कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीलाई चार हजारभन्दा बढी मतान्तरले हराउँदै राजसमझ अध्यक्षमा विजयी भएका हुन् । राजसमझ १० हजार चार सय ९२ मतसहित विजयी हुँदा निवर्तमान अध्यक्षसमेत रहेका लाजुरामले ६ हजार चार सय ३० मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा राजसमझ लाजुरामसँग पराजित भएका थिए ।
उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरी १० हजार चार सय ८४ मत ल्याएर विजयी भइन् । उपाध्यक्षका निकटतम् प्रतिस्पर्धी माओवादीकी लक्ष्मी सत्गौवाले ६ हजार चार सय ७७ मत पाइन् । लक्ष्मी निवर्तमान उपाध्यक्ष हुन् ।
सत्तारूढ गठबन्धनबीच कैलालीका १३ वटै पालिकामा तालमेल गर्ने सहमति जिल्लामा भएको थियो । जसअनुसार कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसले लिने सहमति थियो, तर सहमतिविपरीत कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएको थियो ।
जिल्लास्तरबाट गठबन्धनले आधिकारिक उम्मेदवार लाजुराम भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । कांग्रेसका स्थानीय नेता, कार्यकर्ता भने राजसमझको पक्षमा चुनावी प्रचारमा लागेका थिए । कैलारीका नौवटा वडा कांग्रेसले प्यानलसहित जितेको छ ।