सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा जनता समाजवादी पार्टी विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाका अनुसार बुधबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार मेयर पदमा एमालेका भोलाप्रसाद पोखरेल जसपाका केशवप्रसाद साहलाई ६ सय १६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । पोखरेलले तीन हजार आठ सय ३९ र साहले तीन हजार दुई सय २३ मत प्राप्त गरेका छन् ।
जसपाकी लक्ष्मीकुमारी श्रेष्ठ एमालेकी निर्मलाकुमारी देवी पासवानलाई तीन सय ९२ मतान्तरले उपमेयर पदमा निर्वाचित भएकी छिन् । श्रेष्ठले तीन हजार चार सय ८७ र पासवानले तीन हजार ९५ मत प्राप्त गरेकी छिन् । निवर्तमान मेयरसमेत रहेका नेकपा माओवादी केन्द्रबाट मेयरका प्रत्याशी गंगा पासवान दुई हजार चार सय ८२ र उपमेयरकी प्रत्याशी ज्ञानकुमारी श्रेष्ठ दुई हजार चार सय ७६ मतसहित तेस्रो स्थाममा झरेका छन् ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट पासवान चार हजार तीन सय नौ र श्रेष्ठ चार हजार तीन सय १३ मतसहित मेयर उपमेयर पदमा निर्वाचित भएका थिए । यसपटकको निर्वाचनमा पार्टीभित्रको अन्तर्कलहले माओवादीबाट नै मेयर–उपमेयरसहित वडाध्यक्षमा पनि बागी उम्मेदवार खडा भएपछि माओवादीले कर्जन्हा नगरपालिका गुमाएको छ । अन्तर्कलहकै कारण अघिल्लोपटक नौ वडा जितेको माओवादी एक वडामा सीमित हुन आइपुगेको छ । अहिले एमालेले १, २, ३ र १० नं. वडा, जसपाले ६, ८, ९ र ११ नं. वडा, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४ र ५ नं. वडा तथा स्वतन्त्रले ७ नं. वडाको वडाध्यक्ष जितेको छ ।