाको मोलीका एकै परिवारका दुई दाजुभाइ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । दाजु जितेन्द्र रुम्दालीले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाबाट चुनाव जितेका हुन् । जितेन्द्र र ज्ञानेन्द्र सहोदर दाजुभाइ हुन् । यस्तै, राजकुमार रुम्दाली मानेभञ्ज्याङ गाउँपालिका–१ को वडाध्यक्षमा विजयी भएका छन् । भाइ दीपेन्द्र रुम्दालीले मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा हार बेहोर्नुपरेको छ । 

भाइबाट दाजु पराजित
स्थानीय निर्वाचनअन्तर्गत बाँकेमा एकाघरका दाजुभाइबीच प्रतिस्पर्धा भएको छ । निर्वाचनमा भाइले दाजुलाई, दाजुले भाइ तथा भिनाजुलाई पराजित गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१ मा प्रमोद रिजालले दाजु विनोद रिजाललाई पराजित गरेका हुन् । प्रमोद एमाले र विनोद कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार थिए । उनी सात सय ८१ मत ल्याएर विजयी हुँदा तेस्रो स्थानमा रहेका उनका दाजु विनोदले पाँच सय ८१ मत पाएका छन् । प्रमोदले ०७४ को निर्वाचनमा पनि सोही वडाबाट अध्यक्षमा जितेका थिए । 

कोहलपुर नगरपालिका–३ मा माधव रिजालले दाजु केशव रिजाललाई पराजित गरेका छन् । माधवले एक हजार ३०७ मत ल्याई विजयी हुँदा उनका दाजु केशवले आठ सय ९७ मत पाएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । गत स्थानीय निर्वाचनमा पनि माधवले केशवलाई पराजित गरेका थिए । फरक पार्टी र विचार राख्ने पार्टीमा आबद्ध भएकाले दाजु–भाइबीच निर्वाचनमा प्रतिस्पर्धा हुनुलाई सामान्य रूपमा लिएको माधवले बताए । ‘फरक पार्टीमा लागेपछि दाजु–भाइबीच प्रतिस्पर्धा हुनु नौलो कुरा होइन । प्रतिस्पर्धा हुन्छ भन्ने पहिले नै थाहा भएकाले यसलाई हामीले नौलो मानेका छैनौँ,’ उनले भने । 

केशवले पनि चुनावमा हुने प्रतिस्पर्धालाई सामान्य रूपमा लिएको बताए । उनले विगतको निर्वाचनदेखि भाइसँग प्रतिस्पर्धा गर्दै आएको बताए । उनले दाजु–भाइबीच हुने चुनावी प्रतिस्पर्धाले पारिवारिक सम्बन्धमा कुनै असर नगरेको बताए । 

राप्तीसोनारी गाउँपालिका–५ मा भाइ र भिनाजुलाई पराजित गरी झगरु थारू वडाध्यक्षमा निर्वाचित भएका छन् । झगरु माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार थिए । भाइ भोला थारू कांग्रेसबाट र भिनाजु बालकराम थारू एमालेबाट अध्यक्षका उम्मेदवार थिए । 

श्रीमान्–श्रीमती वडासदस्यमा निर्वाचित 
स्थानीय निर्वाचनमा कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एक दम्पती निर्वाचित भएका छन् । दोधाराचाँदनी नगरपालिका–७ मा सन्दीप उपाध्याय र कमला उपाध्याय (श्रीमान्–श्रीमती) फरक–फरक पार्टीबाट वडासदस्यमा निर्वाचित भएका हुन् । सन्दीप एमाले र कमला कांग्रेसबाट चुनावी मैदानमा उत्रेका थिए । फरक–फरक पार्टीबाट चुनावमा लड्दा पनि दुवैले जितेका छन् । सन्दीपले ७५५ र कमलाले ७९२ मत ल्याएका छन् ।

