
राजसंस्था र वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र पुनस्र्थापनालगायत माग गर्दै सुरु भएको राप्रपासहितको काठमाडौंकेन्द्रित आन्दोलन सुस्ताएको छ । गणतन्त्र दिवसको सन्दर्भ पारेर गरेको अनिश्चितकालीन आन्दोलन घोषणा वर्षा लागेसँगै सुस्ताएको हो ।
मौसम प्रतिकूलता र खेतीपातीको समय भएकाले आन्दोलन स्थगित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । वर्षायामपछि पुन: आन्दोलन सुरु हुने उनको भनाइ छ । ‘मौसम प्रतिकूलता र खेतीपातीको समयका कारण काठमाडौंकेन्द्रित सडक आन्दोलन स्थगित भएको हो । वर्षापछि फेरि आन्दोलन सुरु हुन्छ । सडक आन्दोलन स्थगित भए पनि पार्टीको एजेन्डामा जनमत बनाउने काम भइरहेको छ,’ उनले भने ।
मोहन श्रेष्ठ, प्रवक्ता, राप्रपा
मौसम प्रतिकूलता र खेतीपातीको समयका कारण काठमाडौंकेन्द्रित सडक आन्दोलन स्थगित भएको हो । वर्षापछि फेरि आन्दोलन सुरु हुन्छ । सडक आन्दोलन स्थगित भए पनि पार्टीको एजेन्डामा जनमत बनाउने काम भइरहेको छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला कमजोरीबाट पाठ सिकेर नयाँ ढंगको निर्णायक आन्दोलनको तयारीमा रहेको बताउँछन् । ‘वर्षाका कारण अहिले आन्दोलन रोकिएको छ । यसबिचमा आन्तरिक तयारी भइराखेको छ । आन्दोलनका क्रममा भएका कमीकमजोरीको पनि समीक्षा भइरहेको छ । आन्तरिक बैठक, प्रशिक्षणमै व्यस्त छौँ । वर्षापछि निर्णायक आन्दोलनको तयारी छ,’ उनले भने ।
नवराज सुवेदीको नेतृत्वमा राजावादी–हिन्दुवादी दल र समूह एक ठाउँमा उभिएर संयुक्त अनिश्चितकालीन आन्दोलन घोषणा गरेका थिए । संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले दोस्रो चरणको आन्दोलन अघि बढाएको बताएका थिए । तर, राजावादीहरूबिचमै मनमुटाव र आन्दोलनमा सहभागिता कम हुँदै गएपछि आन्दोलन कमजोर बन्न पुगेको छ ।
एजेन्डामा एकमत देखिए पनि आन्दोलनको जस कसले लिने भन्ने होडबाजीले समेत आन्दोलन कमजोर भएको राजावादीहरू बताउँछन् । जेठको तेस्रो साता आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न डाकिएको भेलामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नै अनुपस्थित भएपछि भाँडभैलो मच्चिएको थियो । भेलामा सुवेदीले दोस्रो चरणको आन्दोलन अघि बढाउने बताएका थिए ।
गत १५ चैतमा आन्दोलन हिंसात्मक भएपछि राजावादी दल र समूह रक्षात्मक बनेका थिए । हिंसा भड्काएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले मुद्दा खेपिरहेका छन् । त्यसको एक महिनापछि गत १५ वैशाखमा राजावादी दल र समूह एउटै मञ्चमा देखिएर आन्दोलन उठाउने प्रयत्न गरेका थिए । त्यही क्रममा राजावादी, हिन्दुवादी दल र समूहले १५ जेठबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेका थिए । जुन आन्दोलन पाँच दिनसम्म चलेको थियो ।
शान्तिवाटिका, माइतीघर मण्डला, नक्सालस्थित नारायणचौरमा प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपकबहादुर सिंहलगायत पक्राउ परेका थिए । त्यसको विरोधमा उपत्यका बन्द घोषणा गरिए पनि तत्कालै फिर्ता लिइएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल चौर, कोटेश्वर र बल्खुको निश्चित स्थानमा मात्रै सभा, जुलुस गर्न पाइने गरी अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि राजावादी आन्दोलन दबाबमा परेको थियो । त्यसपछि १९ जेठमा दरबार हत्याकाण्डको सम्झनामा आन्दोलन स्थगित गरेर २० जेठमा सिफल चौरमा राजावादीले आन्दोलन गरेका थिए । त्यसपछि राजावादी आन्दोलन सुस्ताएको छ ।
राप्रपाले राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीले सम्हालेको अनुशासन आयोगको अध्यक्षको जिम्मेवारी नेतृ रोशन कार्कीलाई दिएको छ । सुवेदी राप्रपा परित्याग गर्दै राजसंस्था पुनस्र्थापनका लागि संयुक्त जनआन्दोलनको नेतृत्व गर्न गएपछि रिक्त भएको पदमा कार्कीलाई मनोनयन गरिएको हो ।
राप्रपाका नेता सगुन लावती प्रवक्ताबाट बर्खास्त भएका छन् । लावतीमाथि निरन्तर पार्टी हितविपरीतका क्रियाकलाप गरेको, नीति र नेतृत्वबारे भ्रम फैलाएको, नेता–नेताबिच फाटो ल्याउने काममा संलग्न भएकोलगायत आरोप लागेको राप्रपाका एक पदाधिकारीले जानकारी दिए ।