
जस्ट फ्युचर्स पहल (जेएफपी)ले सात दलित महिलालाई जस्ट फ्युचर्स फेलोसिप (बहिन–वृत्ति) प्रदान गरेको छ । फेलोसिप प्राप्त गर्नेमा बागमती प्रदेशका सरिना द्यौला, मञ्जिता परियार, प्रमिला विक, कञ्चन कटुवाल, राधिका रोका, मनिका विश्वकर्मा र संगीता मिजार छन् ।
फेसोसिप ०२५ अगस्टदेखि १२ महिनासम्म सञ्चालन हुनेछ । फेलोसिपका लागि बागमती प्रदेशबाट २०१ जनाको निवेदन परेको थियो । जसमध्ये १६ जना सर्टलिस्टमा परेका थिए । फेलो छनोटमा जेएफपीकी मधु महरा, पूर्वसांसद तथा दामल फेलो फ्याकल्टी अञ्जना विशंखे र त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री डा. मुक्तसिंह लामा जुरी थिए ।
दलित महिलाका अनुभव, अनुभूति, आकांक्षा र ज्ञानलाई केन्द्रमा राखेर फेलोको नामकरण गरिएको हो । मधेश प्रदेशको जस्ट फ्युचर्स फेलोसिप र राष्ट्रियस्तरको जेएफपी फ्याकल्टीबाट छानिएका फेलोले सञ्चालन गरेको दामल फेलोसिपको प्रयोगका आधारमा नयाँ फेलोसिप थालनी गरिएको हो ।
जेएफपी दलित महिलाका मुद्दा र सामूहिक नेतृत्वलाई केन्द्रमा राखेर ज्ञान उत्पादन र नयाँ भाष्य निर्माण गर्ने लक्ष्यसहित स्थापना भएको संस्था हो, जसको जग समुदायस्तरमा सञ्चालित ‘जस्ट फ्युचर्स फेलोसिप’ हो ।
जेएफपी कोर टिम समता फाउन्डेसनमार्फत सञ्चालित ‘जस्ट फ्युचर्स इनिसियटिभ’मा सुरुदेखि नै आबद्ध थियो । जसले फाउन्डेसनको अवधारणा बनाउने मात्र नभई कार्यक्रम र योजना लागू गर्ने तहसम्मको काममा अगुवाइ गर्दै आएको थियो ।