प्रधानाध्यापकबाट राजीनामा दिएर अध्यक्ष
चितवनको इच्छाकामना गाउँपालिका अध्यक्षमा निर्वाचित दानबहादुर गुरुङ पेन्सन हुन चार वर्ष बाँकी रहँदा शिक्षण पेसाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका हुन् । एमालेबाट उम्मेदवार बनेका गुरुङ राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका प्रधानाध्यापक थिए । ०७४ को निर्वाचनबाट गाउँपालिका अध्यक्ष बनेर पुनः उम्मेदवार बनेकी गीताकुमारी गुरुङलाई पराजित गर्दै उनी अध्यक्ष बनेका हुन् । दानबहादुरले ६ हजार ११० र गीताकुमारीले चार हजार ६०८ मत पाएका छन् ।

जसले दुई वर्षपछि आउने पेन्सन गुमाए
चितवनको माडी नगरपालिका प्रमुखमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका ऋषि काफ्ले झन्डै ३२ वर्षको शिक्षण पेसा छाडेर चुनावी मैदानमा होमिएका थिए । उनी दिवाकर स्मृति विद्यालयको प्रधानाध्यापकबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका थिए । एमालेकी ताराकुमारी काजी महतो नौ हजार ९०१ मतका साथ मेयरमा निर्वाचित हँुदा काफ्लेले सात हजार ७२९ मत प्राप्त गरे । काफ्लेको पेन्सन हुन दुई वर्ष मात्र बाँकी थियो । 

पुनः मतगणना भएपछि तीन मतको अग्रता 
राप्ती नगरपालिका–१३ का वडाध्यक्षका उम्मेदवारको मत बराबरी आयो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सूर्यबहादुर प्रजा र एमालेका अशोककुमार प्रजाको समान ५०१ मत आएपछि दुवै उम्मेदवारले पुनः मतगणना गर्न निवेदन दिए । त्यस आधारमा मतगणना गरेपछि कांग्रेस उम्मेदवार विजयी भएका हुन् ।

०७४ मा जोसँग हारे ०७९ मा उनैलाई हराए 
०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले जोसँग हारे ०७९ को निर्वाचनमा उनैलाई हराएका छन् । धादिङको गजुरी गाउँपालिका अध्यक्षमा अघिल्लो निर्वाचनमा पराजित भएका श्रेष्ठले यसपटक एमालेका राजेन्द्रविक्रम बस्नेतलाई अध्यक्षमा पराजित गरेका हु्न् । ०७४ को निर्वाचनमा तीन सय ३० मतले बस्नेतसँग हारेका श्रेष्ठले यसपटक दुई हजार दुई सय ५७ मतले बस्नेतलाई पराजित गरे ।

जसले नगर प्रमुखमा दोब्बरभन्दा बढी मतान्तरले जिते
काभ्रेको नमोबुद्ध नगरपालिका प्रमुखमा कांग्रेस उम्मेदवार कुन्साङ लामाले आफ्नो प्रत्यासीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका छन् । लामा ११ हजार दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्यासी एमालेका राजन भुर्तेलले पाँच हजार आठ सय २२ मत प्राप्त गरे । लामा र भुर्तेलको मतान्तर पाँच हजार तीन सय ८९ छ । 

यस्तै, उदयपुरको बेलका नगरपालिकामा ०७४ मा कांग्रेसका अशोक कार्की एमालेका दुर्गाकुमार थापासँग प्रमुखमा पराजित भएका थिए । यसपटक उनै कार्कीले एमाले उम्मेदवार थापालाई एक सय ४० मतान्तरमा थापालाई पराजित गरेका छन् । 

दोहोरिएका चार उम्मेदवार पराजित
उदयपुरमा दोहोरिने प्रयासमा रहेका चार उम्मेदवार पराजित भएका छन् । बेलका नगरपालिकामा दुर्गाकुमार थापा, चौदण्डीगढी नगरपालिकाका निवर्तमान नगर प्रमुख खगेन्द्र राई, निवर्तमान उपप्रमुख रिताकुमारी चौधरी र रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी ठकुरीको दोहोरिने प्रयास असफल भएको छ । ०७४ मा कांग्रेसबाट चौदण्डीगढीमा नगर प्रमुख र उपप्रमुख जितेका दुवैको ठाउँमा यसपटक एमालेबाट नगर प्रमुखमा कालुमान लामा र उपप्रमुख मणिकादेवी दुलालले चुनाव जितेका छन् । 

एक मतले बनायो कृष्णकुमारीलाई गाउँपालिका उपाध्यक्ष
ताप्लेजुङको सिद्धिङ्वा गाउँपालिका उपाध्यक्षमा एक मतले जितहार भएको छ । माओवादी केन्द्रकी कृष्णकुमारी कडरियाले एक मतले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई पराजित गरेकी हुन् । कडरियाले २३ सय ७६ र ताम्लिङले २३ सय ७५ मत प्राप्त गरे ।

आफ्नै मत हराएपछि उम्मेदवार तनावमा 
आफैँले हालेको मत नभेटिएपछि गोरखामा एक उम्मेदवारलाई तनाव भएको छ । भीमसेन थापा गाउँपालिका–८ का वडाध्यक्षका उम्मेदवार नवराज ढकालले आफूले हालेको मत हराएको दाबी गरेका हुन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत शून्य देखाइएको छ,’ उनले भने, ‘मेरो मत खोज्न अब अदालत जानेछु ।’ 

आफैँलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालमा आफूमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग जानकारी लिन खोज्दा मत नै नआएको जवाफ आएको उनले बताए । ‘मैले आफूलाई मत जाहेर गरेको छु, बदर पनि भएको छैन, कसरी मेरो मत हरायो ?’ ढकालले भने, ‘निर्वाचन कार्यालयले मेरो मतको बेवास्ता गरेर गणना गरेन ।’ उनले पुनः मतगणना गर्नुपर्ने, नत्र आफू अदालत जाने बताएका छन् । ‘मतगणना कसरी हुने रहेछ, मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापारवाही गर्दारहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ,’ उनले भने ।

निर्वाचन अधिकृतको कार्यालयले भने कुनै त्रुटि नभएको दाबी गरेको छ । गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको, सबै विवरण प्रस्ट रहेकाले कुनै त्रुटि नभएको भीमसेन थापा गाउँपालिकाका निर्वाचन अधिकृत खिमानन्द गौतमले बताए । 

एउटै उम्मेदवारसँग दोस्रोपटक हारे सोनाम
मुगुको मुगम कार्मारोङ गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार बनेका सोनामछिरिङ लामा दोस्रोपटक पनि पराजित भएका छन् । उनी कांग्रेसका छिरिङक्याप्ने लामासँग ९० मतान्तरले पराजित भएका हुन् । सोनामले एक हजार ४८१ र छिरिङले एक हजार ५७१ मत प्राप्त गरे । सोनाम ०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसका छिरिङक्याप्नेसँगै ४३ मतले पराजित भएका थिए । मुगम कार्मारोङमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । 

जोसँग हारे उसैलाई जिते
झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्रप्रसादसिंह राजवंशी विजयी भए । उनले राप्रपाका अन्जारा आलमलाई हराए । राजवंशीले ११ हजार ४५७ मत प्राप्त गर्दा आलमले ६ हजार ६६७ मत पाए । आलमसँग कालेन्द्र ०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा पनि पराजित भएका थिए । यसपटक उनै अन्जारालाई जित्दै उनी अध्यक्ष बने । 

जो लगातार मेयरमा पराजित भए
पर्सामा नाम चलेका दुई नेता लगातार मेयरमा पराजित भएका छन् । करिब ३० वर्षदेखि मधेसकेन्द्रित दलबाट राजनीति गरिरहेका शिव पटेल र निजामुद्दिन समानीलाई जनताले दुईपटक नै पत्याएनन् । 

शिव पटेल गत चैतमा एमाले प्रवेश गरेर बहुदरमाई नगरपालिकाको मेयरको टिकट पाए । तर, जसपाका सिंगासन साह तेलीले पटेललाई पराजित गरे । तेलीले ६ हजार चार सय र पटेलले पाँच हजार ६५८ मत ल्याए । पटेल ०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट बहुदरमाई नगरपालिकाको मेयरमा उम्मेदवार भएका थिए ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका निजामुद्दिन समानी पनि दुईपटकसम्म चुनावमा पराजित भएका छन् । दोस्रोपटक पोखरिया नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका समानीले दुई हजार ६ सय १५ मत ल्याए । पोखरिया नगरपालिका प्रमुखमा प्रद्युम्नप्रसाद चौहान निर्वाचित भएका छन् ।